यो कुनै गोप्य कुरा होइन कि भर्खरै टिनएजमा प्रवेश गरेकाहरूमा धूमपानको लत बस्ने जोखिम बढी हुन्छ । तर, भर्खरै लान्सेटमा प्रकाशित एक रिसर्चमा यसमा कडा असहमति जनाउँदै संसारका रहेका एक अर्बभन्दा बढी धूमपान गर्नेहरूमा टिनएजको अन्त्यमा मात्र यो लत शुरू भएको जनाइएको छ । पछिल्लो दुई वर्षयता १५ वर्ष पूरा भएका हरेक ५ जनामध्ये एक जनामा निकोटिनको लत छ ।
धूमपान गर्ने चलन विश्वव्यापी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धूमपान गर्ने मध्येका ८० प्रतिशतभन्दा बढी मानिस निम्न तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन् । यस्ता देश धूमपान नियन्त्रणमा निकै पछाडि छन् र धूमपानसँग सम्बन्धित मृत्यु दर पनि बढ्दैछ ।
योभन्दा फरक, धनी देशमा धूमपान नियन्त्रण गर्ने बलिया आधार छन्, जसले ती ठाउँमा धूमपानको दर घटाएको छ । धूमपान दर जेन्डर अनुसार पनि फरक रहेको छ ।
धेरै देशहरूमा पुरुषहरूमा धूमपान दर महिलाको तुलनामा बढी छ । कुल गार्हस्थ उत्पादन र भूगोलले धूमपान दरलाई खासै फरक नपारे पनि जेन्डरको आधारमा रहेको यो भिन्न दर भने सबै ठाउँमा उत्तिकै रहेको छ ।
धूमपान गर्ने व्यक्ति विशेषलाई औँलो ठड्याउन मन लाग्छ तर यसमा हाम्रै संस्थाहरू आरोपका भागीदार छन् । सुर्तीका उद्योगले बच्चाको पुस्तालाई कुलतमा लगिरहेको समयमा सरकार भने त्यसबाट बचाउने खालको नीति बनाउने कुरामा एकदमै सुस्त रहेका छन् ।
विश्वव्यापीरूपमै सुर्तीजन्य कम्पनीले एकै खालको व्यापारको मोडल अपनाएका छन्, कम उमेरमै बच्चालाई उनीहरूको आदत बस्ने उत्पादनमा फसाउने गरेका छन् । यसबाट उनीहरूले जीवनभर धूमपान गर्ने सम्भावना बढी हुन्छ ।
‘क्याम्पेन फर टोबाको फ्री किड्स’ को रिपोर्टमा २३ देशका सुर्तीजन्य पदार्थका उत्पादक कम्पनीको गतिविधि नियाल्दा यो पाइयो कि ‘विश्वका सुर्तीजन्य वस्तु उत्पादनका कम्पनीहरूले बच्चाहरूमाथि नै लक्षित गर्दै विज्ञापनमा बढवा दिनुका साथै प्राथमिक तथा माध्यमिक विद्यालयका छेउमा उत्पादन गरिरहेका छन् ।’ यो कार्यनीति अन्तर्गत बच्चामैत्री स्वाद राख्छन्, आँखा लोभ्याउने विज्ञापन गर्छन् र यत्रतत्र सुलभ ढङ्गले वितरण गर्छन् ।
सुर्तीजन्य कम्पनी तथा यिनले प्रयोग गर्ने शोषणकारी कार्यनीतिबाट बचाउन सरकारले सक्रिय रूपमा लागु गर्नसक्ने केही प्रभावकारी र प्रमाणित नीति छ । नीति लागु गर्न भने धेरै ढिला भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले धूमपान नियन्त्रण गर्ने ६ वटा विशेष उपायहरू पत्ता लगाएको छ, जुन धूमपान घटाउन र प्रयोगबाट रोक्न प्रभावकारी पुष्टि भइसकेका छन् ।
धूमपान प्रयोगको अनुगमनमा डाटा संकलन, धूमपान दरमा असर तथा बच्चा र वयस्कको चलन, सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने ‘धूमपानसहित हावा’ सम्बन्धी कानुन तथा सामुदायिक र निजी बीमा समाहित गर्दै औषधि सहयोग घटाउने कार्यक्रमसँगै सुर्ती नष्ट गर्ने अभियान रहेका छन् । ठूला चित्रसहितका चेतावनी, मार्केटिङ र विज्ञापनमा प्रतिबन्ध र उच्च करको दायरा रहेका छन् ।
हरेक देशले यी ६ वटा उपाय अपनाउन सक्छन् तर धेरैले अपनाएका छैनन् र ६० देशले त यीमध्य केही पनि गरेका छैनन् । अवश्य पनि, सुर्तीजन्य कम्पनीले त्यसको नीतिको विरुद्धमा लडाइँ गर्छन् ।
यो भन्न खोजको होइन कि कुनै प्रगति नै भएको छैन । २००७ देखि २०१९ को बीचमा विश्वव्यापीरूपमा डब्ल्युएचओले मान्यता दिएको धूमपान नियन्त्रण नीतिमध्ये कुनै न कुनै एकमा समावेश हुनेको संख्या १ अर्बबाट बढेर ५ अर्ब पुगेको छ ।
उदाहरणका लागि, ब्राजिलमा सरकारले डब्ल्युएचओले अनुमोदन गरेकामध्ये आफूलाई सुहाउँदो नीतिको प्रयोग गरेको छ । यसैको प्रतिफल हो कि १९९० यता १५ देखि २४ वर्षको बीचमा धूमपान गर्नेको संख्या ७५ प्रतिशतले घटेको छ ।
जनसंख्या बढेसँगै संसारभर धूमपान गर्नेको संख्या बढिरहेको छ । एउटा उदाहरण हेरौँ, डब्ल्युएचओले परिचित गराएको मध्ये सुर्तीजन्य पदार्थको कर उच्च बनाउने नीति चुरोट सेवन घटाउने मूल्यसँग सम्बन्धी सबैभन्दा भरपर्दो नीति बनेको छ ।
अनुसन्धानबाट पत्ता लागेको छ कि निम्न तथा मध्यम आय भएका देशमा सुर्तीजन्य उत्पादनमा १० प्रतिशतले कर वृद्धि गर्दा यसको उपभोगमा ८ प्रतिशतसम्म कमी आएको छ । धेरै आय भएको देशमा ४ प्रतिशत कमी आएको छ ।
साथै, एउटा अध्ययनले अनुमान गरेको छ कि मध्यम आय भएका मध्ये छानिएका १३ वटा देशमा ५० प्रतिशत मूल्य वृद्धि गर्दा ६ करोड ७० लाखले चुरोट सेवन गर्न छाड्नेछन् ।
संसारको कुल जनसंख्याको १४ प्रतिशतमात्र त्यस्तो देशमा बसेका छन्, जहाँ सुर्तीजन्य पदार्थको कर उपभोग घटाउन पर्याप्त छ । र, सुर्तीजन्य उद्योगले प्रायः करको प्रभाव कम गर्न मूल्य समायोजन गर्छन् ।
करको दायराजस्तै डब्ल्युएचओले अनुमोदन गरेका अन्य धूमपान नियन्त्रण गर्ने नीति अवलम्बन गर्न पछाडि परेको छ । डब्ल्युएचओको २०१९ को प्रतिवेदन अनुसार ६ मध्येका एक चित्रसहितको चेतावनीमात्र विश्वका आधाभन्दा बढी जनसंख्या (५२ प्रतिशत) मा पुगेको छ ।
धूमपानले हरेक वर्ष संसारभरमा करिब ८० लाख मानिसको ज्यान जाने गरेको छ । यी मानिसको वार्षिक १.४ ट्रिलियन अमेरिकी डलर क्षति हुने गरेको छ । सरकारहरूको गति कछुवाको जस्तो र कम्पनीको खरायोको जस्तो छ ।
संसारमा ३८ प्रतिशत जनसंख्यामात्र सुर्तीजन्य पदार्थको प्रयोगको अनुगमन गर्ने क्रममा पाँच वर्षमा एक पटक युवा तथा वयस्कको सर्भे गर्ने देशमा रहेका छन् । एक तिहाइको सुर्ती नष्ट कार्यक्रममा पहुँच छ । ‘धुवाँरहित हावा’ सम्बन्धी कानुन भएको स्थानमा अझ कम, २२ प्रतिशत, जनसंख्याया रहेको छ र यसको मार्केटिङ र विज्ञापन रहेको स्थानमा ८ प्रतिशत रहेका छन् ।
समयमा सुर्तीजन्य उद्योगका कारण हुने खतराबारे प्रस्ट नपारेसम्म र सुर्तीजन्य कम्पनीका कार्यनीति खुला नभएसम्म सरकारले पर्याप्त मात्रामा केही गर्न सक्दैनन् । संयुक्त राज्य अमेरिकाले बाध्यकारी केस स्टडी पनि उपलब्ध गराएको छ ।
अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ कि १९६४ देखि २०१२ का बीचमा अमेरिकाले सुर्तीजन्य पदार्थमा नियन्त्रण गर्न लिएको नीतिका कारण ८० लाख मानिसको अल्पायुमा हुने निधन घटेको छ, जीवन यापनको समय बढेको छ । कुनै समय, १९५० मा, चुरोट सेवन गर्ने अमेरिकी ४५ प्रतिशत थिए, त्यो अहिले १४ प्रतिशतमा घटेको छ ।
अझै, यहाँ कसरी सुर्तीजन्य पदार्थका उद्योगहरूले यो गति रोक्न हरेक पाइलामा अवरोध सिर्जना गरेका थिए भने कमजोर छिद्र भेट्टाउने बित्तिकै यसलाई प्रयोग गरेर प्रगति रोक्थे । २००९ को संघीय कानुनले अमेरिकी खाद्य तथा औषधि प्रशासनलाई सबै फ्लेभर भएका चुरोटमाथि प्रतिबन्ध लगाउँदै मेन्थललाई छुट दिने गरी नियम तयार गर्ने अधिकार दिएको थियो । अश्वेत अमेरिकी र बच्चाहरूलाई मेन्थलकै कारण यो लतमा तान्न उद्योगहरू सफल भइरहेका थिए ।
एफडीएले अन्ततः मेन्थल चुरोटमाथि प्रतिबन्ध लगाउने कदम उठायो तर यो १२ वर्षको ढिलाइले विनाशकारी परिणामहरू देखिए । सुर्ती उद्योगहरूले पनि बच्चाहरूलाई लक्षित गर्दै बजारमा फ्लेभरसहितका विद्युतीय चुरोटको बाढी नै लगाउने र अन्य मार्केटिङ योजना अगाडि ल्याउँदै राष्ट्रिय रूपमै यो महामारी बढाएको थियो ।
अहिले अमेरिकाका हाई स्कुलका प्रत्येक ५ जनामध्ये एक जना विद्यार्थीले विद्युतीय चुरोट सेवन गर्छन् । अरू प्रशस्त उदाहरण छन् । संघीय सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको एक दशक नाघेको छ, चेतावनीसहित चित्रको नीति २०२२ देखिमात्र प्रभावकारी रूपले लागु हुने भएको छ ।
कम्पनी अनुकूलको कानुन र यसपछि अदालतको निर्णयका कारण अमेरिकामा यो एक दशकदेखि रोकिएको थियो । ‘धुवाँरहित हावा’ को नियम अमेरिकाका राज्य र समुदाय अनुसार फरक छन् ।
बटमलाइन के हो भने धूमपानले हरेक वर्ष संसारभरमा करिब ८० लाखको ज्यान जाने गरेको छ, यसमा वार्षिक १ दशमलव ४ ट्रिलियन अमेरिकी डलर खर्च हुने गरेको छ । लामो समयदेखि सरकारहरूको गति कछुवाको जस्तो भयो भने कम्पनीको खरायोको जस्तो ।
बिस्तारै र स्थिरताले दन्त्य कथामा दौड जित्न सकिएला तर सुर्तीजन्य कम्पनीका विरुद्धमा सकिँदैन । अब संसारभरका सरकारहरूले आफ्नो बच्चाको जीवन बचाउन धेरै गतिशील र आक्रामक कदम चाल्ने समय आइसकेको छ ।
(डा. केली हेनिङ ‘ब्लुमबर्ग फिलान्थ्रेपिज’ की सामुदायिक स्वास्थ्यको नेतृत्वकर्ता हुन् । न्युयोर्कको सिटी हेल्थ डिपार्टमेन्टमा सरुवा रोग विभागको पूर्वनिर्देशक पनि हुन् । सीएनएनमा २१ जुलाईमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया