राजनीति

कांग्रेस सभापतिका चार उम्मेदवारले गरे मतदान

By खबरहब

December 13, 2021

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका चार उम्मेदवारले मतदान गरेका छन् ।

नयाँ कार्यसमिति चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गरेका छैनन् ।

सहमतिमा नेतृत्व चुन्न प्रयत्न सफल नभएपछि सभापतिका आकांक्षीबीच प्रतिस्पर्धा चलिरहेको हो ।

देउवा, निधी, कोइराला र सिंहले दिउँसो साढे १ बजेअघि नै करिव एक/एक घण्टा लगाएर मतदान गरेको निर्वाचन सिमितिले जनाएको छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ प्रतिनिधिले मतदान गर्दैछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दिउँसो २ बजेसम्म ६०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।