काठमाडौँ- ‘नेपाल प्रज्ञा-प्रतिष्ठान’ द्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ मा ‘शपथ’ शब्दको अर्थ दुई किसिमले दिइएको छ :
१. कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा ।
२. संविधान अनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा ।
‘शपथ ग्रहण’ शब्दावलीको अर्थ पनि दिइएको छ-
संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमानदार रही वचनबद्ध हुने तथा प्रतिज्ञा गर्ने काम ।
उपर्युक्त अर्थहरू अनुसार ‘शपथ ग्रहण’ गर्नु भनेको ‘प्रतिज्ञा’ गर्नु हो ।
हाम्रा प्रधामनमन्त्री तथा मन्त्रीहरूको शपथपत्र हेरौँ–
म ……. मुलुक र जनताप्रति बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु; ईश्वर/देश र जनाताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही प्रधानमन्त्री पदको कामकाज प्रचलित कानूनको अधीनमा रही, मलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जनुसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट प्रकट वा सङ्केत गर्ने छैन ।
‘शपथ’ शब्द वा ‘शपथ ग्रहण’ शब्दावलीको अर्थका दृष्टिले उक्त शपथपत्रमा प्रयुक्त ‘प्रतिज्ञा’ शब्द ‘शपथ’ कै पुनरुक्ति हो । ‘शपथ लिन्छु’ भनेपछि ‘प्रतिज्ञा गर्छु’ भनिरहनु परेन ।
शपथपत्रमा नाम र पूर्णविराम बाहेक ८७ शब्दको एउटै वाक्य छ । यति धेरै शब्दको एउटै वाक्य पदङ्गति र अर्थसङ्गतिका साथ लेख्नु कठिन काम हो ।
एउटै वाक्यमा उस्तै अर्थ लाग्ने शब्द प्रयोग गर्नु लेखनशिल्पका दृष्टिले अज्ञानता हो । एउटा उदाहरण हेरौँ– काँडे भ्याकुर केवल नेपालमा मात्र पाइन्छ । यो वाक्यमा ‘केवल’ वा ‘मात्र’ मध्ये एउटा प्रयोग गर्नुपर्छ । दुवै प्रयोग गर्नु आपसमा दुवै शब्दको पुनरुक्ति हो ।
प्रधानमन्त्री र मन्त्रीहरूको शपथपत्रमा प्रयुक्त ‘प्रतिज्ञा’ र ‘शपथ’ अनावश्यक पुनरुक्ति हो ।
त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न अस्वीकार गर्नु र राष्ट्रपतिले दोहोर्याएर उच्चारण गर्दा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्नु ठिकै थियो ?
होइन, गलत थियो । गलत हुनाका कारण तीन वटा छन् ।
एक : प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गराउनेले एक सासमा सकिने गरी शब्दावलीको लय मिलाएर गरेको उच्चारण शपथ ग्रहण गर्नेले जस्ताको तस्तै दोहोर्याउनु पर्छ । यसो गर्दा उच्चारण जसले बिगार्छ उसकै गल्ती मान्नुपर्छ । शपथ ग्रहण गर्ने व्यक्ति गराउनेभन्दा बाहिर जानु शपथ ग्रहणको मान्यता र परम्परा विपरीत हो ।
दुई : अर्थका दृष्टिले शब्दको पुनरुक्ति भइहाल्यो भने पनि सामान्यतया गलत अर्थ लागिहाल्ने होइन । ‘प्रतिज्ञा गर्छु’ पछि अल्पविराम वा अर्धविराम चिह्न ( , वा ; ) प्रयोग गरेको भए प्रतिज्ञा गर्छु अनि शपथ पनि गर्छु भन्ने अर्थ लाग्छ । यस्तो चिह्न प्रयोग भएको छैन भने अशोभनीय ढङ्गको पुनरुक्ति देखिन्छ ।
तीन : शपथपत्र त शपथ ग्रहण गर्ने पदाधिकारीले अग्रिम हेरेको–पढेको हुनुपर्ने हो । यसो नहुनु प्रक्रियागत त्रुटी हो । शपथपत्र शपथ गराउनेको राजीखुसीले तत्कालै लेखिने होइन । यो पूर्वनिर्धारित लिखत हो । प्रधानमन्त्री ओलीले हेरेका–पढेका भए पहिले नै सम्पादन गर्न सकिने थियो होला ।
शपथपत्रमा प्रयुक्त शब्द ‘इमानदारिता’ संरचनाका दृष्टिले गलत छ । ‘इमानदार’ विशेषण हो । ‘इमानदार’ मा ‘ई’ प्रत्यय लागेर ‘इमानदारी’ नाम शब्द बनेको हो । सामान्यतया ‘ता’ उपसर्ग विशेषण शब्दलाई नाम शब्द बनाउन प्रयोग हुन्छ; जस्तै : नवीन (विशेषण) र नवीनता (नाम), सुन्दर (विशेषण) र सुन्दरता नाम ।
यसै गरी सामान्यतया ‘ई’ प्रत्यय नाम शब्दलाई विशेषण शब्द बनाउन प्रयोग हुन्छ; जस्तै : ‘नेपाल’ बाट नेपाली, ‘हिमाल’ बाट हिमाली इत्यादि ।
‘इमानदार’ मा ‘ई’ लागेर बनेको ‘इमानदारी’ नाम शब्द हो । यसमा फेरि ‘ता’ जोडेर ‘इमानदारिता’ बनाउनु शब्द संरचनाको ज्ञानको स्तर शून्य हुनु हो ।
राष्ट्रपति कार्यालयजस्तो देशको सर्वोच्च निकायबाट सम्पादन गरिने काममा भाषाको शुद्धता उच्च प्राथमिकतामा पर्नुपर्छ । नपर्नु भनेको आफ्नो भाषाप्रतिको उपेक्षा हो ।
यही उपेक्षाको परिणाम हो शुक्रबार प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा देखिएको र सुनिएको लज्जास्पद दृश्य र आवाज ।
राष्ट्रपति भण्डारीले गरेको ‘बहाल’ शब्दको उच्चारण ‘बाहाल’ सुनिएको छ । प्रधानमन्त्री ओलीले ‘बहाल’ उच्चारण गरेको सुनिन्छ ।
प्रश्न उठ्छ : प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेको र राष्ट्रपतिबाट सुनिएको निरीह ‘हिँहिँ’ शपथ ग्रहणको अंश हो कि होइन ?
अर्को उदेकलाग्दो कुरा के छ भने प्रधानमन्त्रीले उच्चारण गर्न अस्वीकार गरेको र ‘त्यो पर्दैन’ भनेको शब्दावली ‘प्रतिज्ञा गर्छु’ भनेरै राष्ट्रपतिले मन्त्रीहरूलाई शपथ ग्रहण गराइन् । मन्त्रीहरूले त्यही उच्चारण गरे ।
अझ उदेकलाग्दो र हास्यस्पद त के छ भने प्रधानमन्त्री आफूले अस्वीकार गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दावली नै उच्चारण गरेर राष्ट्रपतिकै सामुन्ने तीन जना राज्यमन्त्रीलाई ‘शपथ ग्रहण’ गराए ।
यो भन्दा मनपरी केलाई मान्नु र !
अझ गम्भीर कुरा यो हो कि प्रधानमन्त्री ओलीले किन आफ्नो शपथ ग्रहणमा मात्रै ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरे !
दनियाँलाई थाहा भएको कुरा हो, अमेरिकाका राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको शपथ ग्रहणमा ‘फेइथफुल्ली’ शब्दको स्थान फरक परेर ओबामा अलमलिँदा उनले दोहोर्याएर शपथ गरेका थिए ।
दोहोर्याउनुको कारण थियो- वाक्य संरचना र शब्द उच्चारणमा स्पष्ट हुनु ।
यसको अर्थ हो- शपथ ग्रहणमा प्रयुक्त शब्द र वाक्य व्याकरणका दृष्टिले शुद्ध हुनुपर्छ, उच्चारण शुद्ध र प्रष्ट हुनुपर्छ ।
अमेरिकामा राष्ट्रपतिको शपथ ग्रहणमा प्रधानन्यायाधीशका पछिपछि राष्ट्रपतिले शब्दावली उच्चारण गर्नुपर्छ ।
भारतमा राष्ट्रपतिले प्रधानमन्त्री र निकै ठूलो मन्त्रिपरिषदका सबै मन्त्रीहरूलाई एकएक जना गरेर शपथ ग्रहण गराउने चलन छ । राष्ट्रपतिले उच्चारण शुरू गरिदिएपछि शपथ ग्रहण गर्नेले एक्लै पढ्ने चलन छ । कतै गल्ती भएको अवस्थामा राष्ट्रपतिले तुरुन्तै दोहोर्याउन लगाएको दृश्य देखिएको छ ।
नेपालमा प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र मन्त्रीहरूलाई अलगअलग शपथ गराउने चलन छ, एकभन्दा बढी उपप्रधानमन्त्री भए एकसाथ हुन्छ ।
मन्त्रीहरू जति जना भए पनि समूहमा एकसाथ शपथ ग्रहण गर्छन् । यसरी धेरै जना एकसाथ बोल्दा कसले कसरी उच्चारण गर्यो, के भन्यो, केही पनि थाहा हुँदैन । यस्तो शपथ ग्रहण र खोलाको गीतमा केही फरक देखिँदैन ।
अपेक्षा गरौँ गल्तीबाट राष्ट्रपति कार्यालय र सम्बद्ध सबैले शिक्षा लिनेछन् र बेथिति सच्याउनेछन् ।
(शपथपत्रको लिखत विद्युतीय माध्यममा उपलब्ध अडियोबाट उतारिएको हो ।)
प्रतिक्रिया