स्वतन्त्र र सार्वभौम राष्ट्र भन्न पाए पनि नेपालीहरूको स्वाधीनताको कमजोर बन्दै गएको छ । मुलुक जति आर्थिक, सामाजिक, सांस्कृतिकरूपले समृद्ध हुँदै जान्छ उति नै वैयक्तिक र राष्ट्रिय स्वाधीनतामा समेत वृद्धि हुँदै जान्छ । परतन्त्रताबाट मुक्त हुन मुलुकभित्र नै स्वाधीनताका लागि स्रोत परिचालनको वैज्ञानिक व्यवस्थापन तथा न्यायोचित वितरण प्रणालीको अविछिन्न विकास र गतिशिलता आवश्यक पर्छ ।
स्वाधीनताका लागि नेपाल परापूर्वकालदेखि नै रक्षम रहेको हो । हाल यसको सम्बर्द्धन र विकासको प्रक्रिया अवरुद्ध हुँदा हाम्रो स्वाधीनता खस्कँदो र वा पराधीनता उन्मुख देखिँदैछ । हाम्रा खास विशेषताहरू छन् ।
सानो मुलुक भए पनि अपार जलस्रोत, जडिबुटीको भण्डार, विविध भौगोलिक पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविक विविधता, अनुकूल हावापानी तथा मिहिनेती र श्रमशील जनता हाम्रो मुख्य क्षमता हो ।
कला र संस्कृतिको विविधतायुक्त तथा विशिष्ट भण्डारको रूपमा हाम्रो मुलुक विश्वमा परिचय दिने क्षमता राख्छ ।
हाम्रो धार्मिक सहिष्णुताले विश्वमा धर्म समन्वयको पाठ सिकाउन सक्ने क्षमता राख्छ । धर्म, संस्कृति, संस्कारलाई वर्ग समन्वयको आधार बनाउने विचित्र एकात्मकता हामीसँग छ ।
जातीय, लैङ्गिक, क्षेत्रीय तथा भाषिक अनेकताभित्र अक्षुण्ण एकता हाम्रो अर्को विशिष्ट पहिचान हो । स्वस्फूर्त रूपमा स्थापित यो भावनात्मक एकता हाम्रो अमूल्य निधि हो ।
विविध कृषिजन्य वस्तु उत्पादनका लागि अनुकुल पारिस्थितिक प्रणाली तथा स्थुल र सूक्ष्म भौगोलिक पर्यावरण मुलुकको अर्को अमूल्य निधि हो ।
आफ्नोमात्र नभई अर्को मुलुकको रक्षार्थ साहस देखाएका र युद्ध गरेका वीर लडाकाहरूको गौरवले भरिएको देशको रूपमा समेत नेपालको परिचय छ । विश्व प्रख्यात वीर गाथायुक्त मुलुक भएकाले पनि नेपाल आफ्नो स्वाधीनताको रक्षार्थ गर्ने क्षमता राख्छ ।
यसरी हुँदैछ क्षयीकरण
अकाट्य धरोहरका रूपमा रहेका उपयुक्त विषयहरूको समुचित व्यवस्थापन हुनुपर्छ तर तिनको प्रभावकारिता बोध गर्ने क्रियाकलाप र दृष्टिकोण समेत उदाउन सकेको छैन ।
माल पाएर पनि चाल नपाउने राजनीतिक दृष्टिले गर्दा हातको हिरासँग काँस साटिरहेछौँ । परालम्बता आत्मसात गर्दैछौँ ।
पराधीनताका मूख्य कारणहरू
राष्ट्रिय भावनाको स्खलन : स्वाधीनताको मुख्य कडी नागरिकमा हुने राष्ट्रिय भाव नै हो । राष्ट्रप्रतिको जिम्मेवारी र भरोसा हट्दै जाँदा राष्ट्रियताको स्थानमा पराधीनताको जरो गाडिन्छ । त्यस्तो समयमा बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि अनेक तरहले बल प्रयोग गर्छ ।
वर्तमान समयमा सैनिक हस्तक्षेपको प्रयोगमा कमी हुँदै आए पनि यसको स्थानमा व्यापारिक, सांकृतिक, राजनीतिक, आर्थिक, धार्मिक गतिविधिवाट राज्य तथा नागरिकलाई पराधीनतातर्फ धकेल्ने कम गर्छ ।
यो प्रक्रिया पराधीनताका लागि प्रयोग हुने मन्द विष हो । अप्रत्यक्ष तथा मन्द गतिमा नागरिकहरूमा यसले क्षोभ उत्पन्न गराउँछ र नागरिकले राज्यप्रति गर्नुपर्ने दायित्वबाट क्रमशः विमुख हुँदै जान्छ ।
श्रमशक्तिको दुरुपयोग : भीमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापाहरू बहादुरीका साथ देशका लागि बेलाको प्रविधिअनुसार युद्ध लडे, मुलुक जोगाए । समयसँगै प्रविधि फेरियो, शासनशैली फेरियो । अन्तर्राष्ट्रिय मान्यता फेरियो । ती वीरहरूको गाथाहरू कथामा रूपान्तरण भएको छ ।
पहिलो र दोस्रो विश्वयुद्धमा नेपालका पहाडी गाँउहरूबाट सिङ्गो गाँउ नै रित्तिने गरी १६ वर्षदेखि ४० वर्षसम्मका पुरुष अर्को देशको साम्राज्य विस्तारका लागि अर्कै देशसँग युद्ध खातिर भाडामा ओसार्ने काम भयो, न नेपालको कुनै देशसँग रिसइबी न युद्धबाट कुनै राष्ट्रिय लाभ ।
राणा महाराजाहरूको आदेशले भर्ती क्याम्प स्थापना गरिए, ग्रामीण अशिक्षित युवाहरू प्रलोभनमा पारेर युद्धमा पठाइए । मुलुकले अर्काका करिब एक लाख ६० हजार नेपाली छोरा बलि चढायो ।
आमनागरिक राज्यको मालिक हुन् । सुशासन अनिवार्य आवश्यकता हो, हाम्रो राजनीतिमा आमूल सुधार चाहिएको छ । यो काम गर्ने गराउने सचेत नागरिकहरूले नै हो । हामी अझै सचेत नहुने हो भने परिस्थिति झन खराब हुनेछ ।
यही समयदेखि नेपाली श्रमशक्तिको क्रयविक्रय भएको हो । यसलाई नै पराधीनतातर्फ लाग्ने प्रथम खुड्किलो मान्न सकिन्छ । युवाशक्तिलाई देशभित्र अड्याउन नसक्नु र जीविकाको लागि बाहिर पठाउनुको पीडा मुलुकले अहिले झन धेरै भोग्दैछ, तरिका अलग तर पीडा उही ।
वर्तमान समयमा स्वदेशमा रोजगारीको अभावले बौद्धिक तथा श्रमशक्ति कहालीलाग्दो गरी पलायन भइरहेको छ । आशालाग्दो भविष्यको अभाव, रोजगारी विकास र प्रविधियुक्त उद्यमशीलताका लागि सरकारी उदासीनताका कारण मुलुक बनाउने श्रमऊर्जा बाहिर धकेलिएको छ ।
यसरी मुलुकको अर्थतन्त्र र सामाजिक संरचना उठ्नै नसक्ने गरी भासिदै गएको अनुभूत हुन थालेको छ ।
भौगोलिक अवस्थिति र कूटनीति : हाम्रो देशको भौगोलिक अवस्थिति जहाँ थियो त्यही नै हुनेछ । उत्तरतर्फ विशाल जनसंख्या तथा भूगोलसहितको उदीयमान विश्वशक्ति छ भने बाँकी तीनतिरबाट अर्को विशाल देशले घेरेको छ । भौगोलिक र सामरिक दुवै दृष्टिले नेपाल सधैँ जोखिममा छ ।
छिमेकी देशसँगको सम्बन्धमा कूटनीतिक चातुर्य आवश्यक पर्छ तर हाम्रो राजनीतिक र कूटनीतिक अक्षमताले हामी कमजोर बन्दै गएका छौँ ।
स्वाधीनता तथा पराधीनताको मुख्य सूचक छिमेकी देशहरूसँगको कूटनीतिक सम्बन्ध र व्यापारिक साझेदारीको अवस्था नै हो । आमनागरिकमा यसको अनुभूति भएकै छ ।
मुलुकको भौगोलिक अवस्थिति तथा अन्य प्रणालीगत सामाञ्जस्य र समन्वयका लागि गतिशील, समयसापेक्ष र कुशल कूटनीतिक क्षमता आवश्यक पछ तर हाम्रो देशको कूटनीति तथा परराष्ट्र सम्बन्ध ठिक विपरीत किसिमले चल्ने गरेको छ ।
मुलुकको परराष्ट्र सम्बन्ध र छिमेकी राष्ट्रसँगको कूटनीति पूर्णतः असफल छ । ठूला दुई राष्ट्रबीच हुने सामरिक तथा अन्य संवेदनशीलताका कारण विशेष कूटनीतिक कौशल आवश्यक पर्नेमा त्यसो हुनसकेको छैन । असफल कूटनीतिले नेपालको गरिमामा समेत ह्रास आउन थालेको भएको छ । यस्तो असफल कूटनीतिले राज्यलाई परालम्बतातर्फ धकेल्छ ।
आर्थिक संरचना : राज्यले आत्मनिर्भरताका लागि दीर्घकालीन आर्थिक योजना बनाउन र सञ्चालन गर्न नसक्नु पराधीनताको अर्को कारण हो ।
यसैबाट जनशक्ति पलायन, राजनीतिक अस्थिरता, अन्तर्राष्ट्रिय प्रभाव, असमान सम्झौता, आन्तरिक शक्तिको क्षयीकरण, परालम्बी मानसिकता विकास हुन्छ ।
गार्हस्थ उत्पादनमा ह्रास, कच्चा पदार्थको अभाव र औद्योगिक रुग्णता, भ्रष्टाचार जस्ता विकृति पनि हुर्कदै जान्छन् । वैदेशिक तथा आन्तरिक ऋणभारको बढोत्तरी हुँदै जान्छ । हामी यस्तै अवस्थामा छौँ र असफलतोन्मुख छौँ ।
वैश्विक अर्थकूटनीति तथा प्रविधिमा पछि परिरहेको नेपाल तीव्र गतिमा पराधिनतातर्फ अघि बढ्दैछ ।
राजनीतिक अस्थिरता : राजनीतिले नै राज्यको विकास तथा स्वाधीनताका लागि स्थिरता प्रदान गरिरहेको हुन्छ । नेपालको राजनीति अस्थिर र कमजोर छ । नेताहरूले राजनीतिलाई व्यवसाय र व्यापार मान्नु अस्थिरताको मूल कारण हो । यही कारणले लोभीपापी नेताहरूको उदय भइरहेको छ । राज्य सञ्चालनमा वर्चस्व पनि यस्तै नेताहरूको छ ।
पारदर्शिता, इमानदारी, दीर्घकालीन दृष्टिकोण, विकास क्रियायाकलापमा प्राथमिकीकरण, सुशासन, लाभको समुचित वितरण, कुशल कूटनीति आदि अवयवहरू व्यापारप्रेरित राजनीतिका सामु टिक्न सक्तैनन् ।
वर्तमान अवस्थामा कुशलतापूर्वक राज्य सञ्चालन गरी मुलुकको चौतर्फी विकास स्वाधीनता र विकासतर्फको यात्रामा डोर्याउनु असम्भव जस्तै देखिँदैछ । शासनसत्ताको उपल्लो तहसम्म भ्रष्टाचार व्याप्त छ । सुशासन गफको विषय बनेको छ ।
विकासको कुरा बहसले बन्न सकेको छैन । नेताहरू सत्ता र शक्तिको लडाइँमा व्यस्त हुने गरेका छन् । राज्यका अङ्गहरू दलीय भागबन्डाका कारण निकम्मा भएका छन् । सत्ताका लागि दलालीभन्दा माथि उठेर राष्ट्रिय मुद्दामा मतैक्य हुने कुरा दुर्लभ भइसक्यो । नेताहरूको गैरजिम्मेवारीका कारण हाम्रो स्वाधीनता कमजोर हुँदैछ ।
समाधानका उपाय
समस्याको जड गैरजिम्मेवार, अपारदर्शी तथा व्यक्तिगत लाभमुखी सत्तारोहण हो । वडा कार्यालयदेखि सिंहदरबारसम्म अनुशासनहीनता र भ्रष्टाचार व्याप्त छ । यो अवस्थामा सुधार नआउँदासम्म स्वाभिमान विकास हुँदैन ।
राजनीतिमा सुधार हुन जनचेतनाको स्तरोन्नति हुनै पर्छ । उल्लिखित नकारात्मक पक्षहरू पारदर्शी र दिगो शासन प्रणालीले अन्त्य गर्नसक्छ । आमनागरिकहरू राज्यको मालिक हुन सुशासन अनिवार्य रहन्छ । यसो हुन राजनीतिमा आमूल सुधार आवश्यक पर्छ । अब पनि नागरिकहरू सचेत नहुने हो भने मुलुक नयाँ उपनिवेश बन्न सक्छ ।
देशको स्वाधीनता, विकास र दिगो राजनीतिका विषयमा राष्ट्रिय बहस चलाउनु अनिवार्य भएको छ
प्रतिक्रिया