हावाहुरी र चट्याङसहितको वर्षा हुनुको कारण थाहा पाउनुहोस « Khabarhub

हावाहुरी र चट्याङसहितको वर्षा हुनुको कारण थाहा पाउनुहोस


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।

ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उनका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए राति र आज बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्को प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।

हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन । आज देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा केही बढी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन।

राति भने प्रदेश नं १ सहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली हुने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सभावना रहेको छ । शुक्रबार पनि प्रदेश नं १ र अन्य पहाडी भूभागमा बदली भई केही भागमा पानी पर्ने छ । शनिबारबाट भने यो प्रणाली हराएर केही खुल्ने भए पनि पुनः अर्को प्रणाली आउनसक्ने मौसमविद् वासीले जानकारी दिइन । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो । यसपालि भने सददरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनाउनुपर्नेमा मौसमविदले जोड दिएका छन् ।

गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् ।

हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन शुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन । त्यसैले अहिलेदेखि नै क्षति कम गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपद्बाट गुज्रने अवस्था रहेको देखिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ४६ बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत