‘गण्डकी प्रदेश प्रकरण’ र ‘उमेश श्रेष्ठ प्रकरण’ पछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशस्तिमा दुई वटा डिजिटल प्रचार सामग्री सार्वजनिक भएका छन् । एउटा हो, ‘के तपाईंलाई थाहा छ ?’ र अर्को हो, ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने… ।’
यी प्रचार सामग्रीको बारेमा कांग्रेसका प्रतिस्पर्धी राजनीतिक दलहरूले खासै चासो दिएका छैनन् । चौधौँ महाधिवेशनको संवैधानिक सीमा सकिन लागेको समयमा आएका यी प्रशस्तिहरूप्रति कांग्रेसको इतर पक्षले पनि खासै टीकाटिप्पणी गरेको देखिएन ।
संस्थापन पक्ष अर्थात सभापति देउवा समूहभित्र भने यो प्रकरणले ठूलै तरङ्ग उत्पन्न गराएको छ । महामन्त्री पूर्णबहादुर खड्काले यो प्रचारलाई गाईजात्राको संज्ञा दिँदै तत्काल रोक्न देउवाको सचिवालयलाई आग्रह गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले कुनै टिप्पणी नगरी समय सान्दर्भिक नभएको भन्दै यस्ता प्रचार सामग्री स्थगित गर्न आग्रह गरेका छन् ।
देउवाको प्रशस्तिमा शुरू भएको साइवर अभियानप्रति निर्वाचित महामन्त्री डा. शशांक कोइराला मौन देखिनु तर मनोनित महामन्त्री खड्काले आपत्ति जनाउनु, जनमत बनाउन सक्ने युवा नेता गगन थापा मौन देखिनु तर देउवाले प्रवक्ता बनाएका शर्माले सार्वजनिक असहमति जनाउनु आफैँमा एउटा सन्देश हो ।
देउवाको प्रशस्तिका लागि साइवर अभियानमा संलग्न भएको जत्थाले यो सन्देश बुझ्ने ल्याकत राखेको देखिएन । उनीहरू महामन्त्री खड्का र प्रवक्ता शर्मा विरुद्ध खनिएका छन् ।
उनीहरूले ‘के देउवा मनपर्छ भन्न निषेध गरिएको हो ?’ महामन्त्री खड्का र प्रवक्ता शर्मा माथि राखेका छन् । खड्का र शर्मालाई खेद्नु देउवाको हितमा छ कि छैन भन्ने कुरा नबुझ्नेहरू साइवर अभियानमा सामेल गरिएका हुन् भने देउवाको सचिवालयको गम्भीर भुल हो ।
उपसभापति विमलेन्द्र निधि र पूर्वकार्यबहाक सभापति गोपालमान श्रेष्ठकै पथमा महामन्त्री खड्का र प्रवक्ता शर्मा अघि बढेको सूचना देउवाको सचिवालयले पाइसकेको हो भने अर्कै कुरा हो ।
यस सन्दर्भमा देउवाको सचिवालयले दुई वटा कुरा बुझ्नुपर्छ । पहिलो कुरा, महामन्त्री खड्का र प्रवक्ता शर्मा आगामी चौधौँ महाधिवेशनमा सभापति देउवाका प्रतिस्पर्धी होइनन् । पन्ध्रौँ महाधिवेशनमा भने यी दुवै जना सभापति पदमा उम्मेदवार बन्ने सम्भावना भएका नेता हुन् ।
पन्ध्रौँ महाधिवेशनलाई लक्षित गर्दै यी दुवै नेतालाई एकैचोटी बढार्ने अभियानमा देउवाको सचिवालय जुटेको हो भने विश्लेषणको अर्कै पाटो हो ।
देउवाले यतिबेला दोहोर्याएर सभापति बन्न खोज्नुको अर्थ श्रीमती आरजुका लागि उत्तराधिकार सुनिश्चित गर्नु हो भन्ने विश्लेशण आश्चर्यजनक होइन ।
देउवाको सचिवालयमा आरजुद्वारा इच्छाइएका बाहेक अरूको प्रवेश सम्भव छैन भन्ने कुरा पनि घाम जस्तै छर्लङ्ग छ ।
लोकतन्त्रमा आफूलाई मन पर्ने नेतालाई सार्वजनिकरूपमै ‘मन पर्छ’ भन्न पाइन्छ । मन नपर्ने नेतालाई ‘मन पर्दैन’ भन्न पनि पाइन्छ । त्यसमाथि पनि देउवा भनेका नेपालका जीवित नेताहरूमध्ये सबैभन्दा वरिष्ठ हुन् तर ‘यस कारण मलाई देउवा मन पर्छ’ भन्ने प्रचार सामग्रीमा विवाद उत्पन्न भयो ।
यो प्रचार सामग्री निर्माण अभियानमा समेल हुनेहरूको चित्त दुख्नु स्वाभाविक हो । कुन सन्दर्भमा के प्रयत्न गर्ने भन्ने कुराको ठूलो महत्व हुन्छ । साउनमा धान रोपिन्छ । पुसमा गहुँ छरिन्छ । साउनमा गहुँ छरियो र पुसमा धान रोपियो भने उत्पादन हुँदैन, समय र साधन स्रोत खेर मात्रै जान्छ । साउन, भदौमा विहेको लगन हुँदैन; माघ, फागुनमा हुन्छ । कुन मौसममा के बाली लगाउने भन्ने भेउ पाउन नसक्ने किसान टाट पल्टिन्छ ।
समय छोप्न र पर्खन जान्नुपर्छ । हरेक समयका आआफ्ना विशेषता हुन्छन् । कांग्रेसका लागि वर्तमान समय प्रधानमन्त्री तथा सभापति देउवाले विगतमा गरेका ‘राम्रा काम’ को प्रचार गर्नका लागि हो कि पार्टीलाई संवैधानिक संकटबाट जोगाउन हो भन्ने प्रश्न कम पेचिलो छैन ।
नेपाली कांग्रेसले यतिबेला सत्ताको नेतृत्व गर्न पाएको अवसर जनादेश नभएर संयोग हो । आम निर्वाचनको जनादेश त नेपाली कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्नुपर्छ भन्ने नै हो । जनताले जसलाई सत्तामा बस्ने आदेश दिएका थिए, उनीहरू असफल भएपछि कांग्रेसलाई अपुताली परेको हो ।
अपुतालीको धन र फुपुको श्राद्ध भन्ने त एउटा उखानै छ । यही उखान चरितार्थ गर्न खोजिएको हो भने देउवाको सचिवालयप्रति टिप्पणी गर्नुको अर्थ छैन । अहिले प्राप्त अवसरलाई आगामी आमनिर्वाचनमा जनताको विश्वास जित्ने माध्यम बनाउने हो भने कांग्रेसले अलिकति पनि समय खेर फाल्नु हुँदैन ।
सबैभन्दा महत्वपूर्ण समय वर्तमान हो, काम देखाउने समय हो । देवत्वकरणकै कारण करिब दुई तिहाई बहुमतसहितको ओलीको कम्युनिस्ट सत्ता धुलोपिठो भएको हो ।
खाडलमा परेपछि मात्रै चेत्ने त पशुले मात्रै हो । मान्छेले त अरू खाडलमा परेको देखेर पनि चेत्छ । ओलीको सत्ता धुलोपिठो हुनुको कारण असान्दर्भिक प्रचार हो । जनतालाई वाक्क हुने गरी साइवर सेना गठन गरेरै ओलीको देवत्वकरण गरियो ।
प्रधानमन्त्री बनेको साता दिन बित्दा नबित्दै देउवाको पनि ओलीकै शैलीमा देवत्वकरण गरिनु भनेको लोकतन्त्र माथिकै षड्यन्त्र हो । देवत्वकरण अभियानले ओलीको सत्तामात्रै धुलोपिठो भएन नेकपा समेत धुलोपिठो भयो । नेकपा फुटेर एमाले र माओवादी केन्द्रमा फर्किए । एमाले पनि दुई चिरामा छ । माओवादी केन्द्र चोइटिएको मात्रै छैन, प्रचण्डसँग बाँकी रहेका नेताहरूको लुछाचुँडीले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
अहिले पाएको समयलाई देउवाले लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा सदुपयोग गरे भने २०५९ जेठ ८ को निर्णय झुक्किएर भएको रहेछन् भन्न सकिन्ने हुन्छ । होइन, अहिलेको समय पनि लोकतन्त्र कमजोर पार्न र आफ्नो देवत्वकरण गर्न दुरुपयोग गरे भने उनले २०५९ जेठ ८ को कदम सोचीविचारी नै चालेका रहेछन् भन्ने पुष्टि हुन्छ ।
कांग्रेसलाई पनि त्यही बाटोमा लैजाने डिजाइन अन्तर्गत साइवर अभियान शुरू गरिएको त होइन भन्ने चिन्ता कांग्रेसजनमा शुरू हुनु अस्वाभाविक होइन ।
विगत हेर्ने हो महेन्द्रको शासनकालमा निकै राम्रा कामहरू भएका छन् । राजा महेन्द्रको पालामा भएका राम्रा कामहरूको सूची निकै लामो हुन्छ तर पञ्चायतकालको तीस वर्ष तत्कालीन शासनसत्ताले बीपी कोइरालाको दानवीकरण र राजा महेन्द्रको देवत्वकरणमै बितायो । पञ्चायत ढल्नासाथ सबै कुरा उदाङ्गो भयो । २०१७ साल पुस १ गतेको ‘कु’ ले महेन्द्रका तमाम राम्रा कामहरू ओझेलमा परे । नेपालको इतिहासले महेन्द्रलाई सम्झने भनेको २०१७ सालको काण्डका नाममा मात्रै हो ।
जसरी २००७ सालको जनक्रान्तिबाट प्राप्त संसदीय प्रजातन्त्र अपहरण गरेबापत राजा महेन्द्र नेपालको इतिहासमा ‘अमर पात्र’ बनेका छन्, ठीक त्यो अवस्थामा देउवा नपुगून् भन्ने तर्फ सचेत हुनु कांग्रेसजनको चेतना हुन जरुरी छ ।
जतिसुकै तर्कले ढाकछोप गर्न खोजे पनि २०४६ सालको जनआन्दोलनको उपलव्धि समाप्त भएको २०५९ जेठ ८ गते गरिएको संसद विघटनले नै हो । चुनाव हुन नसक्ने अवस्थामा देउवाले झुक्किएर संसद विघटन गरेका थिए कि, संसदीय व्यवस्था मास्ने डिजाइनमा सामेल भएका थिए भन्ने चासो बाँकी नै छ । जनताको नजरमा देउवा अझै विचाराधीन छन् ।
अहिले पाएको समयलाई देउवाले लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा सदुपयोग गरे भने २०५९ जेठ ८ को निर्णय झुक्किएर भएको रहेछन् भन्न सकिन्ने हुन्छ । होइन, अहिलेको समय पनि लोकतन्त्र कमजोर पार्न र आफ्नो देवत्वकरण गर्न दुरुपयोग गरे भने उनले २०५९ जेठ ८ को कदम सोचीविचारी नै चालेका रहेछन् भन्ने पुष्टि हुन्छ ।
मुलुकको राजनीतिको मियो मानिएको पार्टी नेपाली कांग्रेस लोकतन्त्रको पर्याय पनि भनिन्छ । पचहत्तर वर्षको इतिहासमा कांग्रेस पहिलो पटक संवैधानिक संकटमा फसेको छ । महाधिवेशन नै गर्न नसक्ने अवस्थामा कांग्रेस पुग्नुको दोष इतर पक्षको काँधमा थोपेर्दै देउवाको साइवर अभियानले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि डिजिटल आक्रमण थालेको छ ।
‘१७–१७ पटक चुनाव हार्ने पौडेल असफल कि पाँच–पाँच पटक प्रधानमन्त्री बन्ने देउवा असफल ?’ भन्दै देउवाको सचिवालयले सामाजिक सञ्जाल भर्न थालेका छन् । ‘सभापति देउवा महाधिवेशनका लागि हरहमेसा तयार रहेको तर इतर पक्षको अवरोधका कारण पार्टी वैधानिक संकटमा फसेको’ भन्दै गरिएको प्रचारले आगामी आमनिर्वाचनमा कांग्रेसको भोट बढ्ला कि घट्ला ?
दलमाथि करिब आर्थिक नाकाबन्दी लागेको अवस्थामा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एघारौँ महाधिवेशन गर्दाको ऋण तिर्न आफ्नो घर बेचेका नेता गोपालमानले उमेश श्रेष्ठ प्रकरणपछि किन देउवाको साथ छाडे भन्ने प्रश्न पनि कम पेचिलो छैन ।
यस्तो प्रचारका लागि आर्थिक स्रोत जुटाउन ‘गण्डकी प्रदेश प्रकरण’ र ‘उमेश श्रेष्ठ प्रकरण’ भएको हो भने नेपाली कांग्रेसको विभाजन हुन आगामी आमनिर्वाचन कुर्नै पर्दैन । कांग्रेसका पूर्वकार्यवहाक सभापति गोपालमान श्रेष्ठले उठाएको प्रश्न नै काफी छ ।
राजनीतिक लगानीको त कुरै भएन आर्थिक लगानीको कुरा गर्दा पनि गोपालमानलाई पछाडि धकेलेर उमेश श्रेष्ठलाई माथि उचाल्नु देउवाको अक्षम्य त्रुटी हो । देउवा नेतृत्वको तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) करिब एक वर्षसम्म गोपालमान एक्लैको आर्थिक लगानीमा चलेको यर्थाथ विर्सन मिल्दैन ।
दलमाथि करिब आर्थिक नाकाबन्दी लागेको अवस्थामा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एघारौँ महाधिवेशन गर्दाको ऋण तिर्न आफ्नो घर बेचेका नेता गोपालमानले उमेश श्रेष्ठ प्रकरणपछि किन देउवाको साथ छाडे भन्ने प्रश्न पनि कम पेचिलो छैन ।
‘मलाई यसकारण देउवा मन पर्छ’ भनेर उमेश श्रेष्ठ र विन्दुकुमार थापाको आर्थिक लागानीमा डिजिटल सामग्री आयो । अब ‘मलाई यसकारण देउवा मन पर्दैन’ भनेर अरू कसैको लगानीमा अर्को डिजिटल सामग्री आयो भने कांग्रेसले थेग्न सक्ला ?
मैयादेवी श्रेष्ठले अहिलेसम्म ७२ करोड रुपैयाँ बराबरको दान गरेको रेकर्ड छ । यसमध्ये आधाभन्दा बढी नेपाली कांग्रेस र यसको सेरोफोरोका संघ संस्थाहरूले पाएका छन् । उनले कहिल्यै कुनै पद पाइनन् । त्यो ७२ करोड वर्तमानको मूल्यमा उमेश श्रेष्ठको कुल सम्पत्ति भन्दा पनि बढी हुन सक्ला ।
प्रतिक्रिया