थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै « Khabarhub

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ (देउखुरी)-   थारू समुदायले  ‘अट्वारी पर्व ’ आज  धुमधामका साथ मनाउँदैछन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती  समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्सर्‍या भाट) खाने गर्दछन् ।  दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ ।

यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उनले भने, ‘दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।’

टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । सस्ंकृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।

‘अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् ।’ उनले भने ।

छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।

यो अग्रासनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो ।

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । ‘यो थारूहरुको माघिपछिको ठूलो पर्व हो’, थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भने ।

आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ४० बजे

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र