कोरोना संक्रमितका सारथि « Khabarhub

कोरोना संक्रमितका सारथि



पिठौली (नवलपुर)– भनिन्छ, ‘प्रार्थना गर्ने ओठभन्दा सेवागर्ने हात पवित्र हुन्छ ।’ यही भनाइलाई चरितार्थ पारेका छन्, पूर्वी नवलपरासी कावासोती नगरपालिका १२ पिठौलीका शिक्षक तिलकचन सापकोटाले ।

पिठौलीस्थित वाइजभिजन इंगलिस स्कुलका सञ्चालक सापकोटाले कोरोना संक्रमित बिरामीलाई बोक्न थालेको दश दिनभन्दा बढी भयो । कोरोना संक्रमण भएकै कारण बिरामी बोक्नकै लागि सञ्चालित एम्बुलेन्ससमेत नमानिरहँदा सापकोटा आफैँले गाडी चलाएर बिरामी बोकेर हिँडिरहेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोरोना संक्रमित भनेर एम्बुलेन्सलेसमेत बिरामी बोक्न नमानेपछि टेक्टरमा अस्पताल लैजाँदै गर्दा देवचुली नगरपालिका १३ का ६७ वर्षीय खिम शर्मा काफ्लेको वैशाख २० गते ज्यान गएको थियो । उक्त घटनापछि जनप्रतिनिधिहरुलाई युवाहरुले गरेको खबरदारीले देशविदेशमा सनसनी मच्चियो । सेवा गर्ने अभिब्यक्तिहरु सबैतिरबाट आए । तर शिक्षक सापकोटा भने निःस्वार्थ फिल्डमा उत्रिए ।

देवचुलीको घटनाले विद्यालयका प्रिन्सिपलसमेत रहेका सापकोटाको मन साँच्चिकै कुँडियो । अनि, एक्लै भए पनि सामाजिक सेवामा जुट्ने अठोट गरे । ‘मेरो प्रस्ताव श्रीमतीले पनि अस्वीकार गरिनन्,’ सापकोटोले भने ।

‘कोभिड महामारीको विषम परिस्थितिमा सवारी साधनको अभावले ज्यान गुमाएका हृदयविदारक घट्नाहरु नदोहोरिउन् भन्ने उद्देश्यले लकडाउन अवधिभर आम अभिभावक, विद्यार्थी एवम् सर्वसाधारण साविक पिठौलीबासीका लागि अस्पताल जानुपर्ने अवस्था आएमा हामीबाट निःशुल्क रूपमा सवारी साधन उपलब्ध हुने जानकारी गराइन्छ,’ भनी सापकोटाले सामाजिक सञ्जालमा लेखे ।

पहिलो दिन मुखमा मास्क मात्रै लगाएर सापकोटा गाउँकै बिरामी लिएर चितवनको भरतपुर पुगे । भरतपुरका अस्पतालहरु कोरोना संक्रमित बिरामीले खचाखच भरिएका थिए । त्यसपछि चितवनमै पीपीई किनेर लगाए ।

कावासोती नगरपालिकाको ११, १२ र १३ नम्बर वडाका बिरामीहरु बोकेर उनी दैनिकजसो विभिन्न अस्पताल पुग्छन् । तर उनले कहिँकतैबाट सहयोग मागेका छैनन् ।

उनका कामबाट कावासोती नगरपालिका ११ नम्बर वडाका वडाअध्यक्ष शारदाप्रसाद अधिकारी भने औधि खुशी छन् । उनैले अहिले सापकोटालाई चार वटा पीपीई उपलब्ध गराएका छन् ।

‘अरु जनप्रतिनिधिहरुबाट खासै केही कुरा आएको छैन, शारदाजीले भने पटक पटक भेटेर सोध्ने गर्नु भएको छ,’ उनले भने ।

विभिन्न ठाउँमा रहेका पिठौली क्षेत्रका बासिन्दाहरुले भने सापकोटालाई फोन गरिरहेका छन् । बिहीबार मात्रै प्यूठानमा रहँदै आएका पिठौलीका रेशम तिवारीले बिरामी भई एम्बुलेन्ससमेत नपाएपछि सापकोटालाई सम्झिए ।

अहिलेसम्म २० जनाभन्दा बढी बिरामी ओसारेका मध्ये अधिकांशलाई कोरोना संक्रमण पुष्टी भएको उनले बताए ।

सबै ठाउँमा निषेधाज्ञा छ, तर पनि बिरामी बोकेर हिडेका सापकोटाले अहिलेसम्म प्रहरी प्रशासनबाट कुनै समस्या झेल्नु नपरेको बताए ।

उनको सामाजिक कर्म देखेर दिनरात अस्पतालमा खटिदै आएका मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक डा. शिवराज न्यौपानेले आफूलाई थप ऊर्जा मिलेको बताए । आफू पनि सुरक्षित हुनुपर्ने भन्दै सापकोटालाई फेसशिल्ड र बुट प्रदान गर्दै गर्दा डा.न्यौपानेका आँखा रसाए ।

बिरामी अस्पताल पुर्याएपछि उनले गाडीलाई सेनिटाइजर छर्किएर निःसंक्रमण गर्छन् । यसरी निःसंक्रमण गर्दा दैनिक ५ लिटर सेनिटाइजर प्रयोग हुने गरेको उनले बताए ।

सुरक्षित हुँदा हुँदै पनि संक्रमण भइहालिने हो कि भनेर दुई छोरी र एक छोराका बाबु तिकलचन बिरामी बोक्न शुरु गरेपछि भने घरमा छुट्टै कोठामा बस्ने गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १२ : २५ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक