भोजपुर- भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।
सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको रु ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ ।
सांसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको र केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताए ।
अधिकृत श्रेष्ठले भने, ‘धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।’
विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो ।
सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।
प्रतिक्रिया