बढ्न थाल्यो पर्यटकीय चहलपहल, एक महिनामा २३ हजार विदेशी आए « Khabarhub

बढ्न थाल्यो पर्यटकीय चहलपहल, एक महिनामा २३ हजार विदेशी आए


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणले ओरालो लागेको पर्यटन क्षेत्रमा केही सुधार देखिन थालेको छ ।

२०७६ चैत्रबाट मुलुक लकडाउन भएसँगै पर्यटन क्षेत्र ढप्प भएको थियो । लकडाउनले असर पारेको झन्डै दुई वर्षपछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको व्यवसायी बताउँछन् ।

लामो समयको बन्दबन्दीपछि असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको थियो ।

यससँगै असोज ७ गतेबाट यो नियम लागू भएको थियो ।

झण्डै १९ महिनापछि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा विदेशी पर्यटकहरू भित्र्ने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

एक महिनामा २३ हजार पर्यटक भित्रिए

बोर्डको तथ्याङ्कअनुसार गत महिना (अक्टोबर)मा मात्र २३ हजार २ सय ८४ जना पर्यटक हवाइमार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए । यो संख्या लकडाउन यताकै धेरै हो ।

यसअघि सन् २०१९ अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै सन् २०२० को अक्टोवरमा २ हजार २५ जना विदेशी नेपाल भित्रिएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार अप्रिल र अक्टोबर महिनामा पर्यटकको संख्या बढेको छ भने अन्य महिना घटेको छ ।

अप्रिलमा नेपालमा २२ हजार ४ सय ५० जना विदेशी भित्रिएका थिए ।

तथ्याङ्कअनुसार पर्यटक भित्रिने मुख्य सिजन मध्येको पहिलो सिजन अप्रिलमा पर्यटकको आवागमन बढेको देखिन्छ । त्यस्तै दोस्रो सिजनमा पर्ने अक्टोवरमा पनि आवगमनको संख्या सबैभन्दा धेरै छ ।

सन् २०२० को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे मा १ हजार ४ सय ६८, जुनमा १ हजार एकसय ४३, जुलाईमा २ हजार ९ सय ९१ पर्यटक हवाइमार्ग हुँदै भ्रमणमा आएका थिए ।

त्यसैगरी अगष्टमा ५ हजार ९ सय १७ र सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएको बोर्डका निर्देशक लामिछाने खबरहबलाई बताए ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए । समग्रमा हेर्दा सन् २०२१ को अक्टोबरसम्ममा १ लाख १ सय ४८ जना आएको बोर्डले जनाएको छ ।

यसअघि वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गर्थे ।

आउने सिजनमा ५० प्रतिशत पर्यटक भित्रने अपेक्षा

पर्यटकको आवगमन शुरु भएसँगै होटल व्यवसायीहरूमा पनि उत्साह देखिन थालेको छ । अहिले बाह्य पर्यटकहरूले होटल बुकिङ गर्ने क्रम शुरु भएको होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ ।

‘पर्यटकीय क्षेत्रतिर पर्यटकको आवगमन बढेको छ अहिले २० प्रतिशतसम्म होटलहरू बुकिङ भइरहेका छन्’ हानका महासचिव साजन शाक्य भन्छन् ।

कोरोना भाइरस संक्रमणदर कम भएसँगै पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको भीड बढेको शाक्य बताउँछन् ।

‘आन्तरिक पर्यटकहरूको चहलपहलले पनि केही उत्साहित छौँ’ शाक्यले खबरहबसँग भने, ‘शुक्रबार र शनिबार ९० प्रतिशतसम्म होटल बुकिङ भइरहेको अवस्था छ ।’

लामो समयदेखि घरमै बसेकाहरू संक्रमण कम भएसँगै घुमफिरका लागि निस्किएका छन् ।

दशैँ तिहार छठ लगायत चार्डपर्वको बिदामा नगरकोट, पोखरा, सौराहा, मनाङ, मुस्ताङ लगायत पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् ।

आन्तरिकसँगै बाह्य पर्यटकको आवगमन बढाउन सरकारले तयारी गर्नुपर्ने उनी बताउँछन् ।

‘सरकार तथा सम्बन्धित निकायले यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गर्नुपर्छ । नेपालका पर्यटकीय गन्तव्यलाई समेटेर एप बनाउनुपर्छ’ महासचिव शाक्यले भने ।

कुन गन्तव्यका लागि कति पैसा लाग्छ भनेर विस्तृतमा राख्न सकेमा बाह्य पर्यटकलाई सहज हुने उनको भनाइ छ । कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएमा थलिएको पर्यटन क्षेत्र तंग्रने व्यवसायीको अपेक्षा छ ।

यही रफ्तारमा पर्यटकको संख्या बढ्दै गए सन् २०२२ मा नेपालमा पर्यटकीय गतिविधि धेरै हुने शाक्यको अपेक्षा छ । सन् २०२२ सँगै मार्चबाट पर्यटनको नयाँ सिजन शुरु हुन्छ ।

‘केही महिनाअघि मात्र पर्यटक नेपाल आउने ढोका खुलेको छ । अब २०२२ को मार्चबाट नयाँ सिजन शुरु हुँदैछ कम्तीमा ५० प्रतिशत पर्यटक भित्रन्छन् भन्ने लाग्छ,’ उनले भने ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : १९ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर