राजनीति

खड्का र गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित

By खबरहब

December 16, 2021

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन् ।

विजयकुमार गच्छदार भने उपसभापति हुन २ मतले रोकिए । उनले १९०६ मत पाए । खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।

उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । नेविसंघका पूर्व अध्यक्षसमेत रहेको गुरुङ शेखर कोइराला प्यानलबाट उपसभापति लडेका हुन् ।

चौथो स्थानमा रहेका डा. चन्द्र भण्डारीले १५८० मत पाए । सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए । गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।

देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् । महामन्त्री पदको मतगणना आज (बिहीबार) बिहान हुने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।