गण्डकी प्रदेश सभाको भविष्य जनमोर्चाका सांसदमा निर्भर | Khabarhub Khabarhub

गण्डकी प्रदेश सभाको भविष्य जनमोर्चाका सांसदमा निर्भर



पोखरा– सत्तारूढ नेकपा एमालेको आन्तरिक द्वन्द्वका कारण विघटनको संघारमा उभिएको गण्डकी प्रदेशसभाको भविष्य जनमोर्चाका सांसदको विवेकमा भर पर्ने देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनमा २९ मत रहेकाले जनमोर्चाको २ मत निर्णायक हुनेछ ।

जनमोर्चाका सांसदको स्थिति प्रष्ट नहुँदा ठूलो दलका नेताको हैसियतमा दोस्रो पटक वैशाख २९ गते मुख्यमन्त्री पदको शपथ लिएका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउने र विपक्षी गठबन्धनले पनि बहुमत सिद्ध गर्न नसक्ने सम्भावना बलियो बन्दै गएको छ ।

मुख्यमन्त्री गुरुङले शपथ लिएको भोलि, जेठ २७ गते, एक महिना पुग्दैछ । गुरुङले अन्तिम दिन बिहीबार विश्वासको मत लिन मङ्गलबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा हालसम्म दलहरुबीच गणित मिलेको छैन ।

अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धन राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण असफल भएको थियो ।

गत वैशाख १३ गते शुरू भएको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान हुने बेलामा जनमोर्चाका सांसद शाही एकाएक बेपत्ता भएपछि बैठक स्थगित गरिएको थियो । पछि शाही पोखराको चरक अस्पतालको आइसीयू कक्षमा भेटिएका थिए ।

विशेष अधिवेशन स्थगन भएकै अवधिमा प्रदेश प्रमुख रहेका माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गर्दै सीता पौडेल प्र्रमुख नियुक्त नियुक्त गरिएकी थिइन् । अविश्वास प्रस्तावमाथि फेरि वैशाख २७ मा मतदान हुने तयारी गर्दा मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

गुरुङको राजीनामापछि जनमोर्चाका अर्का सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सघाउने पार्टी निर्णय अस्वीकार गरेपछि दोस्रो प्रयास पनि असफल भएको थियो । विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसक्दा ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

जनमोर्चा नै निर्णायक

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन अथवा विपक्षी गठबन्धनले बहुमत पु¥याउन राष्ट्रिय जनमोर्चा नै निर्णायक देखिएको छ । पार्टीको निर्णय नमानेको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी सांसद पद खोसिएका थापालाई सर्वोच्च अदालतले थमौती दिएपछि गुरुङ नेतृत्वको सरकार बचाउन वा ढाल्न जनमोर्चा नै निर्णायक देखिएको हो ।

थापाको सांसद पद खोसिँदा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना बढेको थियो । अदालतबाट थापाको पद थमौती भएपछि फेरि अनिश्चितता बढेको हो । थापाले आफू मुख्यमन्त्री गुरुङविरुद्ध विपक्षी गठबन्धलाई नसघाउने अडानमा कायमै रहेको बताएका छन् ।
बाग्लुङबाट निर्वाचित एमाले सांसद इन्द्रलाल सापकोटा माधव नेपालका पक्षमा छन् । उनले पार्टी निर्देशन अवज्ञा गरेमा विपक्षीलाई बहुमत पुग्न सक्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत चाहिन्छ । सत्तारूढ नेकपा एमालेसँग २७ मत छ । खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित एमालेको पक्षमा २८ मत छ ।

जनमोर्चाका सांसद थापाले एमालेलाई सघाउँदा २९ मत पुग्नेछ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रका सभामुखसहित १२ मत पक्का छ । जनमोर्चा २ जना र जसपाका २ जना सदस्य छन् । सभामुखले दुवैतर्फ बराबरी मत परेको अवस्थामा मात्रै मत दिन पाउने व्यवस्था छ ।

मुख्यमन्त्री गुरुङले जसपाका दुई जना सांसदलाई मन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा ल्याउने प्रयत्न गरेका छन् ।

सो प्रयासलाई लक्षित गर्दै जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई दिनअघि ट्वीट गर्दै ‘मन्त्री पदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्धत भइरहेको’ भन्दै खबरदारी गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ११ बजे

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी