तिनाउ नदीमा अनियन्त्रित दोहन, बस्ती जोखिममा | Khabarhub Khabarhub

तिनाउ नदीमा अनियन्त्रित दोहन, बस्ती जोखिममा



बुटवल– जेठ महिनाको मसान्त नजिकिँदै गर्दा रुपन्देही हुँदै बग्ने नदी–खोलामा चरम दोहन बढेको छ । डोजर र एस्काभेटर लगायतका हेबी इक्युमन्ट प्रयोग गर्दै मापदण्ड विपरित नदी–खोलामा बालुवा, गिटी र ढुङ्गा निकालिने गरेको छ ।

जेठ लागेपछि नदी र खोलामा बालुवा, गिटी र ढुङ्गा निकाल्ने र ओसार्ने साधानहरुको लर्को लागेको छ । बुटवल उपमहानगरपालिका–११ को प्रगतिनगर बस्तीनजिकै एकै पटक ५ वटा डोजर चलाएर नदीमा उत्खनन भइरहेको छ ।

गत वर्ष पनि बस्तीनजिकै नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । वर्षायाममा तिनाउ नदीले वहाव परिवर्तन गरेर बस्तीका केही घर नै बगाएको थियो । केही दिनअघि भएको भारी वर्षामा उर्लिएर आएको तिनाउले जमिन कटान गर्दा बस्ती थप जोखिममा परेको छ ।

अहिले सोही जोखिम क्षेत्र नजिकै फेरि ५ वटा डोजर चलाएर नदीजन्य पदार्थ उत्खनन गर्ने काम भइरहेको छ । अनियन्त्रित उत्खननले बस्ती जोखिममा परेको दुर्गा भवानी टोल विकास संस्थाका अध्यक्ष नरसिंह रावलले बताए ।

‘हामीले बस्ती जोखिमा पर्‍यो भनेर पटक पटक बुटवल उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा जानकारी गरायौँ,’ उनले भने, ‘नदीमा तटबन्धन पनि भएन, बरु बस्तीलाई नै जोखिम हुने गरी उत्खनन भएको छ ।’

नदी नजिकका बासिन्दाहरुले बस्ती खतरामा रहेको कुरा जानकारी गराउँदै तटबन्ध गरिदिन स्थानीय सरकारसमक्ष माग राखेका छन् तर जोखिमको क्षेत्रनजिकै यस वर्ष पनि बालुवा निकाल्ने काम भइरहेको छ । अनियन्त्रित उत्खननले नदी गहिरिँदै गएको छ । वर्षा याममा नदीले वहाव परिवर्तन गर्दा देवीनगरको प्रगतिनगर बस्ती नै जोखिममा परेको स्थानीय सूर्यबहादुर विश्वकर्माले बताए ।

‘हाम्रो घर तिनाउको किनारमा छ,’ उनले भने, ‘नदी गहिरो हुँदै गएको छ, पोहोर पनि जमिन कटान भयो, अब घरनजिकै आएको छ, यस वर्ष बाँच्न गाह्रो छ ।’

जेठ महिनामा तिनाउ र दानव नदीमा उत्खननका लागि ठेक्का खुलेपछि नदीजन्य पदार्थ निकाल्न शुरू भएको हो । स्थानीय सरकारहरुले ठेक्का प्रक्रियाबाट नदीजन्य पदार्थ निकासको लागि अनुमति दिने गरेका छन् ।

जेठ मसान्तसम्म उत्खनन् गर्न पाइने भएकोले समय सकिन लाग्दा चरम दोहन बढ्दै गएको छ । स्थानीयवासी वीरबहादुर गरबुजाले भने, ‘नदी गहिरो हुँदै गएको छ, हाम्रो बस्ती बगाउन लागेको छ । स्थानीय प्रशासन, उपमानगरपालिका र वडालाई उत्खनन रोक्न आग्रह गरे पनि कतैबाट सुनुवाइ भएन ।’

वातावरणीय प्रभाव मूल्यांकनअनुसार अहिले उत्खनन भइरहेको क्षेत्रमा १ दशमलव ८० देखि २ दशमलव २० मिटर गहिराइसम्म नदीजन्य पदार्थ झिक्न मिल्छ भनिएको छ । अहिले सरकारी निकायबाट अनुगमन नहुँदा तीन मिटरसम्म गहिराइमा बालुवा निकालिएको छ ।

दुई किलोमिटरभन्दा बढी लम्बाइमा लस्करै चार जना ठेकेदारले बालुवा निकाल्ने गरेको स्थानीय चूडामणि पोखरेलले बताए । वातावरणीय प्रभाव मूल्यांकन नभई जथाभावी उत्खनन बढ्दै जाँदा पानीको मुहान सुक्दै गएको उनको भनाइ छ ।

स्थानीयतहले जथाभावी उत्खननको अनुमति दिँदा नदीको अस्तित्व मेटिँदै गएको उनले बताए । स्थानीय सरकार आएपछि पछिल्ला तीन वर्षमा नदीमा मनपरि दोहन बढ्दै गएको पोखरेलको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाको डिङ्गानगर, मगरघाट, हरिहरपुर र बुटवलको रङ्गशाला नजिक, मोतीपुर क्षेत्र लगायतमा दुई दर्जन भन्दा धेरै डोजर र एस्काभेटरले ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्खननको लागि अनुमति दिएका स्थानहरुमा अनुगमन भइरहेको बताए । मापदण्ड विपरित उत्खनन गरेकालाई कारबाही गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १ : ५६ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा