काठमाडौँ– झापा लक्ष्मीपूरका तत्कालीन प्रधानपञ्च कृष्णबहादुर कटवालका छोरा निलडेभिड कटवालले राजनीतिमा कहिल्यै चासो दिएनन् ।
पुर्खाको भन्दा फरक पेशा अर्थात सलुन खोलेर कपाल काट्ने पेशा अंगाले । समाजको उनीप्रति हेर्ने नजर नकारात्मक भए पनि उनले आफ्नो गन्तव्यलाई कहिल्यै छोडेनन् ।
त्यही नछोडिएको गन्तव्यले अहिले उनलाई नेपालमा हेयर स्टाइलको एउटा ब्राण्ड नै बनाएको छ । अढाई दशक यतालाई हेर्ने हो भने निल नेपाली हेयरस्टाइलमा ‘सेलिब्रेटी अनुहार’ हुन् ।
बेलायत, भारतलगायतका विभिन्न देशबाट हेयर स्टाइलमा अध्ययन गरेर सन् २००६ देखि काठमाडौँको सुन्धारास्थित काठमाडौँ मलमा निलडेभिड सलुन खोलेका उनले नेपाल र भारतमा गरी ७० वटा स्थानमा आफ्नो ब्राण्डलाई स्थापित गराइसकेका छन् । सलुन खोलेको ६ महिनामै एकेडेमी पनि खोले । जहाँबाट हालसम्म करिब ८ हजार विद्यार्थी उत्पादन भइसकेका छन् ।
उनका १८ वर्षे छोरो डेनियलले गत माघ १ गतेबाट बाबुकै पदचाप पछ्याउदै भारतको पुणेबाट सलोन म्यानेजमेन्ट तथा फ्रेन्जाइज म्यानेजमेन्टमा उच्च शिक्षा अध्ययन गरी काठमाडौँ मलमा नयाँ व्यवस्थापनमा निलडेभिड सलुनलाई सञ्चालन गरिरहेका छन् ।
यिनै निलले खबरहबसँग आफ्ना करियरका रमाइला र नरमाइला कुरा सुनाइरहँदा घरि उत्साहित हुन्थे त घरि भावुक ।
पढौं, उनका कुरा–
राजुले भाषा नबुझ्दा…
काठमाडौँ मलको सलुनमा राजु भन्ने स्टाइलिष्ट थियो । म सलुनकै अर्को काममा व्यस्त थिएँ । एकजना जर्मन युवती कपाल रंग्याउनका लागि आएकी रहिछन् ।
युवतीले अंग्रेजी बोले पनि राजुले राम्ररी अंग्रेजी बुझ्दैन थियो । उसलाई नेचुरल कलर गर्नुछ भनिछन् । उसले ‘विदेशीलाई पुरै खैरो पार्छु’ भनेर सेतै(लाइट) पारिदिएछ । त्यसपछि के चाहियो र, ती युवतीले झगडा गर्न थालिन् । म त्यहाँ पुग्दा उनी ‘पुलिस बोलाउछु’ भनेर कराइरहेकी थिइन् । मैले उसलाई ‘म यहाँको बोस हो । म हेण्डल गर्छु । मलाई पाँच मिनेट समय दिनुहोस्’ भन्दा मसँग झन रिसाइन् ।
मैले उनको कलर पुनः रिपेयर गरें । अनि मात्र ऊ खुशी भएर गइन् । उनी नेपाल बसुन्जेल मेरै सलूनमा नियमित आउँथिन् ।
कपाल छोटो काटेपछिको रिस
एकजना लण्डनको नेपाली क्लाइन्ट थिइन् । उनी नेपालमा हुँदा सधैं मेरोमा आउँथिन् । एकदिन ‘मेरो लामो कपाल छ, त्यसलाई छोटो गर्नुछ’ भनेपछि मैले स्टाइलिष्ट बालिकालाई रेफर गरिदिएँ । त्यसपछि उनी घर गइछन् । पाँच दिनपछि आएर ‘मेरो कपाल किन छोटो पारिदिएको, मलाई सुहाएन’ भनेर गाली गर्दै थिइन् । अनि मैले ‘कसलाई मनपर्यो परेन भन्दा पनि तपाईंको इच्छा अनुसार गरेको’ भनेपछि उनी गइन् ।
आठ महिना पछि उनको श्रीमानले ‘मेरो बहिनीले कपाल काट्ने रे, टाइम लिइदिनु’ भनेका थिए । मैले ‘एउटा सम्झौता गरेर मात्र कपाल काट्छु’ भनिदिएँ ।
इखले दियो सफलता
मैले काठमाडौँमै सलुन थाल्दा कतिजनाले मलाई होच्याउँथे । मेरै गाउँ झापा लक्ष्मीपुरमा ‘प्रधानपञ्चको छोरो भएर कपाल काट्ने पढेछ । हजाम पो हुन आटेछ’ भन्थे । अहिले पनि नबुझेर भन्छन् । तर मैले यो ब्राण्डलाई कहाँ पुर्याए । कतिले रोजगार पाएका छन् । त्यो होच्याई मलाई हौसला भइदियो ।
त्यही हौसलाले गर्दा नेपाल र भारत गरी करिब ७० वटा सलुन खोलेर ब्राण्ड बेच्ने बनाएँ । मलाई कपाल काट्ने होइन, ब्राण्ड बेचेर नाम कमाउने इख थियो ।
डेनियलले दिएको खुशी
मेरो यसपटकको माघ १ गते जिन्दगीकै खुशीको दिन थियो । यो दिन छोरा डेनियलले मेरो कार्यको उत्तरदायित्व लियो । उसले निल डेभिड ब्राण्डलाई आफ्नै डिजाइन, आफ्नै कन्सेप्टमा अझै उच्च तहमा निकाल्यो । मेरा लागि यो दोहोरो खुशी थियो । पहिला मैले ब्राण्ड सलुन चलाएको थिएँ । मैले ठिकै गरेको थिएँ । तर अब आउने कन्सेप्ट डिजाइन, मेरो छोराले गर्दा खेरी मेरो ब्राण्ड सदा जीवित रहनेछ भन्ने अनुभव भयो ।
बुवाले फोन गर्दाको त्यो क्षण
झापा घरमा हुँदा मेरो बुवा (जो अहिले दिवंगत भइसक्नुभएको छ)को अन्तरवार्ता लिनका लागि टेलिभिजनहरु आउँथे । एकपटक बुवा बिर्तामोडको बैंकमा चेक साट्न जानुभएको रहेछ । बैंकको स्टाफले मेनेजरलाई ‘उहाँ निल डेभिडको बुवा हो’ भनेपछि मेनेजरले बुवालाई आफ्नो कोठामा लगेर कफी खुवाएर आफैँ चेक साटेर ल्याइदिएछन् । बुवाले मलाई बेलुका फोन गरेर ‘तैले मलाई एक करोड कमाएर हातमा दिएको भए पनि म यति खुशी हुन्न थिएँ होला । आज तैले गर्दा मेरो इज्जत अझै बढाइस्’ भन्दा थोरै भए पनि बुवालाई एउटा छोरा भएको दायित्व निभाउन पाएँ भनेर म त्यो दिन धेरै रोएँ ।
फाउण्डेसन सपना
मैले चाहेर पनि गर्न नसकेको काम निल डेभिड फाउण्डेसन हो । नेपालका एक सय निम्नस्तरका बालबालिकालाई मेरै पेसाको हेयर ब्यूटी ट्रेनिङ गराएर रोजगारी दिन्छु भनेर तीन वर्षदेखि नै योजना बनाएको छु । तर कार्यव्यस्तताले त्यो पुरा हुन सकेको छैन । आगामी वर्षको जेठ २६ गते त्यसको पहिलो अफिसियल लन्चिङ गर्दैछौं । अनि २०२२ देखि निल डेभिड फाउण्डेसनले एक्टिभ भएर काम गर्न थाल्छ ।
प्रतिक्रिया