उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँबसपार्क’ | Khabarhub Khabarhub

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँबसपार्क’


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन ।

देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारी साधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो ।

नयाँ बसपार्कमा देशभरका ६५ भन्दा बढी जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन दैनिक आवतजावत गर्दै आए पनि कोरोना सङ्क्रमणका कारण उक्त कार्य रोकिँदै आएको छ । कोरोना सङ्क्रमणकै कारण यातायात बन्द हुँदा नयाँ बसपार्कमा मासिक रु दुई करोड ५० लाख नोक्सानी हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर निषेधाज्ञाका कारण लामो समय बन्द हुँदा नयाँ बसपार्कलाई मासिक करोडौँ नोक्सान भएको बताउँछन् । गत वर्ष पहिलो चरणको कोरोना सङ्क्रमणको समयमा झण्डै छ महिना बन्द रहेको नयाँ बसपार्क यस वर्ष दुई महिनाभन्दा धेरै समय बन्द भइसकेको छ ।

डेढ वर्षको समयमा आठ महिना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा रु २० करोडभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ रुपैयाँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।

शुरुका दिनमा जथाभावीरूपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको छ ।

नेपालको एक मात्र राष्ट्रिय बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बसपार्क बनाउने लक्ष्य राखिए पनि धेरै समय बन्द हुँदा समस्या परेको अध्यक्ष कुँवरको भनाइ छ । यस्तै कोरोनाका कारण नयाँ बसपार्क बन्द हुँदा वरपरको क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको छ ।

झण्डै एक हजार होटल तथा रेष्टुराँ रहेको सो क्षेत्रमा कोरोनाका कारण अधिकांश होटल बन्द रहेका छन् । नयाँ बसपार्कमा झण्डै ५० वटा दोहोरी साँझ सञ्चालनमा छन् ।

होटल व्यवसायी महासङ्घ नेपालका सचिव एवं नयाँ बसपार्कमा गोरखा लिगलिग होटल सञ्चालन गरेर बस्नुभएका नारायण गुरुङ लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा होटलमा पाहुना नआउने गरेको बताउँछन् ।

“लामो समय बन्दाबन्दी हुँदा बैंकको किस्ता र होटल भाडा तिर्न समस्या भएको छ, सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पछ्याउँदै होटल व्यवसाय सञ्चालन गर्न दिनुपर्छ”, उनले भने ।

सरकारले असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारी साधन सञ्चालन गर्न पाउने गरी खुला गरे पनि सडकमा भने यथेष्ट मात्रामा सवारी साधन अझै चल्न सकेको छैन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : १८ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका