विश्वविख्यात साहित्यकार आन्द्रेई जिद साहित्यका सबै विधामा उत्तिकै सुन्दर ढङ्गले कलम चलाएर नोबेल पुरस्कार जित्ने लेखक हुन् ।
यिनले साहित्यका उपन्यास, नाटक, जीवनी, समालोचना, आत्मकथा, यात्रासंस्मरण विधाका दुई दर्जभन्दा बढ्ता कृतिहरु विश्व वाङ्मयलाई प्रदान गरेर अविष्मरणीय गुन लगाएका छन् ।
उनले आफ्ना कृतिहरुमा पात्रहरुको स्वानुभूतिको जीवनन्त प्रस्तुतिलाई मुख्य रुपमा महत्व प्रदान गरेका छन् । आफ्ना रचनाबाट उनले नैतिक आदर्शको खेतीमात्र गरेनन्, साहित्यमा कलात्मक सौन्दर्यको प्रकटीकरणमा बढी ध्यान दिए । जीवनका वास्तविकताहरुलाई कुनै पाखण्डका बर्का नओढाइ बाहिर उतारिदिन्थे ।
उनको बेजोड साहित्य लेखनले सन् १९४७ को नोबेल पुरस्कार पाएका यी लेखकको जन्म सन् १८६९ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । यिनी एक शिक्षित परिवारमा जन्मेका थिए । यिनका पिताजी पेरिस विश्वविद्यालयमा कानुनका प्रोफेसर थिए । तर दुःखको कुरा यिनी आठ वर्षको हुँदा नहुँदै पिताजीको मृत्यु भयो । बाबु मरे पनि आमाको ममतामयि काखमा हुर्किए । स्कुल पढ्दै खेरी साथीहरुको सङ्गतले साहित्यतिर लहसिँदै गए ।
उनले पहिलोचोटि चौबीसवर्षको उमेरमा अफ्रिका भ्रमणमा गए । यो भ्रमणले यिनको साहित्यलेखनको अन्तर्दृष्टिलाई ज्यादै फराकिलो बनाइदियो । तेह्र वर्षको उमेरमा आफ्नी भतिजीसित प्रेमजालमा परेका यिनले पच्चीस वर्षको उमेरमा उसैसित विवाह गरे ।
हामी नेपालीहरुको संस्कृतिसँग बेमेल राख्ने घटना भए पनि उनीहरुको समाज र संस्कृतिले यसलाई सहज रुपमा लिइदियो । फेरि यिनले आफू समलिङ्गी भएको कुराले खुल्ला रुपमा स्वीकारे । यसै कारण यिनको नैतिक चरित्रमा प्रश्न उठ्यो । जसले गर्दा अलि छिटो पाउने नोबेल पुरस्कार ढिलो पाए ।
यिनले समाजका निम्न तहका मानिसहरुका आवाज र आकांक्षालाई साहित्यको माध्यमबाट मुखरित गरिदिए । एकसमय यिनले आफूलाई कम्युनिष्ट (बामपन्थी) घोषणा गरेर विवादित बन्ने काम पनि गरे । दोस्रो विश्वयुद्धको अन्ततिर उनी उत्तर अफ्रिकामा स्वनिर्वासित जीवन बिताए र युद्धको अन्त्य भएपछि फेरि पेरिस फर्केर आए । लेखेरै चर्चित र सम्मानित भएका यी लेखकको निधन सन् १९५१ मा पेरिसमा भयो ।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया