...त्यसपछि खुशी बोकेर फर्किए समिर | Khabarhub Khabarhub

…त्यसपछि खुशी बोकेर फर्किए समिर


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा थिइन् ।

सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरेको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुगे । राससमार्फत समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाइन् ।

असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गरेकी थिइन् । त्यसपछि बेगम घर फर्किन सफल भएकी हुन् । “अनलाइनमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाइन् ।

प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उनलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा टेलिफोन कुराकानीमा समिरले भने, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”

पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा तिर्‍यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उनले भने ।

सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई रु एक लाख १० हजार उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उनले शय्या छाड्न पाएकी थिइनन् ।

जन्मेपछि पनि एनआइसीयूमा राखेर नवजात शिशुको उपचार गर्नुपरेकाले उपचार खर्च बढेको अस्पताल प्रशासनको भनाइ छ । उक्त विषयमा समाचार प्रकाशित भएको थियो । त्यसको केही घण्टाभित्रै प्रधानमन्त्री पत्नी शाक्यलगायत मनकारीहरूबाट आवश्यक पहल शुरु भएको थियो ।

“तपाईँहरूले मेरो परिवारलाई ठूलो गुन लगाउनुभयो, जिन्दगीमा भुल्दैनौँ, एउटा समाचारले हाम्रो लागि दुनियाँ नै बदलिएको महसुस गर्‍यौँ”, अस्पताल परिसरबाट जुम्ल्याहा बच्चासहित श्रीमती लिएर घर फर्कने क्रममा उनले भने ।

उनले झण्डै ६० देखि ७० हजार तिर्नु नपरेको जानकारी दिए । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समिरको न आफ्नो घर छ र न त काम । दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उनको परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।

पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाए । आफूसँग भएको थोरै पैसा सकेपछि उनी चन्दा सङ्कलनमा लागेका थिए ।

आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरिब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताए । “आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ”, उनले भने । अस्पतालले समाजिक उत्तरादायित्व बहन गर्दै छुट गरेको जनाएको छ । बेगमले आवश्यक सहयोग प्राप्त हुँदा ठूलो खुशी मिलेको सुनाइन् । –रासस

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ११ बजे

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका