मातृस्मृतिमा उत्कृष्ट एउटा आख्यान | Khabarhub Khabarhub

मातृस्मृतिमा उत्कृष्ट एउटा आख्यान



प्रायः म पुस्तक पसलतिर चहारिरहन्छु । पत्रपत्रिकामा पढिएका समीक्षा तथा टिप्पणी, साथीभाइबाट सुनेका चर्चा, पुस्तकको आवरण रहेका सङ्क्षिप्त टिप्पणी, पुस्तकमा लेखिएको भूमिका आदि नै मेरा लागि पुस्तक छनौटका आधार हुन् । यसबाहेक पेसागत आवश्यकता, भ्रमण अवधिको चिनो, व्यक्तिगत सामीप्य र कहिलकाहीँ पुस्तकको नाम र लोभलाग्दो बाहिरी आवरणको आकर्षण पनि पुस्तक छनोटको आधार हुन्छन् ।

पुस्तक पसल चहार्ने क्रममा एक दिन भोटाहिटीको नेसनल पुस्तक भण्डारका दराजहरूमा पुस्तक हेर्दै थिएँ । कालो पृष्ठभूमिको बीचमा चम्किलो ज्योति समेटिएको आकर्षक पृष्ठभाग भएको ‘स्यानी’ शीर्षकको किताबमा मेरा नजर ठोक्कियो । तत्क्षण पुस्तकका लेखकको नाम हेरेँ–चिरपरिचित र प्रिय लेखक खगराज बराल । पुस्तकको नामअनुसार अनुमान गरेँ– यो पक्कै मेरो एउटा मुख्य चासोका क्षेत्र बालबालिकाबारे लेखिएको पुस्तक नै हुनुपर्छ । हठात् दराजबाट झिकेर हेरेँ । मेरो अनुमान विपरीत उपन्यास पो रहेछ ।

यसअघि उनका विविध विधामा केही पुस्तकहरू मैले पढेर टिप्पणी समेत लेखेको थिएँ । उनले उठाएका विषय, अभिव्यक्तिको शैली र शब्दबाट म सदैव प्रभावित छु । किताब टिपिहालेँ र घर आएर पढन थालेँ ।

श्रमिक बरालको नाममा साहित्यिक सिर्जनामा रमेका पूर्वसचिव तथा शिक्षाविद् खगराज बरालको यो कृति मातृस्मृतिमा रचिएको उत्कृष्ट शोककाव्य हो । पूरै उपन्यास कारुणिकताले भरिएको छ । आमाको निधन र अन्त्येष्टिको अवधिमा आफ्ना अन्तरमनमा छचल्किएका बाल्यस्मृति र शोकाकुल अवस्थामा उब्जिएका मनोभावहरू समेटेर परिष्कृत, मर्मस्पर्शी शैलीमा लेखकले पाठकसामु यो उपन्यास पस्केका छन् ।

आमाको अप्रत्यासित मृत्युको खबर पाएपछि अस्तपाल, घर, घाट र अन्त्येष्टि संस्कारको अवधिभित्र लेखकको पूर्वस्मृतिको कथानकमा यो उपन्यास टुङ्गिएको छ । हाम्रो मृत्यु संस्कारको तेह्र दिनलाई आधार बनाएर पुस्तकमा पनि तेह्र खण्ड छन् । हरेक खण्ड आमाको निधन र मृत्यु संस्कारको प्रसङ्गबाट प्रारम्भ हुन्छ र बीचमा बाल्यकालसँगै आफ्नी आमासँग जोडिएका जीवन्त स्मृतिहरू आउँछन् । अन्त्यमा फेरि प्रसङ्ग वर्तमानमा नै आइपुग्छ ।

पुस्तकको अन्त्यमा उल्लिखित पटुकीमा आँसी र हातमा नाम्लो लिएर आमा टुप्लुक्क आई पो पुग्छिन् कि भन्ने प्रसङ्गले हरेक पाठकलाई यस्तरी हल्लाउँछ कि अश्रूपूरित हुनबाट कोही बच्नै सक्दैन । वास्तवमा मत्यु नटालिने यथार्थ भए पनि आमाको मृत्युलाई सन्तानको हृदयले कहिल्यै सकार्न सक्दैन भन्ने सत्य यो भनाइले उजागर गरेको छ ।

आमाको निधनको दुःखद् खबरयुक्त फोनबाट प्रारम्भ भएको यो उपन्यासको प्रारम्भिक खण्ड कुनै पनि पाठकले नेत्र प्लावित नगरी पठन गर्न सक्दैनन् । उपन्यास पढ्दा आमा गुमाएका पाठकहरूलाई यो कथा आफ्नै आमाको अर्थात् आफूले भोगेको कथा हो भन्ने लाग्छ भने आमाको साथमा रहेका पाठकहरू कुनै न कुनै दिन आउने मातृवियोगको त्यो क्षण सम्झेर भाव विह्वल हुन्छन् ।

उपन्यासको अर्को विशेषता के छ भने उपन्यासकी केन्द्रीय पात्र ‘स्यानी’ लेखककी आफ्नै माता हुन् भने लेखक यसको समख्याता मात्र नभएर आफैँ कथानकका पात्र पनि हुन् । आफ्नै कथा यस्तो हृदयस्पर्शी औपन्यासिक कृतिको रूपमा पस्कन सक्नु लेखकको अब्बल सिर्जनात्मक खुबी र शब्दशैली नै हो । मलाई लाग्छ कि यो उपन्यास प्रारम्भ गरेपछि लगालग अन्त्यसम्म नपढी कसैले आफूलाई रोक्न सक्दैन ।

उपन्यासको मूलकथा मातृ स्मृति नै हो । पूरै उपन्यास कारुणिक प्रसङ्ग र भावले भरिएको छ तथापि कतिपय स्थानमा पाठकले मज्जाले हाँस्ने मौका पनि पाउँछन् । पत्र पाउने र पठाउनेको नाम लेख्दा गरिएको गल्तीले आफ्नै पत्र फर्किएर आफैँकहाँ आएको प्रसङ्ग, पिताले देवी भागवतको किताब लिएर आउन अह्राउँदा देवी नाम गरेकी छिमेकी केटीको किताबको झोला बोकेर आएको जस्ता प्रसङ्गले खुब हसाउँछन् ।

उपन्यासमा विभिन्न पुराणका प्रसङ्गसहित गरुड पुराणको विषय विस्तारमा प्रस्तुत गरिएको छ । पौराणिक प्रसङ्गलाई व्यावहारिक ज्ञान, आचरण, अनुशासन र नैतिक मूल्यको रूपमा ग्रहण गरी आवश्यक मात्रामा परिमार्जनसहित अनुकरण गर्न उचित हुने सुझाब लेखकको छ ।

उपन्यासमा स्थानीय चाडपर्व, संस्कार, विवाह–ब्रतबन्धका विधि, स्थानीय प्रचलन र अभ्यासका विषयहरू प्रशस्त उल्लेख भएका छन् । ठिकठिक प्रसङ्ग मिलाएर प्रयोग भएका स्थानीय उखान टुक्का, लोकोक्ति, जनविश्वास, गीत, भजन आदिले उपन्यासलाई आकर्षक र चखिलो बनाएका छन् । वास्तवमा उपन्यासले एउटा गाउँले जनजीवनको सजीव, सिङ्गो र यथार्थचित्र उतारेको छ । यी विषयहरू नयाँ पुस्ताका लागि आफ्नो विगत जान्न अनमोल निधि समेत हुन सक्छन् ।

आमाको निधन अप्रिय घटना हो । वियोगको वेदना सबैका लागि बराबर भए पनि शब्दमा अभिव्यक्त गरेर अरुका सामुन्ने पुर्‍याउनु चाहिँ सबैलाई सहज हुँदैन । त्यही असहज काम कलात्मक ढङ्गले गरेका छन् खगराज बरालले ‘स्यानी’ मा ।

उपन्यासको अर्को विशेषता यसको प्रयोग भएको स्थानीय लवज हो । संवादहरूमा गण्डकी र धवलागिरि अञ्चल क्षेत्रमा प्रयोग हुने स्थानीय लवज छ । मलाई लाग्छ– त्यो प्रस्तुतिमा त्यही क्षेत्रको पाठकले हामी अन्य क्षेत्रका पाठकले भन्दा अझ बढी रसस्वादन गर्न सक्छन् ।

दाईं र रत्यौलीमा गाइने गीतमार्फत गरिएका घोचपेच तथा हँसीमजाकयुक्त संवादहरूले पनि उपन्यासको रोचकता बढाएका छन् । भीरबाट भैँसी लड्दा अनुभूत गरिएको पीडाले वास्तवमा पाल्तु जनावरहरूलाई परिवारका सदस्य जस्तै माया गर्ने हाम्रो पशुमैत्री संस्कार उजागर भएको छ । घरका जन्तु, जनावरमात्र होइन; घरमुनिको चिन्नेको बोट, खेत खलियान, जङ्गल, बाटो, धारोपँधेरो, नदीखोलाहरूका स्मृतिहरू पनि कारुणिक र मन छुने खालका छन् ।

जन्मका हिसाबले लेखक माइलो छोरो भए पनि घरमा सबैले कान्छो भन्ने गरेकाले कान्छो नै भनिन जिद्दी गरेको प्रसङ्ग पनि निकै रोचक छ । कान्छो सन्तान स्वाभाविकरूपमा मातापिता र घरका ठूलाबडाको बढी मायाको हकदार हुने व्यावहारिक प्रचलन भएकाले पनि होला, लेखकको बालमस्तिष्कले आफूलाई माइलो हुने कुरा अस्वीकार गर्दै कान्छो भनिन रुचाएको हुनुपर्छ ।

ठाउँ ठाउँमा जोडिएका बाल बिठ्याइँ, जिरह र हरेक विषयमा निस्केका अन्तहीन बाल जिज्ञासाका प्रसङ्गले पुस्तकलाई सामाजिक यथार्थको धरातलमा उभ्याउन बल पुर्‍याएका छन् । लेखकले ग्रामीण समाजमा महिलाले भोगेका पारिवारिक दुःख, सामाजिक विसङ्गति र विभेदका विषयहरू पनि उठान गरेका छन् ।

उपन्यासमा अन्धविश्वासपूर्ण अभ्यासका थुप्रै प्रसङ्गहरू छन् । कुनै शारीरिक खोट नभएको पुत्र भएकाले नबाँच्ने अनुमानका साथ कानमाथि मुन्द्रा लगाएर खोटी बनाएको, बचाउनकै लागि सुनार र जोगिनीको काखमा दिएर तिनको छोरा बनाएको, विभिन्न सन्दर्भमा गरिएका भाकल, बराल परिवारलाई खोला नफाप्ने भय, भूतप्रेत, ज्योतिषी र झाँक्री देवतामाथिको भरोसाजस्ता थुप्रै अन्धविश्वासका प्रसङ्गहरू उपन्यासमा आउँछन् ।

ती सबै विश्वास र अभ्यासहरू हाम्रा स्थानीय समाजका धरातलीय वास्तविकता भएकाले तिनले उपन्यासलाई ग्रामीण यथार्थसँग कसिलो नाता बनाइदिएका छन् । सपना र तिनको संयोगको प्रयोग पनि प्रासङ्गिक छन् ।

उपन्यासमा प्रयोग भएका स्थानीय लवज र शब्दले निःसन्देह आञ्चलिक रौनक बढाएका छन् तर मजस्ता त्यो क्षेत्रभन्दा बाहिरका पाठकका लागि कतिपय शब्दहरू दुज्र्ञेय छन् ।

एउटा पाठकको रूपमा कथाभावमा सहजै अघि बग्न कुनै सङ्कट नपरे पनि सुजेराँ, दर्कुनो, बेडुलो, एक्वार एक्वार, टुबो, कडुवा, थर्कटी, भजालो, बान्ना, इस्वरा, दँधेरा लगायतका थुप्रै ठेट शब्दहरूको सोझो र सपाट अर्थ बुझ्न कठिन पर्छ । यस्ता शब्दहरूको अर्थ पाद टिप्पणीमा समावेश हुने हो भने सुनमा सुगन्ध हुने थियो ।

समग्रमा आख्यानकार बरालको उपन्यास ‘स्यानी’ हृदयस्पर्शी र पठनीय छ । लेखकका अरू थुप्र आख्यान र गैरआख्यान कृतिहरू पढिरहन पाइयोस् ।

कृति : स्यानी

विधा : उपन्यास

लेखक : खगराज बराल

संस्करण : पहिलो (२०७७)

प्रकाशक : साङ्ग्रिला बुक्स प्रा.लि.

पृष्ठ : २५७

मूल्य : रु ४७५

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : १५ बजे

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)

तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी

सन् २०२४ : को बने वर्षका खेल नायक ?

वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा

काठमाडौंसहित देशभर मौसम बदली, ठाउँठाउँमा वर्षा

काठमाडौं– आज काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात

हुम्ला– हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार