कोरोनाले आनीबानीमा सुधार : स्वास्थ्य सतर्कताले सरुवा रोगमा कमी « Khabarhub

कोरोनाले आनीबानीमा सुधार : स्वास्थ्य सतर्कताले सरुवा रोगमा कमी


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका मानिसको जनजीवन अस्तव्यस्त बनेको छ । विश्वका करोडौँ मानिस सङ्क्रमित भएका छन् भने लाखौँले ज्यान गुमाएका छन् ।

कोरोनाकै कारण अर्थतन्त्र, शिक्षा, रोजगारलगायत धेरै क्षेत्रमा नकारात्मक परिणाम देखिए पनि मानिसको आनीबानीमा भने व्यापक परिर्वतन आएको देखिएको छ । धेरै नकारात्मक परिणामका बीच म्याग्दीमा कोरोनाकै कारण केही सकारात्मक परिवर्तन पनि भएका छन् । ती परिवर्तनमध्ये सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानिसको आनीबानीमा सुधार र स्वास्थ्यप्रति उच्च सतर्कता रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना सङ्क्रमणको डरले अपनाइएको स्वास्थ्य सतर्कताका कारण अन्य सरुवा रोगमा पनि कमी आएको म्याग्दीका स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाका शहरी क्षेत्रमा बसोबास गर्ने र शिक्षित वर्गले मात्र होइन, गाम्रीण क्षेत्रमा बसोबास गर्ने मानिसले समेत कोरोनाको डरका कारण पटक–पटक साबुनपानीले मिचीमिची हात धुने, दैनिकजसो मास्क लगाउने, सकेसम्म बाहिरको खाना नखाने र शुद्ध पानी पिउने गर्न थालेपछि सरुवा र मौसमी रोगको सङ्क्रमण निकै घटेको स्वास्थ्यकर्मीको भनाइ छ ।

‘पछिल्लो समय शहरका मात्रै होइन, ग्रामीण भेगका मानिसको आनीबानीमा समेत निकै परिवर्तन आएको छ, हप्तामा एक दिन नुहाउन पनि कठिन मान्ने गाउँका वृद्धवृद्धा, महिला र बालबालिकाले दिनहुँ प्रत्येक घण्टा साबुनपानीले मिचीमिची हात धुन थालेका छन्, बासी सडेगलेका खाना खाँदैनन्, पानी उमालेर मात्र पिउन थालेका छन्,’ अन्नपूर्ण अस्पतालका चिकित्सक डा लक्ष्मी पन्थीले भने ।

यो मौसम रुघाखोकी, दम, निमोनिया, झाडाबान्ता, ज्वरोजस्ता सङ्क्रमण देखिने मौसम हो । विगतका वर्षमा यस्ता रोगका बिरामीको अस्पतालमा भीड लाग्थ्यो तर कोरोनाको डरले मानिसमा फेरिएको आनीबानीले यस्ता सङ्क्रामक रोगका समस्या लिएर आउनेहरू कम भएको बेनी अस्पतालका चिकित्सकको भनाइ छ ।

धेरैजसो सरुवा रोग आफ्नो आनीबानी, दूषित पानी र फोहरका कारण लाग्ने गरेको चिकित्सा विज्ञानले पुष्टि गरिसकेको छ । व्यक्तिगत तथा घरायसी सरसफाइ र शौचालयको प्रयोगलाई आगामी दिनमा पनि नित्यकर्मकै रूपमा विकास गर्न सके यस्ता खालका रोगबाट बच्न सकिने स्वास्थ्यकर्मी लक्ष्मी सापकोटाले बताए । सरसफाइ र खानपिनलाई ध्यान दिन सके सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

पछिल्लो एक वर्षयता म्याग्दीमा सरुवा तथा मौसमी रोगका बिरामीको सङ्ख्या घटेको बेनी अस्पतालले जनाएको छ । कोरोना शुरु हुनुभन्दा अघि यस समयमा सरुवा तथा मौसमजन्य रोगका दैनिक ३० देखि ८० बिरामी आउने गरेकामा गत वर्षदेखि कोरोनाका कारण अपनाइएको स्वास्थ्य सचेतनाका कारण उपचार गराउन अस्पतालमा आउने बिरामीको सङ्ख्या न्यून देखिएको हो ।

कोरोना भाइरसले मानिसमा नकारात्मक प्रभाव पारे पनि आनीबानीमा सकारात्मक परिर्वतन ल्याएको छ । कोरोनाकै कारण यहाँका ग्रामीण बस्तीमा साबुनपानीले नियमित हात धुने बानीको विकास भएको छ । बालबालिका र वृद्धवृद्धाले समेत सरसफाइको महत्व बुझ्न पाएका बेनी नगरपालिका–२ बगरफाँटका ६५ वर्षीय पदमपाणि शर्माले बताए ।

सरुवा रोगबाट बच्न र बचाउन नियमित सरसफाइमा सधैँ ध्यान पुर्‍याउन सके आगामी दिनमा सरुवा रोगबाट बच्न सकिने कोरोनाले बदलिएको आनीबानीले पनि प्रमाणित गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : २९ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ