सन्ततिका हातमा सीप छाडेर जान चाहन्छन् कुम्हालेहरु « Khabarhub

सन्ततिका हातमा सीप छाडेर जान चाहन्छन् कुम्हालेहरु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोप हुँदै गएको माटाका भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्, भक्तपुर पोटरी स्क्वायरका कुम्हालेहरुले । हरेक दिन बिहानैदेखि यहाँका कुम्हालेहरु माटाका भाँडा बनाउन तल्लीन रहेको भेटिन्छन् ।

४५ वर्षीया मायादेवी प्रजापति आफ्ना श्रीमान् बुद्धिरामसँगै एकाबिहानै माटो खेलाउन थाल्छिन् । सासूसहित दुई छोरा र दुई छोरी गरी ७ जनाको प्रजापति परिवारको घरखर्च यसै कामले धानेको छ । बाजेबराजुदेखि नै चलिरहेको माटाको भाँडाकुँडा बनाउने यो पेशालाई आफूले निरन्तरता दिँदे आएको बुद्धिराम सगर्व बताउँछन् ।

यस पुख्यौली पेशाप्रति उनीहरुको ठूलो लगाव छ । त्यसकारण आफू भन्दा पछिका सन्ततिलाई त्यो सीप सुम्पेर जाने सोच प्रजापति दम्पतीले बनाएको छ । “बाबुबाजेदेखि चलिआएको परम्परा जोगाउनु हाम्रो धर्म हो,” बुद्धिराम भन्छन् ।

स्नातक तह अध्ययन गरिरहेका उनीहरुका छोरीहरुले पनि फुर्सदको समयमा माटाका भाँडा बनाउने काममा सघाउने गर्छन् । मायादेवी माटाका भाँडा बेचेर महिनाको २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने बताउँछिन । सिभिल इन्जिनीयरिङ्मा स्नातक उत्तीर्ण मायादेवीका छोरा रुपेशले आफ्ना भाइ रुपेनसँग मिलेर माटाका भाँडा बनाउने आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् ।

पोटरी स्क्वायरमै विष्णुप्रसाद प्रजापतिले पनि माटाको भाँडा बनाउने कामलाई मुख्य पेशाको रूपमा अङ्गाल्दै आएका छन् । उनका पुर्खाले पनि यसैलाई पेशा बनाएका थिए ।

दश वर्षको उमेरदेखि नै माटो र चक्रसँग खेल्दैआएको छु भन्छन् विष्णुप्रसाद । उनका बुबा गणेशकुमार प्रजापति अझै पनि माटाको भाँडा बनाउने काम गर्छन् । सानो आकारका भाँडा भए दुबैजना खट्दा दिनमा ५०० वटा जति बन्दोरहेछ । विष्णुप्रसादका अनुसार महिनाको आम्दानी ५० हजार रुपैयाँ जति हुन्छ र ती भाँडाहरु पोखरासम्म पुग्छ ।

पोटरी स्क्वायरका कुम्हालेहरुले हाँडी, अम्खोरा, खुत्रुके, करुवा, गमला, दियो, पानस, घ्याम्पा, गाग्री, गिलास, झुमर, धूपौरो र देवदेवी मूर्तिहरु बनाउँछन् । पोटरी स्क्वायरका अतिरिक्त यहाँको च्याम्हसिंह र ठिमीमा पनि माटाको भाँडा बनाइन्छ । सजावटका सामानहरुको ठूलो हिस्सा विदेश निर्यात हुन्छ । विगतमा अत्यधिक मात्रामा घरायसी प्रयोगमा आउने यस्तो भाँडाहरुको ठाउँ विस्तार विस्तारै प्लास्टिकका सामग्रीले ओगट्न थालेको पाइन्छ । नेपाली समाजमा पर्व र धार्मिक क्रियाकलापमा कतिपय माटाका भाँडाहरु नभै हुँदैन ।

यहाँका कुम्हालेहरुले भाँडा पोल्न भट्टा निर्माण समिति बनाएका छन् । पोटरी स्क्वायरमै तीनवटा सामूहिक भट्टा छन् । सानो भट्टा प्रयोग गर्दा सात सय रुपैयाँ र ठूलो भट्टामा नौ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पहिला माटोको भाँडा बनाएर घरखर्च चलाउन निकै गार्‍हो महसुश गरेका यहाँका कुम्हालेहरु आजभोलि आफ्नो पेशाप्रति सन्तुष्ट देखिन्छन् । माटाका भाँडाहरुको खुद्रा र थोक बिक्री दुबै चल्ने भएकाले बजारको त्यत्ति ठूलो चिन्ता उनीहरुलाई छैन । यस परम्परागत पेशालाई जोगाउनतर्फ सरकारले ध्यान दिन ढिलो भइसकेको र त्यस नभए यो पेशा कालान्तरमा गएर लोप हुने चिन्ता भने उनीहरुको छ ।

भाँडा बनाउन चाहिने कच्चा पदार्थ माटोको सहज उपलब्धता उनीहरुले सामना गर्दै आएको समस्या हो । भक्तपुरको दुवाकोट, साँखु र ललितपुरबाट उनीहरुले माटो ल्याउने गरेका छन् । सरकारका तर्फबाट कुनै एक निश्चित ठाउँको माटो मात्र प्रयोग गर्न सुझाएको छ । तर, त्यसरी आफ्नै लगानीमा जग्गा लिन संभव नभएको उनीहरु बताउँछन् । रासस

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ०५ बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको