जारी भयो ई–पासपोर्ट « Khabarhub

जारी भयो ई–पासपोर्ट


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरे । साथै उनले शताब्दी पुरुषको उपमा पाएका जोशीलाई अभिनन्दन पनि गरे ।

राहदानी विभागले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डानुसार सुरक्षाका सबै विशेषता समेटिएको गुणस्तरीय राहदानी जारी गरिएको बताए । समयबद्धरूपमा विदेशस्थित नेपाली नियोग र सबै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी जारी गरिने जानकारी पनि परराष्ट्रमन्त्रीले दिए ।

दुई दिनअघि राष्ट्रिय परिचयपत्र पाएका जोशीले राणाकालमा तत्कालीन लङ्का र हालको श्रीलङ्का यात्रा आफूले ‘जो जससँग सम्बन्धित छ’ सिफारिसका आधारमा गरेको, २००७ सालमा मुन्सिखानाबाट पहिलोपटक राहदानी लिएको तथा श्रीमतीको राहदानीमा आफ्ना दुई सन्तानको समेत तस्बिर राखेर चीनको यात्रा गरेको स्मरण सुनाए ।

“हाम्रो देश सानो भए पनि इ–पासपोर्ट संसारभर सबैको एकै हुन्छ, अन्तर्राष्ट्रिय जगतमा हाम्रो हैसियत सबैसँग समान छ”, विद्युतीय राहदानीको माध्यमबाट देशको गरिमा बढ्ने तर्क गर्दै उनले भने ।

परराष्ट्र सचिव भरतराज पौड्यालले हस्तलिखित राहदानीको युगलाई पछाडि छोडेर यन्त्रले पढ्ने राहदानी (एमआरपी) हुँदै अब विद्युतीय राहदानी लिएर यात्रा गर्ने अवस्थामा नेपाली पुग्नु गौरवको विषय भएको बताउँदै सेवाग्राहीलाई इ–पासपोर्ट र एमआरपी समानान्तररूपमा जारी गरिने जानकारी दिए ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले ३४ र ६४ पृष्ठका विद्युतीय राहदानीका विशेषताबारे जानकारी दिँदै एमआरपीका निम्ति लाग्ने दस्तुर नै इ–पासपोर्टमा पनि लागू हुने बताए। विभागबाट एमआरपी लिँदा रु १० हजार र जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट राहदानी लिँदा सेवाग्राहीले रु पाँच हजार दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागबाट ६४ पृष्ठको इ–पासपोर्ट लिन चाहने सेवाग्राहीले भने रु २० हजार राजस्व बुझाउनुपर्नेछ ।

एघार वर्षअघिसम्म हस्तलिखित राहदानी प्रयोग गर्ने नेपाल त्यसपछि एमआरपी हुँदै अब इ–पासपोर्ट प्रयोग गर्ने देशमा रूपान्तरण भएको छ । विद्युतीय राहदानीमा बाहेकको व्यक्तिगत विवरण ‘चिप्स’मा सुरक्षित तवरले राखिएको हुन्छ जसलाई विशेष यन्त्रले मात्र हेर्न र पढ्न सकिन्छ । यद्यपि यो राहदानी एमआरपी वा हस्तलिखित राहदानीजस्तै हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : २३ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न