सिन्धुली– नेपाल सरकार र अष्ट्रेलिया सरकारले सन् २०१४ देखि सहकार्यमार्फत तयार पारेको कमला नदी बेसिन क्षेत्रको जलस्रोत व्यवस्थापन तथा उपभोगसम्बन्धी रणनीतिपत्र आज सार्वजनिक गरिएको छ ।
‘कमला नदीको स्टेट अफ दि बेसिन प्रतिवेदन तथा जलस्रोत विकास रणनीति’ नामक रणनीतिमा कमला नदी बेसिनको जलस्रोत विकासका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव दिइएको छ ।
रणनीति सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल र अष्ट्रेलिया सरकारका अधिकारीले कमला नदी बेसिनको बनोट नेपालका अन्य नदी बेसिनसँग मिल्दोजुल्दो रहेको र यो रणनीति अन्य प्रदेश र नदी बेसिनको विकास तथा व्यवस्थापनका लागि समेत उपयोगी र अनुकरणीय हुनसक्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले रणनीति कमला नदी क्षेत्रमा जलस्रोतको उपयोग र जोखिम व्यवस्थापन तथा नागरिकको जीवनस्तर उकास्न उपयोगी रहेको बताए । नेपालका अन्य नदी क्षेत्रमा पनि यो उपयोगी सन्दर्भ सामग्री बन्ने उनको भनाइ थियो ।
नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले जलवायु परिवर्तनका असर देखिन थालेको र नेपाल सङ्घीय प्रणालीमा गएका कारण नदी बेसिनको एकीकृत विकास तथा व्यवस्थापनको यो झनै सान्दर्भिक बनेको धारणा राखे ।
प्रदेशबीच प्राकृतिक स्रोतको बाँडफाँटबारे हुनसक्ने विवाद व्यवस्थापन र जलस्रोतको उपयोगका लागि यसमा दीर्घकालीन महत्वका सुझाव समेटिएको राजदूत वोल्कको भनाइ छ ।
पूर्वऊर्जा तथा जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले रणनीतिले एकीकृत तथा सहभागितामूलक जलस्रोत व्यवस्थापनको अवधारणा आत्मसाथ गरेको बताउनुभयो । यसले मुख्यगरी स्रोतको संरक्षण र जलस्रोतको बहुउपयोगमा जोड दिएको उपाध्यायको भनाइ थियो ।
रणनीति निर्माणमा सहभागी अष्ट्रेलियाका शोधकर्ता डा आउरो अल्मेइडाले यसले नेपाली अधिकारीको जलस्रोत व्यवस्थापनका कार्यक्रम कार्यान्वयनको क्षमता विकास गर्ने दाबी गरे । नेपालमा राज्यका विभिन्न निकाय (सरकारी तथा गैरसरकारी संस्था) बीच समन्वय बढाउने र संस्थागत सुधार गर्नुपर्ने विषय खड्किएको डा आउरोले बताए ।
जल तथा ऊर्जा आयोगका मौसमविद् डा कपिल ज्ञवालीले रणनीतिले नेपालको जलस्रोत व्यवस्थापनमा एकीकृत बेसिनमा आधारित विकास, योजना र व्यवस्थापनका साथै बहुपक्षीय जलश्रोतको व्यवस्थापनतर्फ उन्मुख गराएको दाबी गरे ।
तीन तहका सरकार, जल उपभोक्ता, गैरसरकारी सङ्घसंस्था तथा अन्य सामुदायिक प्रतिनिधिको सहभागितामा बनेको यो नेपालमा उच्च सहभागितामूलक जलस्रोत योजनाको पहिलो उदाहरण भएको दाबी पनि गरिएको छ ।
यो रणनीतिमा मुख्यरुपमा कमला नदी बेसिन क्षेत्रका स्थानीय बासिन्दाको जीविकोपार्जन सहज तुल्याउने, जलजन्य विपद्को संकटापन्नता घटाउने, चुरे र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने, आर्थिक वृद्धिका लागि जलस्रोतको उपलब्धता, उपयोग तथा बाँडफाँटमा सहयोग गर्ने तथा आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिइएको छ ।
यो रणनीति तयार गर्न नेपाल सरकारको तर्फबाट जल तथा ऊर्जा आयोगको सचिवालय र अष्ट्रेलिया सरकारको तर्फबाट कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेसनले मुख्यरुपमा काम गरेका रहेको छ ।
प्रतिक्रिया