काठमाडौँ – भारतको राजधानी दिल्लीमा कुम्भ मेलामा सहभागी भएर आएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।
हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि त्यहाँबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरूले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारको निर्देशन नमान्नेहरूलाई कानून अनुसार कडा सजाय हुने चेतावनी पनि दिएको छ । प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टाइन बसे पनि हुने उल्लेख गरिएको छ । यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरूले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।
कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो । लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरू खुलेआम उल्लंघन भएको थियो ।
दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै दिन संक्रमित भएकाहरूको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया