काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।
मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् ।
कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ ।
उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’
कार्यक्रममा उनले अब कोहीसँग पनि हेपिएर नबस्ने, कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । उनले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने पनि जिकिर गरे । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अडिग रहने आफ्नो अठोट रहेको बताए ।
त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आंशिक झालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया