महामन्त्रीमा गगन–विश्व : कांग्रेसमा रुपान्तरणसहित पुस्तान्तरण (भिडियो) | Khabarhub Khabarhub

महामन्त्रीमा गगन–विश्व : कांग्रेसमा रुपान्तरणसहित पुस्तान्तरण (भिडियो)


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नारा रुपान्तरण, पुस्तान्तरण र एकता तय गरिएको थियो । विहीबार पार्टीको महत्वपूर्ण पद महामन्त्रीमा निर्वाचित दुई चर्चित युवा अनुहारले महाधिवेशनको सो नारालाई पुष्टि गरिदिएको छ।

पार्टीको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापा र शर्मा रुपान्तरणसहितको पुस्तान्तरणका अगुवा बनेका छन् । किनकि उनीहरु दुवै जना सभापतिमा निर्वाचित शेरबहादुर देउवा टिमका उम्मेदवार होइनन् । अझ शर्मा त देउवा समूहबाट विद्रोह गरेर लगभग एक्लै चुनावी मैदानमा होमिएका थिए ।

त्यसमाथि महामन्त्रीमा पराजित डा. प्रकाशसरण महत र डा. मिनेन्द्र रिजाल थापा र शर्माभन्दा अघिल्लो पुस्ताका हुन्। त्यसैले पनि थापा र शर्माको जितलाई रुपान्तरणसहितको पुस्तान्तरणका रुपमा कांग्रेस वृत्तमा चर्चा भएको छ ।

युवामाझ लोकप्रिय छवि बनाएका थापा र शर्माले महामन्त्रीमा जितेसँगै कांग्रेसमा उल्लास छाएको छ ।

सर्वाधिक ३ हजार २३ मत ल्याएर थापा महामन्त्रीमा विजयी भएका हुन् भने शर्माले १ हजार ९८४ मत ल्याएर महामन्त्रीमा आफ्नो स्थान पक्का गरेका हुन् ।

थापा डा. शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारीमा दिएका थिए ।

शर्मा र थापालाई बधाई दिन पार्टी कार्यालय सानेपा पुगेका युवाहरुले उनीहरुलाई काँधमा बोकेर बधाई दिए ।

उनीहरुको जितले कांग्रेसमा युवा पुस्तान्तरणले नयाँ आयाम लिएको छ । उनीहरुले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै जित आफ्नो हातमा पारेका हुन् ।

बलियो गुट मानिएको पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका प्रदीप पौडेल र डा. प्रकाशसरण महतलाई पछि पार्दै उनीहरुले जीत हासिल गरेका हुन् । डा. मिनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीका उम्मेदवारी थिए ।

थापा र शर्मा यतिबेला चुनाव जित्न बलियो गुट मात्र नभएर कार्यकर्ताको चाहना पनि आवश्यक पर्छ भन्ने गतिलो उदाहरण पनि बनेका छन् ।

महामन्त्रीमा विजयी भएपछि थापाले पत्रकारहरुसँग कुरा गर्दै अब आफूलाई भोट नहाल्ने बाँकी साथीहरुको पनि मन जित्न प्रयास गर्ने बताए ।

उनले भने, ‘मलाई मतदान गरेर जिताउनुहुने सबैलाई धन्यवाद गर्दछु र भोट हाल्न बाँकी साथीहरुको पनि मन जित्ने प्रयास गर्नेछु ।’

चार वर्षे कार्यकालमा कुनै पनि दिन गलत मान्छेलाई भोट दिएछौँ भन्ने भाव जाग्न नदिन आफू दिनरात खटिने उनले बताए । उनले भने, ‘मलाई महामन्त्री बनाउन तपाईँहरू महिनौँदेखि खटिनुभयो अब खटिने पालो मेरो आएको छ ।’

महामन्त्रीको जिम्मेवारी इमान्दारिताका साथ निभाउने थापले प्रतिवद्धता समेत जनाएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै शर्माले यो जित एउटा व्यक्ति वा गुटको नभएर नेपाली कांग्रेस पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरुलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नवीन ढंगले नेतृत्व गर्न सक्ने कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए ।

पार्टीको प्रवक्तापछि महामन्त्रीको जिम्मेवारी निर्वाह गर्दै गर्दा गौरव र जिम्मेवारीप्रति गम्भीर रहेको अर्का महामन्त्री शर्माले बताए । अब कांग्रेस रुपान्तरित र आधुनिक बनेर जाने उनको भनाइ थियो ।

को हुन् गगनकुमार थापा

वि.सं. २०३३ सालमा काठमाडौँमा जन्मिएका गगनकुमार थापा त्रिचन्द्र क्याम्पस अध्ययन गर्दै गर्दा सक्रिय राजनीतिमा आएका हुन् ।

थापा कक्षा ९ मा अध्ययन गर्दा नै २०४६ सालको जनआन्दोलनमा होमिए पनि सक्रिय राजनीतिमा क्याम्पस अध्ययनपछि मात्र आएका हुन् । उनी परिवारका माइला छोरा हुन् । उनका एक दाई र दुई जना भाइ छन् ।

कलेज पढ्न थालेपछि कांग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध भएका थापा वि.सं. २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए ।

जीवनमा पहिलोपटक २०५१ सालमा जेल परेका उनी त्यसयता विद्यार्थी जीवनकालमा दर्जनौँ पटक जेल परेका छन् ।

उनी त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै वि.सं. २०५५ सालमा स्ववियु सभापति बनेका थिए । त्यसपछि उनी २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भए ।

२०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा २०७३ सालमा स्वास्थ्यमन्त्री बनेका थिए । यस्तै २०७४ को चुनावमा पनि थापा काठमाडौं–४ बाट निर्वाचित भए ।

कांग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बनेका थापा १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उठेका थिए । तर त्यतिबेला उनलाई सफलता मिल्न सकेन ।

यसपटक डा. शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनले अत्यधिक मत ल्याएर विजयी भएका छन् ।

को हुन् विश्वप्रकाश शर्मा

वि.सं. २०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका विश्वप्रकाश शर्मा ०३७ सालबाट राजनीतिमा होमिएका हुन् ।

वि.सं. २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा आएका शर्मा २०४१ सालमा पहिलोपटक गिरफ्तार भएका थिए ।

त्यसपछि २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका शर्मा वि.सं. २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका थिए ।

यसैगरी २०५३ सालमा नेविसंघ महामन्त्री हुँदै वि.सं. २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बनेका थिए । सोही वर्ष नै उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत बनेका थिए ।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएका शर्मा वि.सं. २०७२ सालमा भएको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

वि.सं. २०७० र २०७४ सालमा भएको आम चुनावमा झापाबाट सांसदमा उठेका उनी पराजित भएका थिए ।

२०७४ सालमा नै नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका उनले २०७६ सालमा नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । सोही जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरेका कारण उनले सबै कार्यकर्ताको मन जित्न सफल भएका छन् ।

१४ औँ महाधिवेशनको अन्तिमसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा रहेका शर्मा देउवाबाट महामन्त्रीको उम्मेदवार बन्न नसकेपछि सभापतिको उम्मेदवारी दिएका प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उठेका थिए ।

मिजासिलो स्वभाव भएका यी दुई युवा नेता, जनता र कार्यकर्तामाझ निकै रुचाइएका नेताको अग्रपङ्तिमा आउने गर्दछन् ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : ५७ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले