डेढ वर्षपछि ट्रेकिङ गाइडका हातमा सरकारी हँसिया ! « Khabarhub

डेढ वर्षपछि ट्रेकिङ गाइडका हातमा सरकारी हँसिया !



काठमाडौँ– हातमा हँसिया, साबेल र कैँची बोकेको युवाहरू कोही घाँस काट्दै छन् त कोही झाडी फाँड्दै ।

सोमबार दिउँसो नारायणहिटी दरबार परिसरमा ८० जनाभन्दा बढी युवा कामदारहरू सरसफाइमा खटेका थिए ।

उनीहरू लकडाउनमा रोजगारी गुमाएर अलपत्र परेका युवाहरू हुन् । पर्यटन क्षेत्रमा आबद्ध रहेका उनीहरू पदयात्रा (ट्रेकिङ) गाइड हुन् । कोरोना संक्रमण फैलिन थालेपछि २०७६ चैतमा लकडाउन शुरू भयो । यससँगै उनीहरूले रोजगारी गुमाए । आजभोलि भन्दा भन्दै डेढ वर्ष बित्यो ।

यीमध्ये केही युवाहरूले अहिले १० दिनको काम पाएका छन् । यही मेसोमा उनीहरू नारायणहिटी दरबार परिसमा भेटिएका हुन् । दश दिनको कामले पनि उनीहरू खुसी छन् ।

धादिङका २५ वर्षीय वासुदेव गुरुङले ट्रेकिङ गाइडका रूपमा काम थालेको आठ वर्ष भयो । अन्नपूर्ण बेसक्याम्प, लाङटाङ, कञ्चनजङ्घा लगायतका हिमाली क्षेत्रहरूमा पर्यटक गाइडका रूपमा पदयात्रा गराउनु उनको काम हो ।

लकडाउनपछि घरमै थन्किएको २० महिना भयो । उनी विद्यार्थी पनि हुन् । पदयात्राप्रतिको रुचिले उनलाई टे«किङ गाइड बनायो । कोरोना संक्रमणले पर्यटन क्षेत्र बन्द हुँदा धेरै समस्या भएको उनले बताए ।

‘समाजशास्त्रमा मास्टर्स गर्दैछु,’ खबरहबसँग उनले भने, ‘पदयात्रामा गाइडका रूपमा काम गर्दा राम्रै कमाइ हुन्थ्यो, पढ्न र खानबस्न पुगेकै थियो तर अहिले मुश्किल परेको छ ।’

ट्रेकिङको सिजन वर्षमा दुई पटक हुन्छ । फेब्रुअरी, मार्च अप्रिल एक सिजन हो । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर अर्को सिजन हो ।

यसरी दुई सिजनमा पर्यटकलाई टे«किङ लैजाँदा वासुदेव वार्षिक ६ लाख रुपैयाँसम्म कमाउँथे ।

धादिङकै अर्का ट्रेकिङ गाइड विनोद सिलवालले सन् २००८ मै ट्रेकिङ गाइडको काम शुरू गरेका हुन् । राम्रै आम्दानी हुने र परिवारको खर्च पुर्‍याउन सक्ने आधार बनेपछि उनलाई अर्को पेसा सोच्नु परेन ।

‘कम्तीमा पनि वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले खबरहबसँग भने, ‘एकजना गाइडले दुई वर्षमा १० लाख गुमायो ।’

लकडाउनमा रोजगारी गुमेपछि विनोद गाउँ फर्के । दुःख गरेर बारीमा तरकारी फलाए । खेतबारीको काममा परिवारलाई सघाए पनि ।

लकडाउन केही खुकुलो भएपछि उनी फेरि काठमाडौँ आए । कामको टुङ्गो छैन । पर्यटन क्षेत्र अझै केही समय नखुले यो पेसा छाड्ने उनको सोच छ ।

उनले भने, ‘अब एक वर्ष हेर्छु, कोरोना संक्रमण र पर्यटन क्षेत्र यतिकै रहेमा पेसा छोड्ने सोचमा छु ।’ बेरोजगार भएको लामो समयपछि १० दिनको काम पाएकोमा पनि खुसी छन् ।

धादिङकै अर्का ट्रेकिङ गाइड रामेश्वर तिमल्सिना पनि झाडी फँड्दै गरेका भेटिए ।

‘सरकारले हामीलाई रोजगारी दियो भन्ने त होइन तर यो क्षेत्र (पर्यटन) लाई प्रोत्साहन गरेको महसुस गरेका छौँ, हामी खुसी छौँ, कम्तीमा १० दिन भए पनि काम पाएका छौँ,’ उनले खबरहबसँग भने, ‘नारायणहिटी जस्तो ऐतिहासिक महत्वको ठाउँमा सरसफाइ गर्न पायौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणले कोरोना संक्रमण घट्दै गएको देखाउँछ । बिस्तारै सबै क्षेत्र चलायमान बन्दै छन् । अब सरकारले पर्यटन क्षेत्र पनि खुलाए राहत हुने उनको भनाइ छ ।

‘अनिवार्य क्वारेन्टिन हटाउनुपर्‍यो,’ रमेश्वरले भने, ‘एकहप्ताको छुट्टीमा नेपाल घुम्न चाहने पर्यटक यहाँ क्वारेन्टिन बस्दैन ।’

स्वास्थ्यका मापदण्ड पालना गराएर खुलाएमा आगामी एक वर्षभित्र पर्यटन क्षेत्र चलायमान हुने उनको विश्वास छ ।

तीन सय मजदुर आबद्ध

पर्यटन क्षेत्रमा आबद्ध रहेका र रोजगारी गुमाएका मजदुरका लागि दिगो पर्यटन परियोजना शुरू भएको पर्यटन बोर्डले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरू गरेको उक्त परियोजना अन्तर्गत आइतबार काठमाडौँका विभिन्न स्थानमा एकैसाथ काम सुरु भएको छ ।

परियोजनाले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार सङ्ग्रहालयमा सय जना, चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सय जना र स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरूलाई काममा लगाएको छ ।

होटल एसोसिएसन नेपाल (हान) सँगको समन्वयमा ४० जनाले काम पाएका छन् ।

आइतबारमात्र पर्यटन क्षेत्रका तीन सय मजदुर काममा जोडिएको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले खबरहबलाई बताए ।

परियोजनाको संयोजक समेत रहेका लामिछानेले विशेष गरी पदमार्ग, जलयात्रा (राफ्टिङ) गरिने नदी, ट्रेकिङ, ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बताए ।

कार्यक्रम साढे दुई वर्षको

परियोजनामा बोर्डले १० लाख र यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च हुनेछ ।

साढे दुई अवधिको परियोजनामा विशेष गरी पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरलाई अल्पकालीन रोजगारी दिने योजना छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ५९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको