कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट « Khabarhub

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएका दुई अध्यादेश प्रदेश प्रमुखद्वारा जारी गरिएको उल्लेख छ ।

गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेयता प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण प्रदेशसभा बैठक सञ्चालन हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता सीता नेपालीले प्रतिपक्षी दल एमालेको अवरोधका कारण प्रदेशसभाबाट बजेट छलफल र पारित हुन नसकेपछि अध्यादेशको बाटो रोज्न बाध्य भएको बताए ।

प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८/७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले असार १ गते प्रदेशसभामा पेश गरेको रु ३६ अर्ब ५४ करोड ६६ लाख बराबरको बजेट नै अध्यादेशमार्फत ल्याइएको छ ।

सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने एमालेको माग थियो । एमालेको यही मागका कारण प्रदेशसभा बैठक चल्न सकेको थिएन । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । एउटै पार्टी सत्तापक्ष र प्रतिपक्षी भूमिकामा रहन नमिल्ने तर्क गर्दै उसले लगातार प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो ।

एमालेले भने विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने सरकारको निर्णयलाई असंवैधानिक भनेको छ । उक्त दलका नेता यामलाल कँडेलले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २१० को उपधारा १ र २ तथा कर्णाली प्रदेशसभा नियमावलीविपरीत सभामा विचाराधीन अवस्थामा रहेको विनियोजन विधेयकको आय–व्ययको अनुमानको बढीमा एकतिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने प्रावधान हुँदाहुँदै सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको भन्दै यसविरुद्ध कानूनी उपचार खोज्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : २४ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध