जनकपुर–जयनगर रेल सेवा सञ्चालन मिति फेरि प्रभावित | Khabarhub Khabarhub

जनकपुर–जयनगर रेल सेवा सञ्चालन मिति फेरि प्रभावित


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।

रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, “यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।” उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए ।

नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ ।

नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरिद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ्ग लगाइएको रेल इन्जिनसहित ६ वटा डब्बामा एकपटकमा १२ सयदेखि १३ सय यात्रु यात्रा गर्नसक्ने क्षमताको छ । यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गर्थ्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा सयजना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालु आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ ।

पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ३० बजे

‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’

काठमाडौं- पछिल्लो समय राजावादी र पूर्वपञ्चहरूको सक्रियताले गणतन्त्रवादीहरू असहज महसुस

‘जाऊँ है पोखरा’ अभियान सम्पन्न

पोखरा– मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस वर्षको

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल

काठमाडौं– अरबपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा

गण्डकी– महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

निजगढ– बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु