कोरोना कहरले कतै मनमा त्रास बढाउँदैछ कि ! | Khabarhub Khabarhub

कोरोना कहरले कतै मनमा त्रास बढाउँदैछ कि !



काठमाडौँ— कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दै गर्दा शुरू भएको दोस्रो लहरमा जसरी संक्रमण बढ्दैछ, त्यसरी नै मानिसहरूको मनमा डर पनि बढ्दै छ ।

निषेधाज्ञाको समयमा पनि विभिन्न मानसिक समस्या बोकेर बिरामीहरू मानसिक रोग अस्पताल र क्लिनिक पुग्ने गरेका छन् ।

ललितपुरस्थित मानसिक अस्पतालमा निषेधाज्ञाको समयामा पनि दैनिक ४० देखि ५० जनासम्म बिरामीहरू पुग्ने गरेका छन् । सो अस्पतालमा सामान्य अवस्थामा दुई सय जनाको हाराहारीमा बिरामीहरू पुग्थे ।

मनोचिकित्सकहरूका अनुसार अहिले धेरै मानिसमा कोरोना सम्बन्धी त्रास बढेको छ । यसले एनजाइटी अर्थात छटपटाहट, डिप्रेशन अर्थात उदासीनता, अब्सेसिभ–कम्पल्सिभ डिसअर्डर (ओसीडी) अर्थात एउटै काम दोहोर्‍याइरहने वा आवश्यकता बढी सचेत हुने जस्ता मनरोग निम्त्याएको मनोचिकित्सक डा अनन्तप्रसाद अधिकारी बताउँछन् ।

‘विशेष गरी अहिले ओसीडीका बिरामीहरू बढेका छन्,’ उनले भने, ‘हात धोइरहने, मास्क र पञ्जा दोब्बर–तेब्बर लगाउने जस्ता लक्षण हुनु ओसीडी हो ।’

कतिपयले कोरोनाको त्रासले आत्तिएर स्वास्थ्यका मापदण्ड आवश्यकताभन्दा बढी अपनाउने गरेका छन् । इन्डियन भेरिएन्टको लक्षण र मौसमी रुघाखोकीको लक्षण मिल्दोजुल्दो हुने भएकाले धेरै नआत्तिन डा. अधिकारीको सुझाब छ ।

‘अहिले सामान्य ज्वरो आउँदा पनि कोरोना लाग्यो कि भन्दै परीक्षण गर्न दौडिने र आत्तिने गरेको पाइन्छ,’ उनले भने, ‘यसले मानसिक तनाव निम्त्याउँछ ।’

सामान्य अवस्थाका व्यक्तिलाई भन्दा मानसिक रूपमा एनजाइटी, डिप्रेसन जस्ता समस्या भएका मानिसलाई कोरोना संक्रमण भएमा निको हुन बढी समय लाग्ने विभिन्न अध्ययनले देखाएको डा. अधिकारीले बताए ।

अनावश्यकरूपमा तनाव नलिन र कोरोना पोजेटिभ भए पनि निको हुन्छ भन्ने आत्मबल बढाउन डा. अधिकारीको सुझाब छ । उनी भन्छन्, ‘विश्वमा बेलाबेला फरक फरक खालका माहामारी आइरहन्छन्, जसको अन्त्य एकदिन हुन्छ । धैर्य गर्नुपर्छ, औषधि सेवन गर्नुपर्छ, गाह्रो भयो भने अस्पताल गएर परामर्श लिनुपर्छ ।’

कोरोना नै भयो कि भन्ने त्रास

दुई दिनयता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक ९ हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या ७८ हजारभन्दा माथि छ ।

संक्रमितको संख्या बढिरहँदा सामान्य रुघाखोकी लाग्दा, सामान्य ज्वरो आउँदा र थकान महसुस हुँदा पनि कोरोना नै पो हो कि भन्ने त्रास हुने गरेको छ ।

मानिसले तनाव लिँदाको अवस्थामा कोरोनाका सामान्य लक्षणसँग मिल्दोजुल्दो लक्षण महसुस हुने डा. अधिकारीको भनाइ छ ।

‘मार्क नेपाल मनोसेवा केन्द्र’ का मनोविद् गोपाल ढकालका अनुसार तनावको अवस्थामा सास फेर्न गाह्रो हुने, शरीर तात्ने, खोकी लाग्ने, हातखुट्टा झम्झाउने, आँखा रातो हुने, मुटुको चाल बढ्ने जस्ता लक्षण देखिन्छन् ।

‘कोभिडका लक्षणहरू जस्तै शारीरिक लक्षणहरू मानसिक तनाव हुँदा पनि देखिन्छन्’ ढकालले भन्छन्, ‘यस्ता लक्षण देखिँदा मनोपरामर्श लिनु उचित हुन्छ ।’

त्यसो त विपत्तिको समयमा सामान्य डर, चिन्ता, छटपटी, तनाव हुनु स्वाभाविक नै हो । दिन बित्दै गएपछि यस्ता समस्याहरू आफैँ समाधान पनि हुन्छन् ।

लामो समयसम्मको डर, चिन्ता भय, तनाव हुनु मानसिक रोगकै उपज रहेको बताउँछन् ढकाल । उनका अनुसार लक्षणहरू बढ्दै गएर दिनचर्यामा असर गर्न थालेमा त्यसलाई मानसिक रोगका रूपमा लिइन्छ । निषेधाज्ञा जति लम्बिँदै जान्छ, मानिसहरूको मस्तिष्कमा त्यति नै असर पर्दै जान्छ ।

‘तनाव व्यवस्थापन गर्न आफ्नो हेरचाह आफैँ गर्ने, खानपिनमा ध्यान दिने, आराम–व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, मनका कुरा अरूलाई सुनाउने,’ ढकाल भन्छन्, ‘सकरात्मक व्यवहार गर्ने र मनको तनाव भुलाउन मनोरञ्जनात्मक र सिर्जनात्मक क्रियाकलाप गर्नुपर्छ ।’

त्यति गर्दा पनि तनावबाट मुक्त भएन भने घर परिवार र साथीभाइसँग सल्लाह गरेर मनोचिकित्सकको परामर्शका लागि जानुपर्ने उनको सुझाब दिन्छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ११ : ४३ बजे

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

एमाले पार्टी कार्यालय च्यासलमा शिक्षकहरुको धर्ना

काठमाडौं – नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा नेकपा