गृहयुद्धको बाटोमा अफगानिस्तान | Khabarhub Khabarhub

गृहयुद्धको बाटोमा अफगानिस्तान


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगान सहर कान्दहारको एक सिया मस्जिदमा शुक्रबार भएको आक्रमणमा ४० जनाभन्दा बढीको ज्यान गयो । एक दर्जनभन्दा बढी घाइते भए । बिबि फतिमा मस्जिदबाट लिइएको एक तस्बिरमा धेरै लासहरू भुइँमा छरपस्ट भएको तथा मस्जिदमा उपस्थित इस्लाम धर्मावलम्बी धेरै मानिसहरूले सहयोगका लागि याचना गरिरहेको दृश्य प्रष्ट देख्न सकिन्थ्यो ।

आत्मघाती आक्रमण हुँदा मस्जिदमा धर्मावलम्बीहरूको घुइँचो लागेको थियो । आक्रमणमा इस्लामिक स्टेट ग्रुप (आईएसआई) संलग्नता रहेको जनाइएको छ । समाचारहरूमा उल्लेख भएअनुसार मस्जिदभित्र दुई व्यक्ति प्रवेश गरेर आफ्नो जीवन त्याग गर्नुअघि सुरक्षाकर्मीको हत्या गरेका थिए ।

अब्दुल्लाह नामका एक व्यक्तिका अनुसार आक्रमणकारीहरूले पहिले पाठ गरे अनि आक्रमण गरे । उनले जनाए अनुसार तीन वा चार ठाउँमा एकै पटक विस्फोट भएको थियो ।

विस्फोटमा परेका मानिसहरू भुइँमा ढलेका थिए । यीमध्येका धेरैको ज्यान गयो । यी नै मध्येका केही मानिसहरू सहयोगको याचना गरिरहेका थिए ।

शुक्रबार मस्जिदमा धेरै भिड हुने गर्छ । आक्रमणपछि कम्तीमा १५ वटा एम्बुलेन्स सक्रिय भएका थिए । त्यसै समयमा तालिवानको विशेष टास्क फोर्सले सो स्थानलाई नियन्त्रणमा लिँदै सबै रक्तदान गर्न अनुरोध गरेको थियो ।

इस्लामिक स्टेटको समन्वयमा रहेको ‘आईएसके’ को प्रान्तीय शाखाले यस अवधिमा धेरै स्थानमा आक्रमण गरिसकेको छ । साथै यसले लगातार तालिवान राज्यको विरोध गरेको छ । पछिल्लो आक्रमण भएको कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो ।

गत शुक्रबार पनि अर्को सिया मस्जिद कुन्दुजमा आक्रमण भएको थियो । सो आक्रमणमा ५० जनाको ज्यान गएको थियो । ‘आइएसके’ ले त्यो आक्रमणको जिम्मेवारी लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको त्यो सबैभन्दा ठूलो आक्रमण थियो ।

आइएसके सुन्नी मुस्लिम सङ्गठन हो । यो मुस्लिम लडाकु सङ्गठनमध्ये सबैभन्दा कठोर प्रकृतिको मानिन्छ । यसले अफगानिस्तानका सुरक्षा निकाय, राजनीतिज्ञ र मन्त्रीहरू तथा सिया मुस्लिमसहित त्यहाँका सिख लगायत अल्पसंख्ययकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको छ । पत्रकार र अधिकारकर्मी पनि यो समूहको लक्षित व्यक्ति हुन् ।

सिया मुस्लिमहरूमाथि सुन्नीहरूको यो आक्रमण पहिलो होइन । अफगानिस्तानमा धेरै वर्ष अघिदेखि बारम्बार सियामाथि सुन्नीको आक्रमण हुँदै आएको छ ।

अफगानिस्तानको कुल जनसंख्याको १० प्रतिशत सिया मुस्लिम छन् । यिनीहरू धेरैजो हजारा सम्प्रदायका हुन् । यो देशको तेस्रो ठूलो संख्याका आदिवासी समूह हो । गत महिना एमनेस्टी इन्टरनेसनलले १३ जना हजारालाई सुन्नीले मारेको आरोप लगाएको थियो ।

जुन महिनाको तेस्रो सातामा पनि अफगानिस्तानमा एउटा भयङ्कर ठूलो हमला भएको थियो । हमलामा ६० जना अफगानीको साथमा १३ जना अमेरिकी सैनिक मारिएको जनाइएको थियो ।

उक्त आत्मघाती कदम अमेरिकाले २० वर्षपछि आफ्ना सेना फिर्ता गर्ने अन्तिम डेट लाइनको केही दिनअघि भएको थियो । उक्त घटनाको पनि आइएसकेले जिम्मेवारी लिएको थियो ।

अहिले अफगानिस्तानमा लगातार आक्रमण गरिरहेको आईएसके आईएसको खोसारान अवस्थित प्रान्तीय स्वरूप हो । सन् २०१५ मा इराक र सिरियामा आईएसको शक्ति व्यापक भएको समयमा आईएसकेको प्रभाव पनि त्यत्तिकै बढेको थियो ।

अहिले अफगानिस्तान र पाकिस्तानको भूभाग भएको स्थान नै खुसारान हो । यसकारण आइएसकेले पाकिस्तानमा आईएसको भिन्न शाखा या आफ्नै भिन्न स्वरूपको सङ्गठनको निर्माण नभएसम्मका लागि त्यहाँको भूभाग पनि हेर्ने गरेको थियो ।

यसमा ३ हजार जना लडाकु रहेको अनुमान छ । तर, यो संख्याले अमेरिकी सेनाको विरुद्धमात्र होइन, तालिवान र अफगानिस्तानको सुरक्षा निकायसँग वर्षौंदेखि भिड्दै आएको छ ।

पछिल्ला केही वर्षहरूमा आईएसकेले संवेदनशील क्षेत्रमा समेत आक्रमण गरेको आरोप लागेको छ । विद्यालय र अस्पतालको मेटरनिटी वार्ड समेत यिनीहरूको निशानामा परे । नर्स र गर्भवती महिलामाथि पनि आक्रमण गरेको आरोप यो समूहमाथि लागेको छ ।

यो समूहको सम्बन्ध लागु औषध कारोबारीसँग रहेको ठानिएको । अफगानिस्तान र पाकिस्तानमा पनि यिनीहरूको संलग्नतामा लागु औषध ओसारपसार हुन्छ भन्ने आरोप लाग्ने गरेको छ ।

आईएसकेले अफगानिस्तानका नान्गहर, काबुल, कुनार, जोज्वाजान, पाक्टिया, कुन्डुज र हेराटमा भएको आक्रमणको जिम्मा लिएको छ ।

हकानीको माध्यमबाट यिनीहरूको तालिवानसँग सम्पर्क भएको दाबी धेरैको छ । अलकायदामा समेत संलग्नता रहेको हकानीको अहिले अफगान राजनीतिमा धेरै प्रभावशाली उपस्थिति छ । अफगानिस्तानको सुरक्षा अवस्थाबारे अध्ययन गर्नेहरूले हकानी र आइएसकेको बीचमा पनि गहिरो सम्बन्ध रहेको दाबी गरेका छन् ।

काबुलमा कुनै समय सुरक्षा निकायले हकानीको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर समेत तोकेको थियो ।

एसिया प्यासिफिक फाउन्डेसनका डा. साजन गोहेले विगत एक वर्षदेखि अफगानिस्तानमा मिलिटरी नेटवर्कबारे अध्ययन गरिरहेका छन् । उनले सन् २०१९ देखि सन् २०२१ को बीचमा भएको प्रमुख आक्रमणमा तालिवानको हकानी समूह, आइएसके र पाकिस्तानका केही आतङ्कवादी सङ्गठनको मिलेमतोमा भएको दाबी गरेका छन् ।

अगस्टमा १५ मा तालिवानले सत्ता कब्जा गरेपछि पुलइ चर्क जेलबाट ठूलो मात्रामा कैदीहरू छुटाइएका थिए । यसरी छुटाइनेमा एसआई र अलकायदाको लडाकु पनि थिए ।

अहिले आइएसको उदयले तालिवान सत्तालाई कतिपय स्थानमा समस्या थप्नेछ भने पश्चिमा देशसँगको लडाइमा तालिवानसँग मिल्न पनि सक्नेछ ।

त्यसो त थुप्रै सुरक्षा विज्ञहरूले २६ अगस्टको घटनापछि आईएसकेको शक्तिलाई कम आँक्न नहुने कुरामा जोड दिएका थिए ।

यसअघि नै जानकारहरूले इराक र सिरियामा इस्लामिक स्टेटको बलियो उपस्थिति रहेपछि अफगानिस्तान र पाकिस्तानका केही भूभागमा यसको उत्तिकै प्रभाव रहने बताउँदै आएका थिए ।

सन् २०१५ मा स्थापित आइएसकेले छोटो समयको अन्तरमा नै अफगानिस्तान धेरै उत्तरी गाउँमा कब्जा जमाइसकेका थियो ।

अफगानिस्तान र पाकिस्तानकै अल्पसंख्यक समूहमाथि आईएसकेले लक्षित आक्रमण हुन थालेको तीन वर्ष भएको छ । इन्स्टिच्युट फर इकोनोमी एन्ड पिस ग्लोबल टेरोरिजम इन्डेक्सका अनुसार २०१८ मा यो संसारको चौथो ठूलो आतङ्कवादी सङ्गठन बनिसकेको थियो ।

सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुवातसम्ममा आइएसकेका १४ सय लडाकुले अमेरिकी नेतृत्वको सैन्य बलका सामु आत्मसमर्पण गरेकाले यो समूह कमजोर भएको आकलन गरिएको थियो ।

आईएसकेको स्थापनामा नै पाकिस्तानी तालिवान, अफगान तालिवानका अतिरिक्त केही उज्वेकहरूको साथ तथा सक्रिय भूमिका रहेको मानिएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी सिमाना तथा पूर्व अलकायदाको पकड क्षेत्र तोरा जोरा नजिकै नान्गरहार प्रान्त यो समूहको पकडको क्षेत्र मानिन्छ । यसै क्षेत्रमा यिनीहरूले सुरुवाती कब्जा जमाएका थिए ।

यसको उद्देश्य नै केन्द्रीय तथा दक्षिण एसियामा इस्लामिक स्टेटको गतिविधिलाई तीव्र पार्ने हो । क्षेत्रीय रूपमा रहेको मुस्लिम आतङ्कवादी समूहलाई एकत्रित गर्दै ठूलो समूह बनाउँदै जाने र शक्ति जम्मा गर्ने यसको रणनीति रहेको छ ।

संसारको भूराजनीतिलाई नियालिरहेका धेरै समीक्षकहरूको मतमा यो समूहले बिस्तारै केही समयमा आफूलाई ठूलो शक्तिको रूपमा स्थापित गर्नेछ । शायद अब तालिवान सरकारको लागि यो सबैभन्दा टाउको दुखाइको विषय हुनेछ ।

एउटा अतिवादीको विरुद्धको अर्को अतिवादी शक्तिको उदयले अफगानिस्तानलाई अझ लामो समय युद्धको भुमरीमा धकेल्ने निश्चित झैँ देखिएको छ ।

सन् ७० को दशकको अन्त्यबाट युद्धको चपेटामा परेको अफगानिस्तान अब लामो समय यस चपेटाबाट बाहिर निस्कने सम्भावना कमै देखिन्छ ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ५५ बजे

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन विद्युत् आयोजना

काठमाडौं – चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण

डलर र युआन घट्यो : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ८ गते शनिबार सन्