जाजरकोट– विद्यालय पढ्ने उमेरमा आर्थिक संकट भएपछि भारत गएर कमाउने सपना बोक्नेहरु कुलतमा फसेर फर्कने गरेको पाइएको छ।
सुरुमा रमाइलोको लागि सेवन गरिने मदिराजन्य पदार्थपछि लतकै रुपमा प्रयोग गर्न थालेपछ अधिकांश युवाहरुको उर्जाशील समय खेर गएको छ ।
विद्यालय उमेरका बालबालिकालाई फकाइएर भारत लैजाने, आर्थिक शोषण गर्ने समूहको फन्दामा परेर धेरै युवाहरु कुलतको दलदलमा फसेको पाइएको हो ।
प्रलोभनमा परेर भारत पुर्याइ बालबालिकालाई श्रम शोषण गरेर ठेकेदारहरु सम्पर्कविहीन हुँदा उनीहरु अलपत्रमा पर्ने गरेका छन् । वर्षौँसम्म भारतका बिभिन्न ठाउँमा बिताउँदै गर्दा कुलतमा फसेर जिन्दगी नै बर्बाद हुने गरेको छ ।
त्यसमा पनि ऊर्जाशील समय भारतमा विताउँदा पछिल्लो जीवन कतिपयको कष्टकर बनेको छ ।
केही सर्वसाधारणहरु आर्थिक रुपमा सक्षम हुन भारत गए पनि वर्षौ बसेर खाली हात फर्कँदा आफ्नो थाकथलोमा भएको जमिनसमेत बाँझो हुन पुगेको छ । मनग्य पैसा कमाउने भन्दै ७ वर्ष पहिला परिवारसहित भारत पुगेका बारेकोट गाउँपालिका –२ का दिपी नेपालीको परिवार अहिले रित्तो हात फर्किएको छ ।
१२ घण्टा काम गरेर पनि कमाइ नभएपछि आफूहरु हैरान हुँदै घर फर्कन बाध्य भएको उनले बताइन् । दैनिक ३५० कमाइले के हुनु ? उनले थपिन् ।
‘भारतमा गएर अर्काको काम गरेर जिन्दगी कहाँ सप्रिनु , मात्र आफ्नो घरको सबै सकिने हो ?’, उनले भनिन् । भारतमा २८ वर्ष विताएर रित्तो हात फर्किएका नरबहादुर विक अहिले घर आएर भाइबुहारीसँग बस्न बाध्य छन् । ‘न कमाई भयो, न उमेर बच्यो’ भारतीय नागरिकको गुलाम बनेर जवानी फालेको गुनासो उनले पोखे ।
बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपाली ३ वर्ष पहिले भारतमा छोराछोरीसहित सबै परिवार लिएर गए । अहिले घर फर्किँदा रित्तो हात आएका उनीहरु एकातिर छोरा, छोरीको पढाइ बिग्रियो अर्को तीर घरखेत बाँझो रहेको भन्दै पीडा सुनाउँछन् । ऊर्जाशिल उमेर खेर गएको भन्दै पछुताउनु बाहेक अन्य बाँकी नरहेको अधिकांको गुनासो छ ।
कोही बाध्यता त कोही लहइलहइमा लागेर भारत गई समस्यामा परेको धेरै उजुरी तथा गुनासो आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ु
‘कम्तिमा महिनामा १२ भन्दा बढी भारत गएकाहरुको मात्र गुनासो आउने गरेको छ,’ डीएसपी मधुकुमार थापाले बताए । सिमानामा पर्ने समस्यदेखि बाटोमै लुटिने सम्माको गुनासो अत्यधिक रहेको उनले बताए । न्युजकारखाना
प्रतिक्रिया