कोरोना संक्रमितलाई पिठ्यूमा बोकेर गाडी चढाउने जनप्रतिनिधि « Khabarhub

कोरोना संक्रमितलाई पिठ्यूमा बोकेर गाडी चढाउने जनप्रतिनिधि



काठमाडौँ– ‘कोरोनाकै कारण कसैले ज्यान गुमाउन नपरोस भनेर बिरामीलाई पिठ्यूमा बोकेर पनि समयमै अस्पताल पुर्‍याएको छु’, यो भनाइ खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको हो ।

उनले गाडी नपुग्ने ठाउँमा बिरामीलाई आफैँले पिठ्यूमा बोकेर गाडीसम्म पुर्‍याउने गरेका छन् ।

‘सबैको घरदैलोमा सडक पुगेको छैन त्यसकारण बाटोसम्म ल्याउन १५ देखि ३० मिनेट लाग्छ’ उनले खबरहबसँग भने, ‘कि त पिठ्यूमा कि त डोकोमै बोक्नुपर्ने हाम्रो बाध्यता छ ।’

लक्षण देखिएकालाई आइसोलेसन केन्द्र र गम्भीर भएकालाई अस्पतालसम्म पुर्‍याउन अहिले गाउँपालिकाको (आफू चढ्ने) गाडी आफैँ गुडाएर बिरामी ओसारिरहेका छन्, उनी ।

‘म आफू ड्राइभर पनि हुँ, गाउँपालिकाको कार्यालयमा गाडी हुँदाहुदै नागरिकले उपचार पाउनबाट बञ्चित हुन नपरोस भनेरै आफैँले अस्पतालसम्म पुर्‍याउने गरेको छु’ उनले भने ।

उनकाअनुसार गाउँपालिकाको वडा नम्बर १ मा अस्थायी कोभिड अस्पताल निर्माण भएको छ ।

उनी १ देखि ३ घण्टा समय लाग्ने ठाउँबाट बिरामीलाई लिएर अस्पातलसम्म पुर्‍याउने गर्छन् ।

अन्य समयमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन छर-छिमेकले सहयोग गरेपनि अहिले सबै त्रासमा रहेको र कोभिड सर्ने डरले पछि हटेको उनले बताए ।

‘संक्रमणको त्रास सबैमा छ, छरछिमेकीलाई बोक्नुस् भनेर भन्ने स्थिति छैन त्यसकारण हामीले बोक्नुको विकल्प नै छैन’, उनले सुनाए ।

संक्रमित बोक्दा पनि सरेको छैन कोरोना

उनकाअनुसार मंगलबार गाउँपालिकाका १५१ जनाको पीसीआर स्वाबलाई केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो ।

जसमा ६७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै यसअघि २५६ जनाको ऐन्टिजेन गर्दा ९३ जनाको पोजेटिभ देखिएको थियो ।

राईले दिएको जानकारीअनुसार अहिले गाउँपालिकाभर करिब सय जना सक्रिय संक्रमित छन् ।

‘मेरा पनि परिवार छन् । म पनि मान्छे हुँ डर लाग्छ तर सेना र स्वास्थ्यकर्मीलाई कोरोना सर्दैन भने हामी चाहिँ किन डराउने ?’ उनी सुनाउँछन्, ‘त्यो हाम्रो दायित्व हो जिम्मेवारी हो त्यहाँबाट हामी भाग्नु हुँदैन, हाम्रो आँटले कसैको जीवन बच्छ भने किन नगर्ने ?’

आफैँले बोकेर अस्पताल र आइसोलेसनमा पुर्‍याएकाको रिपोर्ट पोजेटिभ आएपछि आफूलाई अहिलेसम्म संक्रमण नभएको उनले सुनाए । मंगलबार कोरोना परीक्षण गराएका उनले खुसी हुँदै भने, ‘मेरो रिपोर्ट नेगेटिभ आयो ।’

दुई सातादेखि कोराना संक्रमितको रेखदेखमा

त्यसो त गाउँपालिकामा एम्बुलेन्स पनि नभएको भने होइन । गाउँपालिकाको वडा तथा टोलहरुमा एन्टिजेन परीक्षण गर्ने क्रममा केही साताअघि एम्बुलेन्स बिग्रियो ।

यही जेठ १० गते । साबित्रा देवकाटा नाम गरेकी महिलाको अवस्था गम्भीर रहेको भन्दै अध्यक्ष रार्ईको मोवाइलमा फोन आयो ।

‘पीपीई सेट लगाएँ, कार्यालयको गाडी निकालेँ र उनलाई लिन घरमै पुगेँ’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘पछि उहाँलाई कोरोना पोजेटिभ पनि देखियो त्यसपछि म निरन्तर यही काममा खटिरहेको छु ।’

अहिले गाउँमा कोही बिरामी परेमा सिधै अध्यक्षको मोवाइलमा घण्टी बज्छ । उनी समयको प्रवाह नगरी टोलटोलमै पुग्छन् ।

‘माहामारीको अवस्था अत्यन्तै चुनौतीपूर्ण छ, यो बेला हामी जनप्रतिनिधिले नागकिको सेवामा लाग्ने अवसर पनि हो हाम्रो सहयोगले समयमै उपचार हुन्छ ज्यान बच्छ भने किन नगर्ने’ उनले भने ।

यो माहामारीमा अध्यक्ष राईजस्तै देशभरका जनप्रतिनिधि खट्न सके दुर्गम र सुगम सबै क्षेत्रका सर्वसाधरणलाई केही राहत महशुस हुने थियो।

तस्वीरहरू: दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय खोटाङ 

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : ५२ बजे

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान

इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको