काभ्रेका छत्रप्रसादको पोते कमाल | Khabarhub Khabarhub

काभ्रेका छत्रप्रसादको पोते कमाल



काठमाडौँ– राजधानी काठमाडौँको इन्द्रचोक बजारमा शुक्रबार अपराह्न २ बजे पुग्दा टन्टलापुर घाम थियो । धेरैजसजोको मुखमा मास्क भए पनि भिडभाडले कोरोना संक्रमणको कुरा बिर्सेको थियो । मानिसहरू एक अर्कालाई धकेल्दै हिँडिरहेका जस्ता देखिन्थे ।

चोकबाट थोरै भित्र, परबाटै टलक्क टल्कने हरियो, पहेँलो र रातो रङका पोते झुन्डाइएका छन् । सडकमा भिडभाड भए पनि पसल सुनसान छ ।

सुनसान पसलका व्यापारीहरू मोबाइल फोन चलाएर बसेका छन् । कतिपय व्यापारी पोते उन्नमा व्यस्त छन् ।

साउन महिनामा नेपाली महिलाहरूले हरियो र पहेँलो पहिरनसँगै उस्तै रङको पोते लगाउने चलन छ । कोभिडका कारण यस वर्ष पनि साउनमा पोतेको व्यापार सुस्त रह्यो ।

एक जना व्यापारीसँग संवाद भयो ।
‘तपाईंको नाम के हो ?
‘छत्रप्रसाद तिमल्सिना ‘मेहताब’ ।’
‘कति वर्षको हुनुभयो ?
‘५२ वर्षको भएँ ।’
कति उमेरमा यो व्यवसाय थाल्नुभएको ?’
‘९ वर्षको उमेरमा यो बजारमा पसेको हुँ, आफैँले व्यवसाय शुरू गरेको २६ वर्ष भयो ।’
‘कमाइ कतिसम्म हुन्छ ?
‘पोतेको लागि सिजन चाहिन्छ, वैशाख र मंसिर हो व्यापार हुने सिजन तर २ वर्षदखि ठप्प छ ।’

विशेष गरी पोते व्यवसायीहरूका लागि दिनभन्दा पनि सिजनको महत्व हुन्छ । उनीहरू एउटै सिजनमा दैनिक लाखभन्दा माथिको व्यापार गर्छन् । बिहे हुने महिनाहरू वैशाख, मंसिर माघ र फागुनमा बढी व्यापार हुन्छ ।

छत्रले इन्द्रचोकमा मा ४३ वर्ष बिताइसेके । उनी ९ वर्षको उमेरमा घरबाट हिँडेका थिए ।

स्कुल जाने उमेरमा काठमाडौँ पसेका छत्रले उमेरसँगै अनेक भोगे । बाल्यकालका तीन दिन सम्झदै उनले भने, ‘घरबाट भागेर आफन्तको साथमा इन्द्रचोक आइपुगेँ, पसलमा बस्ने, ग्राहकसँग बोल्ने र व्यापार गर्ने बानी यहीँ विकास भयो ।’

करिब १२ वर्ष उनी पोते पसलमा कामदार भए । अनि २६ वर्षको उमेरमा एक जना आफन्तसँग ३० हजार रुपैयाँ ऋण लिएर आफैँ व्यवसाय शुरू गरे ।

पोतेले दियो थातबास

महिलाहरू पोते किन्न इन्द्रचोक नै पुग्थे । त्यतिबेला इन्द्रचोकको पोते बजारमा धेरै चहलपहल हुन्थ्यो, ग्राहकलाई पोते देखाउन भ्याई नभ्याई हुन्थ्यो ।

विस्तारै अन्त पनि बजार बिस्तार गयो । कस्मेटिक र सुन पसल खुल्दै गए । जताततै पोते पाउने भएपछि इन्द्रचोकको पोतेको महत्व घटेको उनको अनुभव छ ।

छत्र अन्तर्राष्ट्रिय बजारमा पनि पुगे । उनले डिजाइन गरेका पोतेको माग धेरै थियो । दश वर्षअघि गला, कान र हातमा लगाउने पोतेका डिजाइनहरू बनाएर फ्रान्स, बेलायत, थाइल्यान्ड लगायतका मुलुकमा पठाउँथे ।

‘पहिले विदेशमा पोते निर्यात गर्दा एउटै सिजनमा ७ लाखसम्म कमाउथेँ त्यो रकम जम्मा गर्थे,’ छत्रले भने, ‘यहाँ भएको व्यापारले घर खर्च पुग्थ्यो ।’

उनका अनुसार वर्षको ६ महिना उनले डिजाइन गरेका पोते विभिन्न मुलुकमा पुग्थे । विश्वबजारमा पोतेको निर्यात राम्रो भएपछि उनले काठमाडौँको ठमेलमा चार आना जग्गा किने । व्यापारबाट कमाएको पैसाले केही वर्षमा त्यहीँ घर बनाए ।

छत्र साँझबिहान नभनी काममा खटे । छोराछोरीले राम्रो शिक्षा पाऊन्, थातबासको राम्रो व्यवस्था होस् । उद्देश्य यही थियो । घर बनाएपछि केही कोठा भाडामा दिए । भाडामा उठेको पैसाले घर खर्च चल्न थाल्यो ।

‘एउटा छोरी र एउटा छोरालाई राम्रो विषय पढाउने सोच छ,’ छत्र भन्छन्, ‘मैले पढिनँ, छोराछोरीले जे पढ्छु भने पनि पढाउँछु ।’

अहिले उनकी छोरी स्नातक तहमा छिन्, छोराले भरखर माध्यमिक तह पार गरे ।

निर्यात खुम्चियो

विभिन्न मुलुकमा पोते निर्यात गर्ने छत्रको अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको छ । अहिले निर्यात फ्रान्समा मात्रै सीमित रहेको उनले बताए ।

छत्रका अनुसार चीनले विभिन्न डिजाइनका पोते बनाउन थाल्यो । अन्य देशहरूले चीनबाटै अर्डर गर्न थाले । यता छत्रको निर्यात घट्दै गयो र व्यापार सुस्ताउन थाल्यो ।

‘लकडाउन अघिसम्म फ्रान्समा मैले डिजाइन गरेको पोते गइरहेको थियो,’ छत्र भन्छन्, ‘अब सामान्य अवस्था भएपछि अर्डर आउँछ कि भन्ने आश छ ।’

लकडाउनको धराप

कोरोना भाइरस रोकथामका लागि सरकारले २०७६ साल चैतमा लकडाउन शुरू भएपछि व्यापा ठप्प छ । दिन बिताउने मेलो बाहेक केही छन् । कमाइ छैन, जेनतेन धान्नु परेको छ ।

‘लकडाउनमा अत्यावश्यक वस्तुमात्र खपत भएकाले हाम्रो व्यवसायको कुनै काम देखिएन,’ छत्र भन्छन्, ‘पोते भनेको फेसन जस्तो भयो, घरभित्र बसेका बेला कसले अर्डर गर्छ र ! लकडाउनले ठप्प भयो ।’

केही दिन लकडाउन खुकुलो भए पनि व्यापार नबढेको उनले बताए । ‘यो वर्ष वैशाखमा बिहेको लगन धेरै थियो, केही व्यापार होला कि भन्ने सोचेको तर फेरि लकडाउन भइदियो,’ उनले भने, ‘अहिले लकडाउन केही खुकुलो भएको छ तर व्यापारको सिजन होइन ।’

छत्र व्यापार बढ्ने आशमा इन्द्रचोकको पोते पसल कुरिरहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १२ : ३० बजे

कृषि विकास बैंकले किसानलाई नै केन्द्रमा राखेर काम गर्नुपर्‍यो : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा

नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्को पूर्व सूचना प्रणालीमा नेपालको अवस्था राम्रो भए पनि

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई

एमालेबारे कांग्रेसको रणनीति : सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले उपनिर्वाचन हुन लागेका स्थानीय तहका

कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा