काठमाडौं – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डीसीसीएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरूले व्यवस्था गर्ने भएका छन् ।
सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।
रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।
बैठकमा विज्ञहरुलाई पनि बोलाएर सुझाव लिइएको र सबैका सुझावका आधारमा सीसीएमसीले अन्तिम प्रस्ताव तयार पारी मन्त्रिपरिषद बैठकमा पेश गरेपछि मात्र निर्णय हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन सबैलाई अपिल समेत गरेको छ ।
मन्त्री गुरुङले नेपाल प्रेससँग भने- बिभिन्न सुझाव र प्रस्तावमाथि छलफल भएको छ । अब एकमुष्ट रुपमा सीसीएमसीले प्रस्ताव तयार गर्छ र मन्त्रिपरिषदले निर्णय गरेपछि कुन कुन क्षेत्रमा कस्तो मापदण्ड लागू गर्ने भन्ने सार्वजनिक हुनेछ ।
बैठकमा उपस्थित कतिपय विज्ञले नाइट क्लब, सिनेमा घर,शैक्षिक संस्था जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका छन् । तर सरकारले अहिले नै पूर्ण रुपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन । शहरी क्षेत्रका शैक्षिक संस्था भने कम्तिमा तीन साता बन्द गर्ने प्रस्ताव अघि बढाइएको छ ।
यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ ।
कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ ।
प्रतिक्रिया