नेपालको पहिलो महिला प्रधानमन्त्री को हो ? | Khabarhub Khabarhub

नेपालको पहिलो महिला प्रधानमन्त्री को हो ?



लोकसेवा आयोगले लिने परीक्षाहरूमा सामान्य ज्ञानका प्रश्नहरू सोधिन्छन् । यस्ता प्रश्नहरू प्रायजसो इतिहास, भूगोल वा राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । कल्पना गरौँ ! नेपालको इतिहासको एउटा यस्तो प्रश्न सोधियो– नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

सरकारी सेवामा प्रवेश गर्न योग्य उम्मेदवारहरू चयन गर्ने नेपालको एक मात्र स्वतन्त्र निकायको प्रश्नावलीमा उक्त प्रश्न अहिलेसम्म नपरेको हुन सक्छ । लोकसेवा आयोगको मात्र नभएर हाम्रो मुलुकमा विद्यालयदेखि उच्च शिक्षासम्म प्रचलित परीक्षा प्रणालीले सिर्जनात्मक चेत होइन, स्मरण शक्तिको जाँच गर्छ ।

दुई वर्षदेखि कोभिड–१९ को प्रकोपले विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि यसको ठूलो असर परेको छ । नेपाल सरकारले २०७७ साल चैत ११ गते पहिलो लकडाउन घोषणा गर्‍यो । नेपाली जनताले राजनीतिक अभिष्टका कारण विभिन्न स्वार्थ केन्द्रले आह्वान गरेका ‘नेपाल बन्द’ को चपेटामा परी स्वतन्त्ररूपले गर्न पाइने आफ्ना गतिविधिमा रोक लगाइएका कुसंस्कार भोग्दै आएका थिए ।

कोरोना भाइरसको प्रसार रोक्न सरकारले नै ‘नेपाल बन्द’ आह्वान गर्‍यो । पूर्वजहरूले कहिल्यै नब्योहोरेको त्रासदी भोग्नुपर्‍यो । यातायात ठप्प भयो, बजार बन्द भयो, अर्थतन्त्र चौपट भयो ।

तर सबै नराम्रो भएन । कोभिड–१९ को प्रलयभित्र लुकेको चाँदीको घेराले अहिलेसम्म पनि नपल्टिएका केही भीमकाय ढुङ्गाहरू पल्टायो । विश्वमै इन्टरनेटको माध्यमबाट अन्तरक्रिया गर्ने र सभासम्मेलन गर्ने काम घाताङ्कीयरूपमा वृद्धि भयो । मोबाइलबाट वित्तीय कारोबार गर्नेदेखि भर्चुअल चौतारीमा विद्यार्थीको कक्षा चलाउनेजस्ता गतिविधि ह्वात्तै बढे । अर्थशास्त्रीले ठहर गरे– विगत २० वर्षमा नेपालले सञ्चार र प्रविधिमा जुन उपलव्धि हासिल गर्नसकेको थियो त्यही बराबरको उपलव्धि कोभिड–१९ को प्रकरण अवधिमा भएको छ ।

कोभिड–१९ नियन्त्रणमा नीतिगत सहयोग पुर्‍याउँदै आएको एक सञ्जालले विश्व नारी दिवसको अवसर पारी भर्चुअल चौतारीमा ‘नेपालको द्रुत आर्थिक विकासका लागि नारी नेतृत्व’ शीर्षकमा एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालको राजनीतिमा नारी नायकत्वको अभियानसँग जोडिएको ‘पहिलो महिला प्रधानमन्त्री’ बारे यो आलेखको शीर्षक प्रश्न सोधिएको थियो ।

यसरी लोकसेवाले नसोधे पनि कोरोनाकालले राजनीतिक र गैरराजनीतिक वृत्तका केही अगुवा महिलालाई यो प्रश्नको भुँवरीमा पार्‍यो । उत्तरमा धेरै नामहरू आए । कसैले द्वारिकादेवी ठकुरानीको नाम लिए । केहीले शैलजा आचार्य हो भनेर ठोकुवा गरे । कतिपयले सुजाता कोइरालाको नाम लिए त कतिले विद्यादेवी भण्डारी पनि भने ।

नेपालको इतिहासमा सूचीकृत अब्बल महिलाहरूको पङ्क्तिमा द्वारिकादेवी ठकुरानीको नाम शीर्षस्थानमा पक्कै छ तर उनी प्रधानमन्त्री नभएर उपमन्त्री थिइन् । उनी निर्वाचित पहिलो महिला सांसद पनि थिइन् । विकिपिडियाका अनुसार ब्राह्मण परिवारमा जन्मिएकी ठकुरानीले १९९२ सालमा अन्तर्जातीय बिहे गरेकी थिइन् ।

कांग्रेस नेतृ शैलजा आचार्य पहिलो उपप्रधानमन्त्री हुन् । २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएर तीन वर्ष जेल परेकी थिइन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि उपप्रधानमन्त्री भइन् ।

यसरी अगुवा महिला भएर पनि आफ्नो मुलुकको शासन सत्ताको शीर्षस्थानका पदहरूको भेद छुट्याउन नसक्नु र झिनोमसिनो प्रश्नको उत्तर पनि दिन नसक्नु अहिलेको युवा पुस्ताको प्रमुख समस्या हो । यसबाट एउटा निचोडमा पुग्न सकिन्छ– नेतृत्वको ठाडो भर्‍याङ चढ्नेमा हुनुपर्ने पहिलो योग्यता आफ्नो सरोकारको राजनीतिक या अन्य विषयको चेतको फराकिलो दायारा हो ।

नारी दिवसको कार्यक्रममा सहभागी राजनीतिक वृत्तमा आफ्नो वृत्ति विकासको भविष्य कोर्न तम्सेका केही युवा नेत्रीहरूलेसपाट उत्तर दिए– नेपालमा अहिलेसम्म कोही पनि महिला प्रधानमन्त्री भएका छैनन् ।

यसरी यो प्रश्नको भुँवरीमा फसेर सही उत्तरलाई आफ्नो चिन्तनको कित्तामा ल्याउन सफल उत्तरदाताले अर्को प्रतिप्रश्नको सामना गर्नुपरेको थियो ।

तपाईंको उत्तर सही छ । अब भन्नुहोस्, पहिलो महिला प्रधानमन्त्री तपाईं हुनसक्ने सम्भावना कति छ ?

यस्ता प्रश्नले उत्तरदाताको मथिङ्गल घुम्छ । प्रत्युत्पन्न उत्तर प्रायः आउँदैन । भीमसेना थापादेखि हालसम्मको २१५ वर्षमा नेपालको इतिहासमा ३८ जना पुरुषपात्रहरूको नाम प्रधानमन्त्री पदमा दर्ता हुँदा एक जना पनि नारीको नाम छैन ।

सात दशकको इतिहास भएको दलका पुरुष नेता पाँच पटक प्रधानमन्त्री हुँदा एक जना पनि महिलाले अवसर नपाउनु दुःखद आश्चर्य हो । भनाइमा आधा आकाश तर व्यवहारका कतिपय अवस्थाहरूमा पूरै आकाश ढाकेका नेपाली नारीहरू यस्तो अवसरबाट बन्चित हुनु समकालीन नेपालको ठूलो विडम्बना हो ।

लोकतन्त्र अभ्यासको तीन दशक पूरा हुँदा पनि मुलुकमा यो बिडम्वना किन यथावत छ ?

माधवी, मेरी निलिमा, सीता र द्रौपदी आदि पुस्तकका रचयिता मूर्धन्य साहित्यकार मदनमणि दीक्षितसँग कसैले जिज्ञासा राखेछ ।

‘तपाईंको लेखन किन नारीप्रधान हुन्छ ?’

परलोक हुनु केही दिनअघि घोस्टराइटिङ नामक संस्थाले आयोजना गरेको साहित्यानुरागीहरूको कक्षामा दीक्षितले उक्त प्रश्नबारे चर्चा गरेका थिए ।

सम्भवतः नारी नायकत्वको कुरा गर्दा अहिले पनि कतिपयले यो तर्क गर्लान् । नेतृत्वको खडेरी परेको बेला यसलाई लैङ्गिक विभेदको पक्षपाती आँखाले हेर्नु जरुरी छ ? हाम्रो आवश्यकता राजनेताको हो, नारी होओस् कि पुरुष । सम्भवतः दीक्षितको जवाफ नै यो आलेखको शीर्षकमा पानी छम्किन पर्याप्त हुन्छ–

दीक्षितले भनेका थिए :

म एउटा राजनीतिक चेत भएको मान्छे हुँ । मैले सडकमा निकालेका जुलुसहरू नियालेँ । त्यहाँ मैले न त अग्रभागमा, न त बीचमा, न त पुछारमा नारीहरू हिँडेको देखेँ । कहीँ कतै देखिए पनि त्यसले हाँसको बथानमा बकुल्लोको उखान चरितार्थ गर्दथ्यो । यसकारण नारी नायकत्वका बारेमा कलम चलाउन मैले उचित सम्झिएँ ।

दीक्षितका आँखाले नारीविनाको जुलुस देखे र आफ्नो दृष्टिकोण बनाए । हामीले अहिलेसम्म सरकार प्रमुखको सूचीमा नारीको नाम नदेख्नु र यो विषय प्रकारान्तले ओझेलमा पर्नुले आगामी पुस्ताले हामीलाई ‘आँखा भएका धृतराष्ट्र’ भनिदिए भने आश्चर्य नहोला ।

इतिहास साक्षी छ, अहिलेसम्म शीर्षस्थ स्थानमा पुग्नेहरूले त संघर्षको कि बिरासतको या नातागोताको भर्‍याङ चढेका छन् । उल्लिखित ठकुरानी, आचार्य, कोइराला र भण्डारीले हासिल गरेका उपलब्धिहरूको पृष्ठभूमिमा यिनै कारणहरू देखिन्छन् ।

दीक्षितले सोचेजसरी युवा नेतृत्वलाई हौसला र प्रेरणा दिँदा केही उपलव्धि त पक्कै होला तर यो विषयसँग जोडिएको अर्को पाटो पनि छ । त्यो पाटोमा केही प्रश्नहरू छन् । के आफ्नै मिहिनेत र परिश्रमले नेतृत्वको ठाडो उकालो चढ्न सम्भव छ ? कस्ता आचरण र चरित्रले त्यो उकालो यात्रामा सजिलो बनाउँछन् ?

नेपालमा भीमसेन थापादेखि हालसम्मको २१५ वर्षमा ३८ जना प्रधानमन्त्री हुँदा एक जना पनि महिला परेनन् । निरङ्कुश कालको कुरा अर्को, लोकतान्त्रिक कालमा एउटै नेता पाँच पटक प्रधानमन्त्री हुँदा पनि महिलाको पालो आएन । किन होला !

गत वर्ष फेब्रुअरीमा भारतको बनारसमा ‘भगवत गीता र रामायण : नेतृत्व कौशलका सदावहार स्रोत’ शीर्षकमा एक सम्मेलन भएको थियो । त्यसमा सिम्बायोसिस अन्तर्राष्ट्रिय विश्वविद्यालयकी प्राध्यापक सूर्य रश्मि रावतले प्रख्यात शास्त्रीय ग्रन्थ ‘सप्तशती चण्डी’ का केही श्लोकहरूका आधारमा नेतृत्व कौशलको व्याख्या गरेकी थिइन् ।

सर्वविदितै छ दशैँको नवरात्रमा पाठ गरिने यी श्लोकहरूमा दुर्गादेवीको व्यक्तित्व र रूपमा अन्तरनिहित विशेषताहरूको उल्लेख गरिएको छ । एक उदाहरण लिऊँ ।

या देवी सर्वभूतेषु छाया रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

प्राध्यापक रावतले आफ्नो कार्यपत्रमा उल्लिखत श्लोकको सन्देश नेताका चरित्रसँग जोडेर व्याख्या गरेकी थिइन्–

देवीको छाया रूपजस्तै एउटा नेता जहिले पनि जनताका साथमा हुनुपर्छ । दिनको चौबीसै घण्टा र हप्ताको सातै दिन ऊ जनताको पहुँचमा हुनुपर्छ । यसो भयो भने मात्र जनताले ठान्नेछन् कि कठिन समय आत्मसात गर्ने र राम्रो कामको प्रशंसा गर्ने नेता हाम्रो साथमा छ । यो विश्वासले जनतालाई नयाँ अवसरहरूको खोजी गर्न सघाउने छ । यसरी जनताले हासिल गरेका तीतामीठा अनुभवले नेतालाई खार्दै लैजान्छ ।

ग्रन्थको सोही अध्यायमा देवी अन्य गुणहरूको प्रतीकका रूपमा पनि मानिएकी छन् । राजनेता अनेक गुणहरूबाट ओतप्रोत हुन जरुरी हुन्छ । नेता विद्वान (बुद्धी रूप), शक्तिशाली (शक्ति रूप), सहनशील (क्षान्ती रूप), स्मरण क्षमता अब्बल भएको (स्मृति रूप), श्रद्धावान (श्रद्धा रूप) र मातृवत्सल (मातृरूप) हुन जरुरी छ ।

उसले आफू र आफ्ना अनुयायीहरूलाई आवश्यक पर्ने धन सम्पत्तिको जगेर्ना गर्ने सर्वमान्य स्रोतको व्यवस्था (लक्ष्मी रूप) गर्दै जीविका (वृत्ति रूप) र दैनिक गुजारा (क्षुधा रूप) निश्चिन्त गर्नुपर्छ । गल्ती भएमा या दोष देखिएमा त्यसमा लज्जा अनुभूति हुने (लज्जा रूप) र प्राप्त भएको उपलब्धिमा सन्तोष व्यक्त गर्ने (तुष्टी रूप ) गुणहरू हुन जरुरी छ ।

यी चरित्रहरू निर्माण गर्न साधनस्रोत व्यवस्था गर्न जो कोहीले पनि सक्छ । यसको लागि ठूलो धनराशी वा लामो समय चाहिने जमाना अब रहेन । विश्व मानचित्रमा हेर्दा कतिपयले छोटो समयमै आफूलाई अब्बल नेताको रूपमा स्थापित गरेका उदाहरणहरू छन् ।

फिनल्याण्डमा ३४ वर्ष उमेरकी महिला प्रधानमन्त्री छिन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना कालमा आफूलाई विश्वकै अब्बल नेत्रीका रूपमा स्थापित गराएकी छन् ।

‘नेतृत्व कौशल’ का यी विशेषताहरूबाट नेतृत्वको सगरमाथा आरोहण सम्भव हुँदैन । मुलुकको उपल्लो कार्यकारी बन्न इच्छा राख्ने नेताले आफ्नो कार्य सूचीका मौलिक सवालहरू जनतासामु खुलस्त राख्नुपर्छ । यस्ता सवाल समसामयिक र जनतालाई पिरोलिरहेका समस्या केन्द्रित हुनुपर्छ ।

२०२० जुलाई ०७ मा ‘ह्वाट्स अप’ मा ‘चेली–माइती समूह’ नामको एउटा टोली उदायो । यो समूह गठनको पृष्ठभूमिमा थिइन् प्रदेश १ की एक सांसद । वैदेशिक रोजगारीमा गएका महिलाहरू कोभिड–१९ को कारण धमाधम नेपाल फर्कन थालेका थिए । अतिशय यौन हिंसामा परेकाहरू कतिपय युवतीहरू बेवारिसे गर्भ बोकेर फर्कन बाध्य थिए । कतिले उतै आत्महत्या गरेका थिए ।

यस्ता नेपाली चेलीहरूलाई माइती बनेर बसेको राज्य वा अन्य निकायले केही सहयोग पुर्‍याए पनि जोखिम एकरत्ति घटेको थिएन । समूहले यो समस्या चिर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको थियो ।

नेपालका राजनीतिक अभियन्ताहरूले कार्यसूचीको पहिलो बुँदाको रूपमा राख्नुपर्ने यो महत्वपूर्ण विषय हो । महिलाका लागि उमेरको हद तोक्ने, वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने वा नाबालक सन्तान छोडेर जान नपाउने जस्ता नीति लागु गर्नु समस्याको समाधान होइन ।

आफ्नै मुलुकमा रोजगारी पाए, मर्यादित पेशा अँगालेर जीविकोपार्जन गर्न पाए ‘चालीस काटेसी रमाउँला’ भन्ने गीत गाउन पक्कै पनि कोही विदेश जाँदैनन् ।

नेपालका सबै दलहरूमा दास र स्वामीका शालिकहरू मूर्तिमान छन् । नेताले कार्यकर्तालाई सदस्यताको टीको लगाइदिने प्रथा छ । फरक मत राख्नेलाई किनारामा पार्ने चलन छ । यसर्थ, कुनै युवा नेताले आफ्नो कार्य सूचिमा यी स्वामीका पहाड भत्काउने बुँदा राख्न सक्छ । ऊ कालान्तरमा मूर्तिभञ्जक बनेर उदाउन सक्छ ।

नेपालमा अहिले पनि राउटे समुदाय जङ्गलमा बस्छ । उनीहरूलाई राज्यले नागरिकता पनि दिन सकेको छैन । केही दिनअघि एक राउटे युवतीको अश्लिल भिडियो बनाएर सार्वजनिक गरेको भन्ने समाचार आएको थियो । नागरिकता नहुनेको उजुरी पनि नलाग्न सक्छ । राउटे समुदायका सदस्यलाई नेपाली नागरिक बनाई राज्यको मूलप्रवाहमा ल्याउन पहल गर्ने अर्को राजनीतिक मुद्दा हुन सक्छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्री हुने अवसर अहिले राजनीतिमा होमिएका र नेपाली नागरिकता भएका सम्पूर्ण नेतृहरूलाई खुला छ । दृढ सङ्कल्प र निरन्तरको साधनाले यो कार्य असम्भव छैन ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष हुन् )

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : २५ बजे

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि