महाकविको ‘कविकुञ्ज’ मासेर आधुनिक सङ्ग्रहालय ! « Khabarhub

महाकविको ‘कविकुञ्ज’ मासेर आधुनिक सङ्ग्रहालय !


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएकोमा साहित्य क्षेत्रका सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन् । उनीहरूले संरक्षण गर्नु पर्ने निकायले नै ऐतिहासिक महत्वको घर भत्काएको आरोप लगाएका छन् ।

देवकोटाको घर भत्काएर प्रज्ञा प्रतिष्ठानले उक्त ठाँउमा ७ करोड ११ लाख ७६ हजार रुपैयाँ लागतमा नयाँ भवन निर्माण गर्ने र सङ्ग्रहालय बनाउने भएको छ ।

महाकविको घर भत्काएर गर्नै नहुने काम गरेको साहित्यकार रोचक घिमिरेको भनाइ छ । घर भत्काएकोमा दुःख प्रकट गर्दै उनले भने, ‘देवकोटाको घर भत्काउनुभन्दा सबलीकरण गरेर राख्नुपर्थ्यो ।’

सबलीकरण (रेट्रोफिटिङ) गरेर निकै जीर्ण अवस्थाका घरहरू पनि सुरक्षित गर्न सकिन्छ । सोही प्रविधिको प्रयोग गरेर देवकोटाको घर सुक्षित गरेको भए इतिहासलाई जोगाउन सकिन्थ्यो भन्छन् साहित्यकार घिमिरे ।

आधुनिक नयाँ भवनले देवकोटाले प्रयोग गरेका वस्तुहरू हेर्न जाने साहित्यप्रेमी र दर्शकहरूलाई त्यो समयको झल्को दिन नसक्ने उनको भनाइ छ ।

देवकोटा बसेको घर भत्काएर गर्न नहुने काम गरे पनि अब उनी जन्मिएको घर संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

जानकारहरूका अनुसार अहिले भत्काएको घर देवकोटाले २००० सालमा बनाएका थिए । उक्त घर ‘कविकुञ्ज’ नामले परिचित थियो । शिक्षामन्त्री भएपछि देवकोटाले एक तला थपेका थिए ।

घिमिरेले खबरहबसँग भने, ‘प्रज्ञा प्रतिष्ठानले घर भत्काउने निर्णय गर्नुअघि इतिहासकार, साहित्यकार, र विज्ञहरूसँग छलफल गर्नुपर्थ्यो । जीर्णोद्धारको उपाय निस्कन सक्थ्यो ।’

कविकुञ्ज भत्काएपछि महाकवि देवकोटाप्रति श्रद्धा राख्ने नेपाली साहित्यकारहरूमा चिन्ता छाएको उनले बताए ।

अर्का साहित्यकार श्रीओम श्रेष्ठले पनि भत्काउन नहुने घर भत्काएको भन्दै दुःख व्यक्त गरे । वरिष्ठ पत्रकार भैरव रिसालले महाकवि देवकोटाको इतिहास बोकेको घर भत्काएकोमा दुःख लागेको बताए ।

रिसालले खबरहबसँग भने, ‘त्यस्तो घर फेरि बन्दैन, त्यसलाई संरक्षण गरेर सङ्ग्रहालय अर्को ठाउँमा बनाउनुपथ्र्यो, त्यसमा सम्बन्धित निकायले बुद्धि पुर्‍याउन सकेन ।’

उनले सम्बधित सरोकारवालाहरूले विचार पुर्‍याउन नसक्दा एउटा इतिहास नै मेटिएको र दुर्लभ सम्पत्ति नष्ट भएको बताए ।

देवकोटाको घर भत्काएर सङ्ग्रहालय बनाउने निर्णय नै बेठिक भएको उनको भनाइ छ । उनको विचारमा त्यो घरलाई जस्ताको तस्तै राखेर त्यसको नजिकै सङ्ग्रहालय बनाउनु पर्थ्यो। उनले भने, ‘हामीले दुर्लभ सम्पत्ति ध्वस्त बनाएका छौँ ।’

घर भत्काइएको हुँदा भावी पुस्ता देवकोटा कस्तो ठाउँमा बस्थे र उनको घर कस्तो थियो भन्ने जानकारी लिनबाट बञ्चित भएको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको घर भत्काएर सङ्ग्रहालय बनाउन लागेको हो ।

धन्यवाद पाउनुपर्ने, गाली पायौँ

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले देवकोटाको घर किन भत्काउनु परेको हो भन्ने कुरा नबुझ्दा धन्यवाद पाउनुपर्ने ठाँउमा गाली पाएको बताए ।

सम्बद्ध सरोकारवाला, प्राविधिक, साहित्यकार र सञ्चारकर्मी लगायत सबैसँग पटकपटक छलफल गरेर मात्र घर भत्काउने निर्णय भएको उनले बताए ।

पन्ध्र वर्षदेखि उक्त घरमा कोही नबसेकाले घर जीर्ण बनेको र २०७२ सालको भूकम्पले थप कमजोर बनाएकाले सबलीकरण गर्न सक्ने अवस्था नदेखिपछि नयाँ भवन बनाउने निर्णय भएको उनको भनाइ छ ।

उनका अनुसार विज्ञ प्राविधिकहरूको टोलीले सबलीकरण गर्न नसकिने निष्कर्ष निकालेपछि घरलाई भत्काएर नयाँ बनाउने निर्णय भएको हो ।

खबरहबसँग उनले भने, ‘यो हतारमा गरिएको निर्णय पनि होइन । सबै सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेर लिइएको निर्णय हो ।’ उनले बुझेकाहरूले पनि बुझ पचाएको आरोप लगाए ।

उपाध्यायका अनुसार घरको भित्री भाग जता टेक्यो त्यतै भासिने भएको थियो, सिलिङका काठहरू पनि धमिराले खाएर जीर्ण थिए । माथिल्लो तलाबाट ढुङ्गामाटो खस्ने गरेको थियो ।

उनले भने, ‘हामीले इतिहास बचाउनकै लागि नयाँ भवन बनाएर सङ्ग्रहालय बनाउन लागेका हौँ ।’

नयाँ भवनको बाहिरी स्वरूप पहिलेकै जस्तो हुने र भवनका ढोका, झ्याल सबै पुरानै शैलीमा निर्माण हुने उपाध्याले बताए ।

नयाँ भवनमा देवकोटाले दैनिक जीवनमा प्रयोग गरेका सबै समान, उनका कपडा, खाट, प्रकाशित वा अप्रकाशित कृति लगायत सबै वस्तु राखिने छन् । भवन पहिलाको भन्दा केही अग्लो हुने उनले जानकारी दिए । भवनको भित्री भाग भने अत्याधुनिक शैलीमा निर्माण हुनेछ ।

उपाध्यायले भने, ‘पुरानो घर जस्ताको तस्तै राखेरमात्रै पनि सङ्ग्रहालय बन्ने होइन । त्यहाँ मान्छेहरू जान सक्ने, अध्ययन गर्न सक्ने र त्यहाँ गएर हेर्न सक्ने हुनुपर्छ ।’

उक्त घर नेपाल प्रज्ञा प्रतिष्ठानले सरकारको अनुदानमा महाकवि देवकोटाका परिवारबाट २ करोड ५० लाख रुपैयाँमा किनेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ५५ बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा