काठमाडौँ– भारतीय सिने क्षेत्रमा एक जमानाका सुपर स्टार अभिनेता दिलीप कुमारको निधनपछि अभिनेत्री वाहिदा रहमानले दिलीप कुमार कुनै डाइलग नबोलीकनै अभिनयले मात्र आफ्ना सबै कुरा बुझाउने खुबी भएको प्रतिक्रिया दिएकी छिन् । वाहिदाले दिलीप कुमारसँग पाँच वटा सिनेमामा अभिनय गरेकी थिइन् ।
वाहिदाको विचारमा भारतीय सिने क्षेत्रले दिलीप कुमारकै स्तरको अर्को कलाकार पाउने सम्भावना दुर्लभ छ ।
दिलीप कुमारपछिका सुपर स्टार अमिताभ वच्चनले दिलीप कुमारको निधनबाट ‘एउटा इन्स्टिच्युट’ को अन्त्य भएको प्रतिक्रिया दिएका छन् । अमिताभका विचारमा भारतीय सिने क्षेत्रको इतिहास लेख्दा सधैँ ‘दिलीप कुमारभन्दा अघि र दिलीप कुमारभन्दा पछि’ भन्ने सीमारेखा कोरिनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिलीप कुमारको निधनलाई भारतीय सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भनेका छन् ।
लेखक मेघानन्द देसाई दिलीप कुमारलाई हलिउडका मार्लोन ब्रान्डो र इटालीका मार्सेलो मास्टरोनीसँग तुलना गरेका छन् । देसाईका अनुसार स्टारडमको आधारमा दिलीप कुमारभन्दा माथिल्लो उचाइमा अन्य भारतीय कालाकार पनि पुगेका छन् तर सबैभन्दा राम्रो कला दिलीप कुमारकै हो । देसाईले दिलीप कुमारको बायोग्राफी लेखेका छन् ।
पछिल्लो पुस्तामा छाएका अभिनेता साहरूख खानले आफू दिलीप कुमारको प्रभावले अभिनयमा लागेको बताएका थिए ।
‘ट्रेजेडी किङ’ को छवि बनाएका दिलीप कुमार कमेडी भूमिकामा पनि सफल थिए ।
यी सर्वकालीन महान अभिनेताको निधनले भारतीय कला क्षेत्रलाई शोकाकुल तुल्याएको छ । दिलीप कुमारको जन्म हाल पाकिस्तानमा पर्ने पेसावरमा सन् १९२२ मा भएको थियो । उनको नाम ‘युसुफ खान’ थियो । फिल्मी क्षेत्रका अन्य केहीले जस्तै उनले पनि भारतीय सिने उद्योगमा सक्रिय हुने क्रममा हिन्दु नाम ‘दिलीप कुमार’ राखेका थिए ।
उनले सन् १९४४ मा ‘ज्वारभाटा’ मार्फत फिल्मी क्षेत्रमा पाइला टेकेका थिए । सन् १९४९ मा रिलिज भएको ‘अन्दाज’ उनको पहिलो सुपर हिट सिनेमा थियो । त्रिकोणीय प्रेम कथामा आधारित अन्दाजमा नर्गिस र राज कपुरको पनि अभिनय थियो । यी तीन नाम भारतीय सिने जगतमा तहल्का मच्चाउन सफल भए ।
अहिले पनि ‘मेला’, ‘नयाँ दौड’, ‘गङ्गा जमुना’, ‘देवदास’ र ‘मुगल इ अजाम’ हेर्ने जो पनि दिलीप कुमारको अभिनयले लठ्ठै पर्छन् । प्रायः दुःखीयाको भूमिकामा देखिने दिलीप कुमार भलादमी बङ्गाली, निम्न आयस्तर भएको तथा गाउँले परिवेशको भूमिकामा छाउँथे । सन् १९७० को दशकमा भने उनी यदाकदा सहअभिनेताको भूमिकामा पनि देखापरेका थिए ।
दिलीप कुमारले फिल्मबाट राजनीतिक र सामाजिक चेतना जगाउने प्रयास पनि गरे । उनले प्रतिष्ठित सिने अवार्ड र भारतीय नागरिकले पाउने सबैभन्दा ठूलो पदक ‘पद्म भूषण’ पाएका थिए ।
इतिहासले सधैँ सम्झने एउटा महान कलाकारसँगको सहकार्य धेरैका लागि स्मरणीय हुन्छ । उनको निधनको लगत्तै उनीसँगै बिताएका क्षणहरू र सहकार्यको अनुभव धेरैले व्यक्त गरेका छन् । त्यसो त उनी कति उत्कृष्ट कलाकार थिए भन्ने कुरा ‘फिल्म फेयर अवार्ड’ मा ८ पटक उत्कृष्ट अभिनेता घोषित हुनुले नै प्रस्ट पारेको छ ।
लाला गुलाम सरवार खान र अयशा बेगमका १२ सन्तानमध्येका एक थिए दिलीप कुमार । उनका बाबुले पहिले पेसावरमा र पछि नासिकमा बगैँचामा काम गरे । नासिकमा बाल्यकाल बिताउने क्रममै दिलीप कुमारको राज कपुरसँग दोस्ती भएको थियो ।
सन् १९४७ को ‘जुग्नु’ ले आंशिक सफलता पाएपछि दिलीप कुमारको स्टारडम शुरू भएको थियो । जियान नुरसँगको यो अभिनयपछि दिलीप कुमार रुचाइएका अभिनेता भए । सन् १९४८ को ‘सहिद’ र ‘मेला’ पछि उनको करियरको ब्रेक थ्रुको रूपमा ‘अन्दाज’ आयो ।
यसपछि दिलीप कुमारका एक से एक हिट सिनेमको ताँती लाग्न थाल्यो । सन् १९५० मा ‘जोगन’ र ‘बबुल’ पछि १९५१ मा ‘दिदार’ र ‘तराना’ तथा १९५२ मा ‘दाग’ र ‘सांगदी’ हिट भए । सन् १९५० को अन्त्य उनका लागि फलिफाप भयो । सन् १९५५ को ‘देवदास र सन् १९५७ को ‘नयाँ दौड’ ले अहिले पनि धेरैलाई मोहित पार्छ ।
एक से एक सफल फिल्ममा अभिनय गरेका दिलीप कुमार आफूलाई पात्रमा समाहित गर्थे । कलात्मक अभिनयका कारण सबैलाई मोहित पार्ने यी वियोगान्त किङ दिलीप कुमारको मानसिक स्वास्थ्यमा समस्या देखापर्न थालेको थियो । डिप्रेसनबाट मुक्त हुन उनले हल्काफुल्का रमाइलो भूमिकामा पनि अभिनय गर्न थाले ।
यसैको उपज थियो सन् १९५५ मा रिलिज भएको ‘आजाद’ । यसमा उनी चोरको भूमिकामा कमेडियन देखिएका थिए । उनले ५० को दशकमै १ लाख डलर पारिश्रमिक मागे पनि निर्माताहरू उनलाई पाउन मरिहत्ते गर्थे ।
सन् ६० को दशकको ऐतिहासिक सिनेमा ‘मुगल इ आजाम’ उक्त समयको सबैभन्दा महँगो थियो । दिलीप कुमार युवराज सलिमको भूमिकामा थिए । अकबर राजाको भूमिकामा पृथ्वी राज कपुर थिए । मधुवाला नायिका थिइन् । धेरै जसो श्यामश्वेत र केही भाग रङ्गीन
‘मुगल इ आजाम’ सन् २००४ मा रङ्गीन बनाएर प्रदर्शन गरिएको थियो ।
सन् १९७१ मा महँगो सिनेमाको रूपमा ‘हाथी मेरे साथी’ ले उछिनेको थियो । सन् १९७५ मा ‘सोले’ भारतीय सिने उद्योगको सबैभन्दा महँगो सिनेमा थियो । दिलीप कुमारका लागि सन् १९७० को दशक फलदायी भएन । सन् १९७५ मा ‘सोले’ आएपछि अमिताभ वच्चन र धर्मेन्द्रको प्रभावले दिलीप कुमार पछाडि छाडिए । सुपर स्टारका रूपमा अमिताभ वच्चनको उदय भयो ।
दिलीपकुमार सन् १९८१ मा चरित्र अभिनेताको रूपमा देखापरे । धेरै स्टारहरू सहितको ‘क्रान्ति’ ले सफलता पाएपछि दिलीप कुमारका लागि अर्को युग शुरू भयो । ‘क्रान्ति’ एउटा यस्तो सिनेमा थियो जसमा मनोज कुमार, शशी कपुर, हेमा मालिनी र सत्रुघन सिन्हा जस्ता एक से एक स्टारले अभिनय गरेका थिए । भारतीय स्वतन्त्रता सङ्ग्रामको कथामा आधारित ‘क्रान्ति’ दिलीप कुमार एउटा योद्धाको भूमिकामा थिए ।
सन् १९८२ मा ‘विधाता’ मा दिलीप कुमार आफूभन्दा धेरैपछिका सञ्जय दत्त, सञ्जीव कुमार र समि कपुरसँग देखिए । त्यही वर्ष रमेश सिप्पीको ‘शक्ति’ मा अमिताभ वच्चनसँग देखिए । ‘शक्ति’ बाट दिलीप कुमार अन्तिम पटक उत्कृष्ट अभिनेता छानिएर ‘फिल्म फेयर अवार्ड’ पाए ।
सन् १९८४ मा सामाजिक अपराधसँग सम्बन्धित ड्रामा मुभी ‘मसाल’ मा उनी अनिल कपुरसँगै देखिए । बजारमा त त्यो फिल्म सफल भएन । परन्तु, दिलीप कुमारको यो भूमिका सबैले मन पराए । सन् १९९१ मा भेट्रान अभिनेता राजकुमार र दिलीप कुमार दुवै ‘सौदागर’ मा देखिए ।
नब्बेको दशकको यो सुपर हिट ‘सौदागर’ बक्स अफिसमा छाउन मात्र सफल भएन, मनीषा कोइराला र विवेक मुस्रानलाई एकाएक बलिउडमा स्टार बनाइदियो । सन् १९९३ को ‘फिल्म फेयर अवार्ड’ मा दिलीप कुमारले ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड पाए ।
भारतीय सिने जगतको ढुकढुकी बनेका दिलीप कुमारको व्यक्तिगत बीवन भने विवादरहित रहेन । शुरूमा कामिनी कौशल र पछि मधुवालासँग प्रेममा परेका दिलीप कुमारको विवाद अदालतसम्म पुगेको थियो । मधुवाला र दिलीप कुमारले अन्तिम पटक ‘मुगल इ अजाम’ मा सँगै काम गरेका थिए । यसपछि वैजन्ती मालासँग प्रेममा परे । पछि आफूभन्दा २२ वर्ष कान्छी साइरा बानुसँग सन् १९६६ मा बिहे गरे ।
हैदराबादकी सामाजिक अभियानी आस्मा साहिबा दिलीप कुमारकी दोस्री पत्नी बनिन् । यी दुईबीच सन् १९८१ मा बिहे भए पनि सन् १९८३ सम्बन्ध टुटेको थियो ।
दलीप कुमारले सिनेमा खेलेको उनका बाबुलाई मन परेन । बाबुलाई छलेर सिनेमा खेल्ने क्रममा उनले आफ्नो नाम दिलीप कुमार राखेको भनिन्छ । दिलीप कुमारको निधनसँगै भारतीय सिने उद्योगमा एक युगको अन्त्य भएको छ । बाबुलाई छल्न दिलीप कुमार बनेका मोहम्मद युसुफ खान अन्नतः दिलीप कुमार नामले भारतीय सिने जगतमा एउटा युग भए बाँचेँ, करोडौँ मानिसका प्रिय भए ।
दिलीप कुमारको निधन ९८ वर्षको उमेरमा भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि ३० जुनमा अस्पताल भर्ना भएका दिलीप कुमारले यही साता बुधबार बिहान देहलीला त्याग गरे । उनी पत्नी सइरा बानुसँग मुम्बईमा बस्थे । उनीहरूका सन्तान छैनन् । दिलीप कुमार प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया