काठमाडौँ– टोकियो ओलम्पिकमा शनिबार बिहान भएको महिला म्याराथन दौडमा केन्याका पेरेस जासे पेचौरले सफलता पाइन् ।
दोस्रो स्थानमा केन्याकै ब्रीड कोसेगाई रहिन् भने अमेरिकी मोली साइडेलले तेस्रो स्थानमा । एथ्लेटिक्समा साँझको सत्रमा महिला हाई जम्प, महिला १० हजार मिटर दौड, पुरुष ज्याभलिन थ्रो, पुरुष १५ सय मिटर दौड तथा महिला र पुरुषका ४ गुणा ४ सय मिटर दौड हुनेछन् ।
बेसबलमा अमेरिका र जापानका बीच फाइनल खेल हुनेछ । बास्केटबल अमेरिका र फ्रान्सका बीचमा बिहानको सत्रमै हुन्छ । प्रतियोगिताको पहिलो खलमै फ्रान्ससँग हारेको अमेरिका बिस्तारै लयमा फर्कंदै फाइनलमा प्रवेश गरेको हो ।
पुरुष बिच भलिबलमा रुसी ओलम्पिक कमिटी र नर्वेको जोडी फाइनलमा भिड्ने छन् । बक्सिङको महिला वेल्टरवेटमा टर्कीकी सुरमानेली बुसेनाज र चीनकी गु होङको बिचमा प्रतिस्पर्धा हुनेछ
महिला क्यानोइ डबल ५ सय मिटर, पुरुष क्यानोइ एकल हजार मिटर, महिला कायाक फोर ५ सय मिटर र पुरुष कायाक फोर ५ सय मिटरको खेल हुनेछ ।
साइक्लिङमा पुरुष म्याडिसनको फाइनल हुने छ । डाइभिङमा पुरुष १० मिटर प्लेटफर्मको खेल हुनेछ । इक्वेस्ट्रियनमा जम्पिङको टिम फाइनल हुनेछ ।
पुरुष फुटबलमा ब्राजिल र स्पेनका बिचमा फाइनल खेल हुनेछ । शनिबार नै महिला गल्फको पदकको टुङ्गो लाग्नेछ । ह्यान्डबलको पुरुष स्पर्धामा फ्रान्स र डेनमार्कको खेल हुनेछ ।
कराँतेमा महिलाको ६१ किलोमाथि र पुरुषको ७५ किलोमाथिको खेल हुनेछ । मोर्डन पेन्टाथलनको पुरुषतर्फको पदकको टुङ्गो पनि शनिवार नै लाग्नेछ ।
रिदमिक जिम्न्यास्टिकको पदकको टुङ्गो शनिबार लाग्नेछ भलिबलको पुरुष स्पर्धामा फ्रान्स र रुसी ओलम्पिक कमिटीका बिचमा खेल हुनेछ । वाटर पोलाको महिला स्पर्धामा अमेरिका र स्पेनका बिचमा उपाधि भिडन्त हुनेछ ।
कुस्तीमा पुरुष ६५ किलो तौल समूहमा जापानका ओकुगोरु टाकुटो र अजरबैजानका हाइजी अलायाभ उपाधिका लागि भिड्नेछन् ।
पुरुष ९७ किलो तौल समूहमा अमेरिकाका फेड्रिक सान्डेयर र रुस ओलम्पिक कमिटीका सादुलेभ अब्दुतरसित बिच फाइनल खेल हुनेछ । महिला ५० किलोमा चीनकी सुन यानन र जापानकी युइ सुसाकाइ भिड्नेछन् । –एसेन्सीहरूको सहयोगमा
प्रतिक्रिया