तीन लाख भक्तजनले देवघाटमा स्नान गरे « Khabarhub

तीन लाख भक्तजनले देवघाटमा स्नान गरे


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा स्नान गरेका छन् ।

स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिए ।

कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो ।

उनका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।

नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।

हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।

माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी सङ्गममा स्नान गर्थे ।

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।

यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ३६ बजे

मापदण्ड विपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी– सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ ।

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ