भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ अनलाइन सेवा आरम्भ | Khabarhub Khabarhub

भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ अनलाइन सेवा आरम्भ


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ ।

घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट (डब्लु डब्लु डब्लु डटकम मेरोकित्ता डटकम डीओएस डटकम जीओभी डटकम एनपी) ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ ।

नापी विभागद्वारा आज काठमाडौँमा नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताए । “सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।”

सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गरे ।

सरकारले सबै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उनले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उनले ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिए । नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उनले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताए । ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उनले स्पष्ट पारे ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताइन् । “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ”, उनले भनिन् । अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाइन् ।

कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिइन् । “बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ”, डा तुम्बाहाङ्फेले भनिन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका तथा आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताए ।

भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ३५ बजे

जापानको श्रम बजार स्थिर

टोकियो– जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन

कपिलवस्तुको शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर– सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती

बीमाको भुक्तानीसहित स्वास्थ्यका कार्यक्रममा ३ अर्ब ८४ करोड रुपैयाँ निकासा 

काठमाडौं– अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि

राष्ट्रिय आविष्कार केन्द्रद्वारा संघीय अस्पतालमा थन्किएका पाँच सय उपकरण मर्मत 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय