आज विवाह पञ्चमी, रामसीताको पूजाआराधना गरी मनाइँदै | Khabarhub Khabarhub

आज विवाह पञ्चमी, रामसीताको पूजाआराधना गरी मनाइँदै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सवपहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी, देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजाआराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ०६ बजे

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य