नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेन प्रशासन नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरेका छन् ।
कोभिड, जलवायुलगायत विभिन्न मुद्दाहरुमा सहयोगको महत्वलाई जोड दिँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् ।
“हामीले पछिल्ला दुई दशकमा देखेका छौँ कि दुबै देशबीचको सम्बन्ध बलियो र गहिरो हुँदै गइरहेको छ । राष्ट्रपति बाइडेनको दृढ संकल्प भारत र अमेरिका बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो,” ब्लिन्केनले भने ।
नागरिकको जीवनमा असर गर्ने कुनै पनि चुनौतीहरुसँग मिलेर लड्नु पर्नेमा पनि उनले जोड दिएका छन् । जलवायु परिवर्तन, कोरोना महामारी, चिनियाँ जासुसी, आतंकवादविरुद्ध सँगै लड्ने उनले प्रतिबद्धता जनाएका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले पनि दुई देशबीच सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको जनाएका छन् ।
“हाम्रो द्विपक्षीय सहयोग पछिल्लो केही वर्षहरुमा धेरै विस्तार भएको छ । हाम्रा चासोहरु साझा छन्, हाम्रा चिन्ताहरु समान छन् । हाम्रा सहकर्मीहरुलाई व्यवहारिक नतिजामा अनुवाद गर्न एक नयाँ दिशा प्रदान गर्नेछ,” जयशंकरले थपे ।
विदेशमन्त्री जयशंकरले कोभिड १९ महामारीपछि बढ्दो बहुध्रुवीय विश्वमा भारत-अमेरिका सहयोगले नयाँ सामर्थ्य प्राप्त गरेको बताए ।
मंगलबार भारत आएका ब्लिन्केनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेका छन् । उनको भ्रमणको क्रममा ब्लिन्केनले खोप सहयोग, अफगानिस्तान र इन्डोप्यासिफिक क्षेत्रलगायतका व्यापक मुद्दाहरुमा छलफल गरेको बताइएको छ ।
प्रतिक्रिया