कन्फ्युशियस चीनका महान् दार्शनिक थिए । जीवनको अन्तिम क्षणमा जब उनी मृत्यु शैयामा थिए तब उनले आफ्ना शिष्यलाई नजिक बोलाए र भने, अलि नजिक आएर त हेर मेरो मुखमा जिब्रो छ कि छैन ?
शिष्य यो विचित्र प्रकारको आज्ञा सुनेर अचम्मित भए । कन्फ्युशियसले आफ्नो मुख खोले ।
शिष्यले हेरे र भने, गुरुदेव, जिब्रो त जस्ताको तस्तै छ ।
कन्फ्युशियसले फेरि सोधे— दाँत ?
शिष्यले जवाफ दिए— दाँतको नामोनिशाना पनि छैन ।
यो सुनेर कन्फ्युशियस मुस्कुराए र भने, ती सबै दाँत कहाँ गए ?
सबै शिष्य एकअर्काको मुख ताक्न थाले । तब कन्फ्युशियस बिस्तारै उठेर बस्दै बोले, सुन छोराहरु हो, यो रहस्य जानिराख, नत्र अहिलेसम्मको तिमीहरुको सारा ज्ञान बेकारमा जानेछ । जिब्रो कोमल र सहनशील हुन्छ, त्यसैले यसको अस्तित्व अझसम्म छ । दाँत क्रूर र कठोर थिए, यसैले ती नष्ट भएर गए ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया