आज सेना दिवस, टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह « Khabarhub

आज सेना दिवस, टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च  टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछिन् ।

समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

नेपाली सेनाले दुई दशकदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।

काठमाडौँमा गत वर्ष तीन/तीन हजार ६०० को सङ्ख्यामा सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी रहेकामा यस वर्ष कोभिड–१९ का कारण त्यो सङ्ख्या कटौती गरी दुई हजार ४०० मा सीमित तुल्याइएको छ ।

राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ ।

नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा छन् । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल प्रदर्शन गरिनेछ ।

सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।

प्रकृति संरक्षण, युद्धकार्य एवं पेशागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटलाई मुख्य समारोहपछि प्रधानसेनापतिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुका साथै पदोन्नति हुनेलाई दर्ज्यानी चिह्न तथा वर्षभरी उत्कृष्ट कार्य गर्नेलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिनेछ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्गठनिकस्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।

समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ४९ बजे

जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं– सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार

विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका

राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त 

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा। कल्पना