गत वर्षको एसईई शुल्कबारे सरकार किन मौन ! « Khabarhub

गत वर्षको एसईई शुल्कबारे सरकार किन मौन !


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोरोना भाइरसको संक्रमण हुन थालेपछि २०७६ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगन भयो । चैत ६ गते परीक्षा हुने तालिका रहेकोमा एक दिनअघि परीक्षा स्थगित भएको सूचना आयो ।

आखिर परीक्षा भएन । विद्यालयले लिएको अन्तिम परीक्षाको मूल्यांकनका आधारमा अंक पठाउन भनियो र सोहीअनुसार गत भदौ १ गते नतिजा प्रकाशन गरियो ।

गत वर्ष राष्ट्रिय परीक्षा बोर्डको एसईई नियन्त्रण कार्यालयले कक्षा १० का विद्यार्थीहरूबाट एसईईका लागि जनही ५०० रुपैयाँ परीक्षा शुल्क उठाएको थियो ।

गत वर्ष ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थीहरुले आवेदन गरेका थिए । यी विद्यार्थीबाट बाट २४ करोड १३ लाख ५३ हजार ५०० रुपैयाँ संकलन भएको थियो ।

परीक्षा नभएपछि नेपाल अभिभावक संघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले परीक्षा शुल्क फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार महासंघका प्रतिनिधिहरुले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर शुल्क फिर्ता गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

भण्डारीका अनुसार १० कक्षासम्मका विद्यार्थीबाट परीक्षा शुल्क उठाउनु संविधान विपरीत हुन्छ । उनले भने, ‘संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनेछ भनेपछि कुनै पनि शुल्क लिन पाइँदैन । परीक्षा नै नभएपछि त शुल्क फिर्ता गर्नै पर्छ ।’

शिक्षामन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए पनि आजसम्म सुनुवाइ नभएको भण्डारीको भनाइ छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत शिक्षासम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनिएको छ ।

सरकारले कक्षादेखि १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहका विद्यार्थीबाट परीक्षा शुल्क उठाउने गरेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले गत वर्ष कक्षा १० का विद्यार्थीबाट उठाएको परीक्षा शुल्क फिर्ता गर्न राष्ट्रिय परीक्षा बोर्डलाई मागपत्र बुझाएको थियो ।

महासंघका अध्यक्ष कृष्ण थापाले यस विषयमा तत्कालीन शिक्षामन्त्री पोखरेलको पनि ध्यानाकर्षण गराएको बताए । यस विषयमा महासंघले कुनै जानकारी नपाएको उनको भनाइ छ ।

मन्त्रालय मौन

गत वर्षको एसईई शुल्कबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मौन छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार परीक्षा नभएको वर्षको परीक्षा शुल्क फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा कुनै छलफल भएको छैन ।

शुल्क फिर्ता गर्ने निर्णय परीक्षा बोर्ड वा मन्त्रालयले गर्न नसक्ने उनले बताए । उनका अनुसार यसमा मन्त्रिपरिषदको निर्णय चाहिन्छ । उनले भने, ‘राजस्व बापत उठाएको पैसा अर्थ मन्त्रालयमा जान्छ । त्यो फिर्ता गर्ने कि नगर्ने भन्ने विषय मन्त्रिपरिषदको कुरा हो ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ३० बजे

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष