सरस्वतीको विशेष पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी पर्व « Khabarhub

सरस्वतीको विशेष पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी पर्व


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।

सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

यसैले यी पेशा र व्यवसायमा रहेकाले सरस्वतीको विशेष आराधना गरेका छन् । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्धजस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागे थियो । सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : १९ बजे

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा