तीन लाख भक्तजनले देवघाटमा स्नान गरे « Khabarhub

तीन लाख भक्तजनले देवघाटमा स्नान गरे


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा स्नान गरेका छन् ।

स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिए ।

कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो ।

उनका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।

नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।

नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।

हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।

माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी सङ्गममा स्नान गर्थे ।

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।

यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ३६ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण