पारिवारिक र सामाजिक सम्बन्धको खलपात्र | Khabarhub Khabarhub

पारिवारिक र सामाजिक सम्बन्धको खलपात्र



यही वैशाख आठ गते काठमाडौँ छोड्नुअघि मेरा एकजना सम्पादक मित्रले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एउटा सन्देश देखेँ । सन्देशको मजबुन थियो– हाम्री छोरीको बिहे हुँदैछ तर कोरोना संक्रमणको प्रतिकूल परिस्थितिका कारण बिहेको कार्यक्रम पारिवारिक अनुष्ठानमा सीमित गर्न बाध्य भयौँ, सबै आफन्त र इष्टमित्रहरूले आ-आफ्नो स्थानबाट वरवधुलाई आशीर्वाद दिनुहुन आग्रह गर्दछौँ ।

सबै प्रतिक्रियाहरू सकारात्मक थिए, सबै जसोले उक्त निर्णयमा धन्यवाद दिएका थिए ।

मेरा अर्का एकजना मित्रवत अग्रजले आफ्नो छोराको बिहेमा जन्त जान करिब दुई महीनाअघि नै जानकारी गराएका थिए । समय मिलाउनू, भ्याइनँ नभन्नू भन्ने उनको हार्दिक उर्दी थियो ।

काठमाडौँ बाहिर रहँदै उनको फेसबुकमा एउटा सन्देश देखेँ । मजबुन उही थियो– छोराको बिहे सांस्कृतिक अनुष्ठानमा सीमित राख्न बाध्य भयौँ, सबै आफन्त र इष्टमित्रहरूले आआफ्नै ठाउँबाट वरवधुलाई आशीर्वाद दिनुहुन अनुरोध छ ।

उनले यही मजबुनको निम्तापत्र नै पोस्ट गरेका थिए ।

म पनि वैवाहिक कार्यक्रमकै लागि काठमाडौँबाट झापा पुगेको थिएँ । बिहे थियो मेरा सबैभन्दा ठूला भान्जाको ।

नयाँ भेरिएन्टको कोरोना संक्रमण फैलिँदै गर्दा म द्विविधामा थिएँ लामो यात्रा गर्ने कि नगर्ने भनेर । भान्जाभान्जीमध्ये पहिलो बिहे, बहिनी गङ्गाले एक महिनाअघिदेखि कर गरेकी छे । जाऊँ त कोरोनाको कहर बढेको बढ्यै छ, नजाऊँ कर गरेकी गर्‍यै छे ।

एक बेलुका गङ्गाले फोनमा निम्तारुको सूची सुनाई । आफन्तका परिवारमात्रै साठी हाराहारी छन्, छरछिमेकी र इष्टमित्र करिब दुई सय जनाजतिको अनुमान छ । जम्माजम्मी चार सय जनाका लागि खाना अर्डर भएको छ । आफ्नो घर परिसरमै टेन्ट टाँगेर प्रीतिभोज आयोजना गर्ने तयारी छ ।

यति कुरा बिहे हुने दिनभन्दा दुई साताअघिको हो ।

दोस्रो लहरको कोरोना फैलिँदो छ । छिमेकी मुलुक भारत हट स्पट बनेको छ । भारतमा रहेका नेपाली कामदारहरू लस्कर लागेर फर्किंदैछन् । बिहे घर छ काँकडभिट्टा नाकाबाट तीन किलोमिटर भित्र, राजमार्गबाट सय मिटर पर । नाकामा कुनै रोकतोक छैन ।

यो महामारीमा आज कोसँग के गुनासो गर्नु ! कोसँग के कुरामा फुरुङ्ग हुनु ! मानव अस्तित्व नै संकटमा छ भने कोसँग द्वेष र मात्सर्य राख्नु ! महामारी जित्न सके हाम्रा खुसीहरू अवश्य फर्किने छन् ।

एक साता बाँकी रहँदा निम्ता गर्न शुरू गर्ने सल्लाह छ । यसै समय एक दिन साँझ गङ्गाले फोन गरी । स्वर रुन्चे छ, बोलीमा उदासीनता छ । मन झसङ्ग भयो ।

भनी— नगरपालिका पच्चीस जनाभन्दा नबढाउनू भन्छ । कोही भन्छन् किन डराउनु; कोही भन्छन् महामारी फैलिँदैछ, टाढाका पाहुना नबोलाउनू; दाजु ! अब हामी के गर्नु ?

सोधेँ— ज्वाइँ के भन्नुहुन्छ ?

झन् उदास स्वरमा भनी— के भन्नु र ! बिलखबन्धनमा हुनुहुन्छ ।

दाजु जो परेँ, फटाफट आदेश जारी गरेँ— तिमीहरू परिवारमा सल्लाह गर्नू, नजिकका छिमेकी बोलाउनू, टाढाका कसैलाई नबोलाउनू, यस्तै हो, सबैले यसै गरेका छन् ।

गनगन गर्न थाली— एउटा छोराको बिहे, सबै तयारी छ, अब मैले मेरा घरका, माइतीका, नातगोता, इष्टमित्र कसैलाई नबोलाउनू ! भोलि मलाई के भन्लान् !

मेरो निर्णय दिएँ— हो, नबोलाउनू, यस्तो महामारीमा जोखिम उठाउनु हुँदैन, कसैले केही भनिहाले भने पनि सहनुपर्छ, परिस्थिति कसलाई थाहा छैन र ! आगे तिमीहरूको आफ्नै निर्णय ।

सोधी— तपाईं त आउनुहुन्छ नि ?

आश्वस्त बनाएँ— म जसरी पनि आउँछु ।

बिहान एघार बजे कोभिसिल्डको दोस्रो खोप लिएपछि मन अलिक हौसियो । अपराह्न साढे चार बजेलाई भद्रपुरका लागि टिकट पनि पाइहालेँ । मान्छेको मन न हो, जे पर्ला भन्ने भयो । एक घण्टा ढिलो गरेर उडेको जहाज कुहिरोमा हेलिएको हेलियै पैँतालीस मिनेटमा भद्रपुर अवतरण भयो ।

नगरपालिका पच्चीस जनाभन्दा नबढाउनू भन्छ । कोही भन्छन् किन डराउनु; कोही भन्छन् महामारी फैलिँदैछ, टाढाका पाहुना नबोलाउनू; दाजु ! अब हामी के गर्नु ?

बिहे सकियो । थोरै छिमेकी र अति सीमित पारिवारिक सदस्य जम्मा भए । बेहुलोसहित तेइस जनाको टोली जन्त गयो । राजमार्गबाट तीस किलोमिटर जति तल ग्रामीण इलाकामा निकै घन्चमन्चबीच हाम्रो जन्ती टोली नगन्य झैँ देखियो । म हाम्रो निर्णयमा दृढ नरहने कुरै भएन ।

मेरो यात्राको अन्तिम गन्तव्य ताप्लेजुङ, एउटा हृदयविदारक पारिवारिक घटनाको वर्ष दिनपछिको एउटा अनुष्ठानमा सहभागी हुनु आफ्नो कर्तव्य ठानेको हुनाले जोखिम उठाउन तयार थिएँ, महादेवी त वैशाख सक्रान्तिकै दिनदेखि उतै ।

कोभिसिल्ड खोपको मात्रा पूरा भएपछि अलिकति भरोसा पनि बढेको थियो । काम कति गर्छ थाहा छैन, आत्मविश्वासको कुरा न हो !

सामाजिक सञ्जालमा मेरो सक्रियता निकै कमजोर छ । काठमाडौँबाट झापा, मोरङ र ताप्लेजुङ हुँदै फेरि भद्रपुरबाट काठमाडौँ आइपुग्दाको नौ दिनको यात्रामा जम्माजम्मी सातवटा फोटा फेसबुकमा पोस्ट गरेँ ।

भान्जाको बिहेको होइन, बिहेको सन्दर्भ जोडिएका तीन वटा फोटा छन् ।

प्रतिक्रियामा केही आत्मीयजनका गुनासाहरू प्रकट भएका छन्; कुनै सोझै, कुनै अलिक घुमाउरो परामा थोरै कटाक्षसहित । फेसबुकमा प्रकट नहुने आत्मीयजनका पनि फाटफुट गुनासा छन्— हामी आउन नसके पनि सुनाएको भए त हुन्थ्यो नि !

मैले गुनासाहरू स्वाभाविक ठानेँ । आत्मीयता हुनाले नै गुनासो प्रकट भएको हो । यी गुनासा ग्रहण गर्नु र प्रकृतिले दिएको धोकासँग समर्पण गर्नु म, हामी र हामीजस्ता मनुवाको नियति भएको छ ।

पराइले किन गर्छ र गुनासो !

ताप्लेजुङको अनुष्ठानमा सहभागी हामीमध्ये दुई जनालाई कोरोना संक्रमण पुष्टि भयो । अन्य केहीले संक्रमणको लक्षणबाट पार पाए ।

चिया, कफी, हटलेमन विद् हनी र हटलेमन विद् बिरे नुनका पारखी मेरा धेरै साथीहरू छुटेको वर्ष दिनभन्दा बढी भयो । तालिम, गोष्ठी, पिकनिक, भ्रमण, परियोजना सबै ध्वस्त छन् ।

असी हिउँदबर्खा पार गरेका आमाबाबु भेट्न पूरै एक वर्ष लाग्यो । गएको दशैँमा टीकाजमराका साथ आशीर्वाद लिने अवसर समेत खोसियो । भाइटीकाकै दिनदेखि कोरोना संक्रमणले थला पार्‍यो ।

यो अवधिमा कति प्रियजनको मलामी जान पाइएन । कति शोकाकुल किरियापुत्री भेट्न जान सकिएन । बिहेब्रतबन्ध छुटे । धार्मिक, सांस्कृतिक, पारिवारिक, सामाजिक जमघटहरू छुटे ।

सुनेँ, चिनजानको एक परिवारमा दशैँमा वृद्धआमाबाबुको आशीर्वाद लिन आएका छोराबुहारी भर्‍याङबाटै फर्काइए । कोरोनाले निम्त्याएको यो कस्तो विडम्बना ! अनुमान गर्दछु ती छोराबुहारी र आमाबाबुको मनको चोट, आङ सिरिङ्ग हुन्छ ।

अर्को दशैँ देख्न नपाउँदै कोरोनाले ती छोरालाई चुँडेर लग्यो ।

यही वैशाखमा कोरोनाको दोस्रो लहरमा हाम्रा एक जना आफन्तको निधन भयो । शव सुरक्षाकर्मीको टोलीले उठाउँछ । मलामी जाने समयको भेउ नपाउँदा मन खिन्न भयो ।

वैशाखकै तेस्रो साता अर्का एक आत्मीयजनको परिवारै कोरोना संक्रमित भएको खबर पाएँ । बयासी वर्ष उमेरकी आमा र नानीहरूसहित परिवारका पाँचै जना संक्रमित भए, बिस्तारै पार पाउँदै छन् ।

अस्पतालमा बीस मिटर परबाट ट्वाल्ल परेर हेरेँ । घरमा भएकालाई पनि प्रत्यक्ष भेट्न पाएको छैन । लकडाउनले यातायात बन्द छ । यस्तो विडम्बनाले मन खिन्न छ ।

हाम्रा धेरै सामाजिक र पारिवारिक मिलनहरू खलबलिएका छन् । कलिला विद्यार्थीहरूको पढाइ बरालिएको छ । दिनदिनै काम गरेर छाक टार्ने निमुखा मजदुरहरू अलपत्र छन् । उत्पादन र आपूर्ति व्यवस्था खलबलिएको छ । बजारभाउ बढ्दो छ ।

गत वर्ष आमाबुबालाई भनेको थिएँ, यसपालि लुम्बिनीसहित स्वदेशका केही तीर्थस्थल घुमाउँछु । प्रस्थानको तयारी हुँदै गर्दा कोरोनाको हल्ला फैलियो, केही दिनमा लकडाउन भयो ।

अहिले आफैँलाई सोध्दैछु— मेरो यति इच्छा पनि पूरा हुन पाउँदैन त ?

के गर्नु पर्थ्यो, के गर्नु पर्दैनथ्यो, के गर्नु हुन्थ्यो र के गर्नु हुन्नथ्यो भन्ने कुरा प्रत्येक व्यक्तिको चिन्तनशैलीमा भर पर्छ भन्ने म ठान्दछु ।

तत्कालीन परिस्थितिमा मानिसले आफ्नो चिन्तनअनुसार सबैभन्दा उचित निर्णय लिएको हुन्छ, उचित—अनुचित त आगे समयले पर्गेल्दो रहेछ ।

बितेका पचास वर्षमा मैले आर्जन गरेको र सबैभन्दा महत्वपूर्ण ठानेको अनुभव यही हो ।

हाम्रा धेरै सामाजिक र पारिवारिक मिलनहरू खलबलिएका छन् । कलिला विद्यार्थीहरूको पढाइ बरालिएको छ । दिनदिनै काम गरेर छाक टार्ने निमुखा मजदुरहरू अलपत्र छन् । उत्पादन र आपूर्ति व्यवस्था खलबलिएको छ । बजारभाउ बढ्दो छ ।

पैसा हुनेले पनि अनिवार्य उपचार नपाउने अवस्था सिर्जना भएको छ, रोजेको उपचारको के कुरा ! कोभिडका बिरामीलाई अस्पतालमा बेड छैन, अक्सिजन पुर्‍याउन पनि हम्मे परेको छ । निमुखा र विपन्नको के हालत भइराखेको होला !

एक ठाउँ, एक देश होइन; सारा संसार बिलखबन्धनमा छ । प्रकृतिले मानव अस्तित्वमाथि धावा बोलेको छ । यस्तो धावाको अनुमान माल्थसले उहिल्यै गरेका थिए अरे ! प्रकृतिविद् डार्बिनले ‘सर्वाइवल अव द फिटेस्ट’ सिद्धान्त प्रतिपादन गरेका थिए ।

जिन्दगी दुई दिनको रामछाया ! जिन्दगी कर्कलाको पानी !

हाम्रा पुर्खाले यतिकै किन यसो भनेका हुन्थे र ! लामो अनुभवको निष्कर्ष जो हो । आफ्नै पारामा सही, माल्थस र डार्बिनभन्दा के कम थिए र !

आज कोसँग के कुराको गुनासो गर्नु ! कोसँग के कुरामा फुरुङ्ग हुनु ! मानव अस्तित्व नै संकटमा छ भने कोसँग द्वेष र मात्सर्य राख्नु !

कोरोना भाइरस संक्रमणको यो महामारी अहिले त पारिवारिक र सामाजिक जीवनको खलपात्रमात्रै बनेको छ । कामना गरौँ, मानव अस्तित्वको खलपात्र नबनोस् !

स्वास्थ्य सुरक्षाका मापदण्डहरू सचेततापूर्वक अपनाऔँ । सुरक्षित रहौँ । प्रत्येक व्यक्ति र परिवारलाई सुरक्षाका उपायहरू छनोट गर्ने हक छ । आफूमात्रै होइन, आफ्ना र अरूलाई पनि सुरक्षित राख्नु छ । यो महामारी जित्न सके जिन्दगी हाम्रै हो । खुसीहरू अवश्य फर्किने छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ०५ बजे

एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने

काठमाडौं-  विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल

प्याजका बिरुवा बेचेर डेढ लाख कमाउँदै रामपुरका किसान

रामपुर– रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक

सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव

दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु

काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान