झापा– शंकास्पद लागुऔषधसहित झापाको मेचीनगरबाट दम्पतीनै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगरजस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।
लिसाईलो वस्तुको बढ्दो कारोवार
परम्परागत ब्राउनसुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ । राजपूत दम्पतीबाट मात्र होईन अन्य व्यक्तिहरुबाट पनि यस प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।
प्रवक्ता थापाका अनुसार झापाकै बुद्धशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तुसहित विभिन्न व्यक्ति पक्राउ परेका छन् । सो ठाउँका दिनेश कुमालबाट पनि ब्राउन सुगर जस्तै ४ ग्राम लिसाईलो बस्तु बरामद भएको छ ।
नगद ४ हजार र सो वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँका ४३ वर्षीय शेषराज सापकोटाको घर खानतलासी गर्दा पनि त्यस्तै लिसाईलो वस्तु भेटिएको छ ।
कोडिन, नाईट्रोजन लगायतका लागुऔषधसहित उनको घरबाट १० ग्राम शंकास्पद लिसाईलो बस्तु फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेको व्यक्ति र सो शंकास्पद लिसाईलो वस्तुबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया