रोया रहमानी अमेरिकाका लागि अफगानिस्तानका राजदूतका रूपमा कार्यभार सम्हाल्ने प्रथम महिला हुन् । उनी २०१८ देखि गत महिनासम्म राजदूत थिइन् । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि सीएनएनका लागि पिटर बर्गेनले रहमानीसँग अन्तरवार्ता लिएका थिए । अमेरिकामै रहेकी रहमानीले अफगानिस्तानमा रोकिएको गृहयुद्ध फेरि शुरू हुने आशङ्का व्यक्त गरेकी छिन् । साथै, उनले तालिवान शासनमा अफगान महिलाको अधिकार हनन हुने बताएकी छिन् ।
चार दशक लामो युद्धको अवस्था शुरूवात हुने गरी अफगानिस्तानमा सोभियत संघको उपस्थिति हुनुअघि नै १९७८ मा काबुलमा जन्मिएकी रहमानी बाल्यकालमै शरणार्थीको रूपमा पाकिस्तानमा पुगेर हुर्किएकी थिइन् । क्यानडाको म्याकगिल विश्व विद्यालयबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेपछि कोलम्बिया विश्व विद्यालयबाट सामान्य प्रशासनमा स्नातकोत्तर गरिन् । अमेरिकाका लागि राजदूत भएर वासिङ्टन डीसी पुग्नुअघि रहमानी इन्डोनेसियाका लागि अफगानिस्तानको राजदूत थिइन् । बर्गेनसँग छलफल सीएनएनले संक्षिप्त रूपमा प्रस्तुत गरेको छ ।
बर्गेन : तपाईंले अहिले कस्तो महसुस गरिरहनु भएको छ ?
रहमानी : दुःखी र चिन्तित । म अब के होला भन्नेमा अति नै चासो दिइरहेकी छु । म मेरो परिवारको बारेमा र मेरा आफन्तहरू कसरी घर फर्कने भन्नेमा अति नै चिन्तित छु ।
बर्गेन : तपाईलाई के लाग्छ, अहिले भइरहेको समयलाई हामी बचाउन सक्थ्यौँ ?
रहमानी : हो, पक्कै पनि । यो पक्कै बचाउन सकिने थियो । मलाई लाग्छ, अहिले कसैलाई इङ्गित गर्नु या कसैलाई आरोप लगाउनुको अर्थ हुन्न । यो दुर्भाग्य हो कि हामी यस अवस्था छौँ । तर, सत्य हो कि हामी यही अवस्थामा छौँ ।
यसले अफगान प्रजातन्त्रको अपरिपक्व असफलताको संकेत गर्छ । यसले असफल कूटनीतिको संकेत गर्छ । यसले अन्तर्राष्ट्रिय सहयोग र सहायताको असफलता संकेत गर्छ ।
मलाई लाग्छ, यसले अमेरिकाले गरेको सम्पूर्ण त्याग, हाम्रा सहयोगीहरूबाट र गएका २० वर्षमा अफगानहरूले बगाएको त्यति धेरै रगत, आँसु र पसिनाको मूल्यमा प्रश्न उठेको छ ।
बर्गेन : तालिवानले यति छिटो देशलाई कब्जामा लिँदा तपाईंलाई आश्चर्य लागेन ?
रहमानी : लागेन । मलाई लाग्छ, अन्तर्राष्ट्रिय समुदायका धेरै जनाले यसलाई आश्चर्यको रूपमा लिए । तर म अफगानिस्तान राजनीतिक विभाजनको संघारमा फर्किएपछि हाम्रा सुरक्षा निकायको नैतिक बलमा आएको गिरावटको बारेमा सचेत थिएँ । धेरै स्थानमा अफगान सुरक्षा संयन्त्रलाई काबुलबाट सहयोग नै भएन ।
बर्गेन : के यसले २०१४ को गृष्ममा इराकमा भएको घटनाको स्मरण गराएको छ जहाँ आईएसआईएसले सत्ता लिँदा इराकी सेनाले लडाइँ गरेन ?
रहमानी : हो, त्यहाँ केही समानताहरू छन् । पहिलो कुरा त इराकी नेतृत्वले इराकको यथार्थ बेवास्ता गर्ने कुरा पनि यस्तै थियो । त्यो समावेशी सरकार थिएन । राजनीतिलाई सञ्चालन गर्ने र सैन्य रणनीतिको विषयमा अपरिपक्वता थियो ।
बर्गेन : ह्वाइट हाउसबाट यो सूचना आइरहेको छ कि राष्ट्रपति जो वाइडेन सही थिए । पछिल्ला घटनाहरूले अफगान सरकार र अफगान सेना कमजोर थिए भन्ने देखाउँछ र यसै कारणले सबै ध्वस्त भयो । यी तथ्यले प्रमाणित गरेको छ कि बाइडेन सही थिए ।
रहमानी : म राष्ट्रपतिको अवस्थालाई राम्रोसँग बुझ्छु किनभने उहाँले भन्नुभयो कि अहिलेको साटो ६ महिना या एक वर्षसम्म यसै गरेको भए पनि खासै फरक हुँदैन थियो । दुर्भाग्यवश म यो कुरा स्वीकार गर्छु कि खासै फरक हुँदैन थियो । किन ? किनभने, अन्तर्राष्ट्रिय समुदायले समयमै नयाँ समावेशी सरकार स्थापित गरी व्यवस्थापन गर्न केन्द्रित गर्न र शान्ति स्थापना गर्नमा मध्यस्थता गर्ने काम गरेनन् । यसो गरेको भए दीर्घकाली शान्ति प्रक्रियाको लक्ष्यमा जान सहयोग गर्ने थियो ।
बर्गेन : के अफगानिस्तानमा शून्य अमेरिकी सेनाको आवश्यकता थियो ? किनभने त्यहाँ अन्य ७ हजार हजार नाटो सैनिक थिए, जसले छाडे र १६ हजार ठेकेदारले पनि छाडे । के यो आवश्यक थियो ?
रहमानी : पक्कै पनि यसले तालिवानको सत्ता लिने गतिलाई सजिलोसँग छिटो बनायो । यसमा कुनै प्रश्नै उठ्दैन ।
बर्गेन : तपाई अफगानिस्तानबाट अमेरिकामा पहिलो राजदूत हुनुहुन्छ र महिला पनि हुनुहुन्छ । तपाईंलाई के लाग्छ, तालिवान नेतृत्वको सरकारले भविष्यमा महिला राजदूत पठाउँछ ?
रहमानी : अहँ । मैले उनीहरूलाई बुझेअनुसार र मैदानमा उनीहरूको भूमिका हेर्दा म यस कुरामा डराइरहेकी छु कि अब महिलाले आधारभूत अधिकार नै गुमाउनु पर्ने छ ।
बर्गेन : कुन अधिकार जोखिममा छ ?
रहमानी : शिक्षादेखि रोजगारीसम्मको पहुँचमा । कतिसम्म भने महिलाको सार्वजनिक स्थानमा उपस्थिति पनि सह्य हुँदैन । मैले सुनेकी थिएँ, हेरातमा तालिवनका एक प्रतिनिधिले महिलाहरू प्रशासन र न्याय क्षेत्रमा काम गर्ने सवालमा भनेका थिए, ‘ओहो त्यो त धेरै कठिन काम हो । महिलाले शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र काम गर्न सक्छन् ।’
यो उनीहरूको मानसिकता हो कि तालिवानहरू महिलालाई बराबर नागरिकभन्दा तल्लो दर्जामा राख्ने प्रस्ताव गर्छन् । पुरानो अनुभवकै आधारमा तालिवानको शासनमा हुन सक्ने नागरिक अधिकारका बारेमा केही सोच्ने विषय छन् । त्यसका बाबजुद पनि महिलाको भूमिका त्याग गर्ने र कतै नदेखिने खालको नै हुने छ ।
(पिटर बर्गेन सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक हुन् । न्यु अमेरिकाका उपसभापति तथा एरिजोना स्टेट युनभर्सिटीका प्रोफेसर अफ प्राक्टिस रहेका उनले १९९९ देखि अफगानिस्तानबाट रिपोर्टिङ गरेका हुन् । उनले लेखेको पुस्तक राइज एन्ड फल अफ ओसामा बिन लादेन प्रकाशित छ । उनले लिएको यो अन्तर्वार्ता १५ अगस्टमा प्रकाशित भएको थियो । यो अन्तर्वार्ता खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया