कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि « Khabarhub

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ ।

सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।

“गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो”, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने, “यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।” पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले भने ।

सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् ।

हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ । आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ ।

रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “वनका उपभोक्तासहित पालो मिलाएर आगो नियन्त्रणमा लागेका छौँ”, उनले भने, “लाखौँ मूल्यको काठ जलेर नोक्सानी भएको छ । बाह्य क्षेत्रबाट काठ निर्यात गरेर ल्याउँदैछौँ ।”

वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर नष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन । यसका लागि राज्यले नीति बनाउनुपर्छ । चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने चुनौतीको सामना गर्नुपरेको छ ।

भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ ।

आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब